पर्वत कुश्मा पहिरो अपडेटः ८ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

पर्वत, १ असार/ पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा शनिबार राति गएको पहिरोमा परि ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

मृत्यु हुनेमा ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक र ७ वर्षीया प्रमिशा विक रहेको प्रहरीले जानकारी दिएको छ ।

थप एक जनाको खोजी कार्य भइरहेको पर्वतका प्रहरीले जानकारी दिएको छ । १३ वर्षीय जेनिश विक बेपत्ता छन् । उनको खोजीमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी रहेको प्रहरीले बताएको छ ।

त्यसै गरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल वर्षासँगै शनिबार राती गएको पहिरोको स्थलगत अवलोकन गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले घटनास्थतलको अवलोकन गर्नुका साथै मृतक परिवार तथा प्रभावित स्थानीयलाई भेटेर सान्तवना दिएका थिए ।

सो क्रममा अध्यक्ष तिमिल्सिनाले बेपत्ताको शिघ्र उद्दार, पीडितलाई राहत, पुनर्स्थापन तथा पहिरोबाट जोखिममा परेको वरपरको बस्तीको स्थानान्तरणमा तथा संरक्षणमा तदारुकताका साथ काम गर्न तीन तहका सरकारलाई आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले पहिरोमा परि बेपत्ता भएकाको तुरुन्त उद्दारका लागि रातीदेखि खटिरहनुभएका पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासीप्रति धन्यवाद व्यक्त गरे ।

पर्वतका प्रतिनिधसभा सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग,पर्यटन, बन तथा वातावरणमन्त्री विकास लम्साल लगायतले घटनास्थलको अवलोकन गर्नुका साथै मृतकका परिवार र जोखिममा रहेका स्थानीयलाई आफूहरुको यस दुःखमा साथ रहने बताएका थिए ।

कमेन्टहरु
Loading...