ब्यवसायीहरु सरकारप्रति रुष्ट

पोखरा, ५ माघ/पोखरामा क्षेत्रीय अन्तर्राष्टिय विमानस्थल र पर्यटन बसपार्कको निर्माणमा सरकारले चासो नदिएको हुँदा ब्यवसायीहरु सरकारप्रति रुष्ट भएका छन् । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट्स् नाटा पोखराको १८ औ वार्षिक साधारणसभामा बोल्ने वक्ताले त्यस्तो बताएका हुन् ।  
साधारणसभाको उद्घाटन गर्दै नाटाका अध्यक्ष पवित्र कार्कीले सरकारी कर्मचारीहरु पर्यटकीय क्षेत्रको विकासको लागि चासो नदिएको आरोप लगाए । उनले अस्थिर सरकारका कारण पनि कर्मचारीहरुले काम नगरेको आरोप लगाए । पर्यटन बोर्डका केन्द्रीय सदस्य टीकाराम सापकोटाले पर्यटकको बसाइँ लम्बाउनका लागि ग्रामीण पर्यटनको विकासको आवश्यकता भएको हुदा सरकारले सोहीअनुसार कार्ययोजना ल्याउनुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्य भुजेलले पर्यटनको विकासको मुद्दाका लागि सबै एक भएर लड्नुपर्ने बताए । नाटाका पूर्वअध्यक्ष बासु त्रिपाठीले नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत अन्नपूर्ण पदयात्राका लागि आउने हुदा उनीहरुका लागि चाहिने वैकल्पिक पर्यटन मार्गको समेत विस्तार गर्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...