एनआरएनले हेगमा बुद्ध मूर्ति स्थापना गर्ने

धर्मराज भुसाल/४ जेठ मनिला (फिलिपिन्स) । गैर आवासीय नेपाली संघ (एनआरएन)ले नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय युद्ध अपराधसम्बन्धी अदालत परिसरमा बुद्ध मूर्ति स्थापना गर्ने भएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयसँगको समन्वयमा एनआरएनले बुद्ध एक महिनाभित्रै हेगमा बुद्ध मूर्ति स्थापना गर्न लागेको एनआरएन अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो ।

‘डेढ बर्षदेखि त्यहाँ बुद्ध मूर्ति राख्न पहल गरिरहेका थियौं, फिलिपिन्सको मनिलामा एनआरएन एसिया प्रसान्त क्षेत्र स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले भन्नुभयो–’गत मार्चमा अदालतबाट मूर्ति राख्ने अनुमति पाएका छौं ।’ एक महिनापछि स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने एनआरएनको युरोप क्षेत्रस्तरीय सम्मेलनका अबसरमा मूर्ति स्थापना गर्ने तयारी भइरहेको लामिछानेले जानकारी दिनुभयो ।

nrn-1

बुद्धको जन्मभूमिका बिषयलाई लिएर अन्तराष्टिय क्षेत्रमै बिबाद भइरहेका बेला बुद्ध नेपालको लुम्बिनीमै जन्मिएका हुन भन्ने सन्देश दिन यस्तो अभियान थालिएको लामिछानेले जानकारी दिनुभयो । ‘ठूलो शक्ति राष्ट्रले बुद्ध हामीकहाँ जन्मिएका हुन् भनेर दावी गरिरहेको अबस्था छ, लामिछानेले भन्नुभयो–’त्यसलाई चिर्न पनि एनआरएनले संस्थागत रुपमै बुद्ध नेपालमा जन्मिएका हुन भने अभियान चलाउन जरुरी देखियो ।’

सुनको जलप लगाइएको दुई फिट अग्लो मूर्ति बनेपछि परराष्ट्र मन्त्रालयमार्फत् स्थापना गर्ने तयारी भइरहेको छ । यसमा लाग्ने खर्च र पहल सवै एनआरएनले नै गरेको हो, लामिछानेले भन्नुभयो–’संस्थाको पहललाई अदालतले नमान्ने भएपछि परराष्टमार्फत् गर्न लागिएको हो । मूर्तिमा Buddha was born in Lumbini Nepal भिन्ने लेखिने छ ।

गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय संयोजक कुमार पन्तले जुन २० तारिखमा मूर्ति स्थापनाका लागि तयारी भइरहेको जानकारी दिनुभयो । हेगस्थित अदालत परिसरमा बिश्वचर्चित ब्यक्तित्वहरुको मूर्ति स्थापना गरिएको छ ।

मनिलाका एजेण्डा

शनिवारबाट मनिलामा सुरु भएको तेस्रो एनआरएन एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा खासगरि बैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्ने बिषयमा छलफल भयो । बैदेशिक रोजगारीमा उदाहरणीय मुलुक मानिएको फिलिपिन्सका अनुभव सिक्न सहभागीहरुले जोड दिए । एसिया प्यासिफिकका १२ देशबाट एक सय भन्दा बढि सहभागी छन् ।

बैठकमा गैरआवासीय नेपाली संघको दर्ता, गैरआवासीय नेपालीलाई सरकारले दिएको परिचयपत्र, एनआरएको बिधान संसोधन, एसिया प्यासिफिक क्षेत्रमा एनआरएनले भोग्नुपरेका समस्या, एनआरएनको मताधिकार लगायतका बिषयमा सहभागीहरुले छलफल गरेका छन् । फिलिपिन्सका पूर्व श्रम मन्त्री मारियानितो रोसेले ७५ वटा देशमा कार्यरत एक करोड फिलिपिनोलाई यस्तै संस्था स्थापना गर्ने प्रेरणा मिलेको अनुभव सुनाउनु भयो । बिदेश बस्ने फिलिपिनोहरुको छाता संस्था नभएको उहाँले बताउनु भयो ।

एनआरएनको आडमा ब्यापार हुन्न्

सम्मेलनमा गैरआवासीय नेपाली संघका नेताहरुले एनआरएनलाई माध्यम बनाएर ब्यापार गरिरहेको भन्ने कुरा पनि उठे । एनआरएनका मुख्य संरक्षक एंव पूर्व अध्यक्ष देबमान हिराचनले एनआरएन इन्भेष्टमेन्ट कम्पनीहरुको हैसियतबारे प्रश्न उठाउँदै त्यसलाई एनआरएनको आधिकारिक कम्पनीजस्तो प्रचार गरिएकोप्रति गुनासो गर्नुभयो । ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट नामक भिन्नै कम्पनी खोलेर सामूहिक लगानीमा जुटेका हिराचनले एनआरएनका आडमा ब्यापार गर्न नहुने बताउनु भयो ।

त्यसको जवाफ दिँदै एनआरएन अध्यक्ष जीवा लामिछानेले एनआरएनको आडमा ब्यापार वा राजनीति गर्ने उदेश्य नभएको बताउनुभयो । भवनजीले एनआरएनको लोगो राखेर बीबी एयर चलाउँछु बरु रोयल्टी तिर्छु भन्नुभएको थियो, तर हामीले दिएनौं, एनआरएनका नाममा ब्यापार भयो भन्ने आरोप नलागोस भनेरै त्यसो गरेको हो । एनआरएन इन्भेष्टमेन्ट कम्पनी र एनआरएन एउटै नभएको उहाँले प्रष्ट पार्नुभयो ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्वृद्ध नेपालको अभियान पुरा नभएसम्म एनआरएन नथाक्ने उद्घोष गर्नुभयो । छैठौँ विश्व सम्मेलनलाई नेपालीको एउटा अन्तर्राष्ट्रिय पर्वका रुपमा चित्रण गर्दै महतोले समझदारमिा नयाँ नेतृत्व निर्माण गर्न आग्रह गर्नुभयो ।

फिलिपिनो र नेपाली राष्ट्रिय गीतबाट शुरु भएको कार्यक्रममा एनआरएनए फिलिपिन्समा आवद्ध नेपाली विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । सम्मेलन मनिला घोषणापत्र जारी गर्दै आइतवार सकिने छ ।

तस्वीरः सन्दिप ढुंगाना

– See more at: http://www.onlinekhabar.com/2013/05/72216/#sthash.0Jm6pUKu.dpuf

कमेन्टहरु
Loading...