११ बुँदै सम्झौता तत्काल कार्यान्वयन नगरे सुदूरपश्चिम ठप्प पार्ने चेतावनी

काठमाडौं ३० मंसीर । मुक्त कमैयाहरुले नेपाल सरकारले आफूहरुसँग गरेको ११ बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कमैया मुक्तीको घोषणा र पुनःस्थापना सुरुको भएको १२ वर्ष वितिसक्दा पनि मुक्त कमैयाहरुको पुनःस्थापना हुन नसकेको, पूर्जा प्राप्त नभएको, जग्गा चिन्न परिचय पत्र, घर बनाउन अनुदान रकम र काठ पाउन नसकेको भन्दै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका मुक्त कमैयाहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कमासु दिगो विकास समाजका केन्द्रीय अध्यक्ष विन्तिराम थारुले चेतावनी दिदै भने– २०६३, २०६४ र २०६५ मा मुक्त कमैयाहरुसँग भएका ११ बुँदे सम्झौता तत्काल कार्यान्वयन नगरे हामी सुदूर पश्चिमाञ्चल ठप्प पार्छौ ।
उनले मुक्त कमैया पुनःस्र्थापना समस्या समाधान केन्द्रिय आयोगमा जिल्ला स्तरमा क्रियाशील मुक्त कमैयाहरुको संस्थाका कमैया प्रतिनिधिहरुको प्रतिनिधित्व गराईनुपर्ने माग गरे ।
कमासु दिगो विकास समितिका महासचिव जगतराम थारुले मुक्त कमैया रहित घोषणा गरिएको दाङ, बाँके र कन्चनपुर जिल्लामा मुक्त कमैया समस्या समाधान जिल्ला समिति पुनर्गठन गरी बाँकी कमैया पुनःस्थापना कार्य तत्काल थाल्न माग गरे ।
उनले भने– मुक्त कमैयाहरुको गाँस, वास र कपासको सुनिश्चित व्यवस्था नहुन्जेलसम्म हाम्रो आन्दोलन जारी रहन्छ , आन्दोलनबाटै हाम्रो अधिकार सुनिश्चित गर्छौं ।
मुक्त कमैयाहरुले मुक्त कमैया पुनःस्र्थापना समस्या समाधान जिल्ला समितिको म्याद थप गरिनुपर्ने, नेपाल सरकारबाट प्राप्त प्रति कमैया १ लाख ५० हजार अनुदा रकमलाई बृद्धि गरी ३ लाख रकम पुर्याउनु पर्ने, नेपाल सरकार र मुक्त कमैयाहरुबीच गरिएका सम्झौताहरु पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने जस्ता ११ बुँदे माग अघि सारेका छन् ।

कमेन्टहरु
Loading...