कास्की उपनिर्वाचनका लागि धमाधम उमेद्वारी घोषणा

सागर राज तिमिल्सिना
पोखरा, १९ कात्तिक/ मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनलाई लक्षित गदै दलहरुले धमाधम उमेद्वारी घोषणा गर्न थालेका छन् । कास्कीमा मंगलबार दुई दलले उमेद्वारी घोषण गरेका छन् । समाजवादी पार्टी नेपालबाट धर्मराज गुरुङ र विवेकशील नेपाली दलबाट जमुना शर्मा रहेका छन् ।

उमेदवारी घोषणा गर्दै गुरुङले १६ वुँदे चुनावी घोषणा समेत गरे । सबैलाई समान र सम्मान हुने ऐनकानुन, नियम बनाउन पहल गर्ने, विभेद अन्त्यको प्रयास गर्ने, सुशासन कायम गर्न भ्रष्टचार, कमिशन, ढिलासुस्ती, कालोबजारीको अन्त्यका लागि पहल गर्ने, अवैध सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगाउने पहल गर्ने तथा जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसै गरि विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । विवेकशीलले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर शर्मालाई कास्की २ मा उम्मेदवार बनाउने घोषणा गरेको हो । पोखरा ६ लेकसाइड घर भएकी शर्मा अधिकार क्षेत्रमा क्रियाशील थिइन् । पार्टीको भूमिकालाई अझ नागरिक पक्षीय र प्रभावकारी बनाउने बताइन् ।

मंगलबार नै पत्रकार सम्मेलन गरेर नेकपाले कास्कीले विद्या भट्टराईका पक्षमा मतदान पार्टिको सम्पुर्ण शक्ति परिचालन गर्ने जनाएका छ । नेकपा जिल्ला अध्यक्ष कृष्ण थापाले पार्टीले राम्रो काम गरेको भन्दै उपनिर्वाचनमा विद्या भट्टराईले ठुलो अन्तरमा जित्ने दाबी गरे ।

कार्तिक २१ गते उपनिर्वाचन समिति कार्यालयको उद्घाटन गर्दै निर्वाचन आयोग उम्मेदवारी दर्ता गर्ने जाने, २३ गते जिल्ला स्तरिय बृहत कार्यकर्ता प्रशिक्षण, २४ गते ११ वटै निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्ने लगायतका प्रचार प्रसारका कार्यक्रमहरु तय गरेको जिल्ला अध्यक्ष थापाले जानकारी दिए । राजकाजी गुरुङ्को संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको उनले जानकारी दिए ।

नेपाली काग्रेसले अहिले सम्म उमेद्वारको टुङगो लगाउन सकेको छैन भने साझा पार्टीले रजनी केसी, राप्रपाले रोमबहादुर भण्डारीलाई उमेद्वार घोषणा गरी सकेको छ । उपनिर्वाचनलाई ‘मिनी जनमत संग्रह’को रुपमा दलहरुले लिएका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी ८ हजार ५ सय ४६ मतान्तरले विजयी भएका थिए ।

अघिल्लो चुनावमा सो क्षेत्रबाट कांग्रेस प्रत्यासी देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । त्यसपछि विवेकशील साझाले ८ सय ४३, संघीय समाजवादी फोरमले ३ सय ४१, नयाँ शक्तिले २ सय ४१ नेकपा मालेले ५ सय ४९, स्वतन्त्र निर्मल खत्रीले १ सय १९ र मंगोल नेसनल अर्गनाइजेसनले १ सय ३० मत प्राप्त गरेको थियो ।

उपनिर्वाचन हुन लागेको क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा रहेका छन् । तीमध्ये ४ वटा वडामा मात्र गएको स्थानीय चुनावमा कांग्रेसले जितेको थियो । बाँकी सबै वडाहरु एमालेको पोल्टामा गएका थिए ।

कमेन्टहरु
Loading...