खानेपानी संस्थान कर्मचारी संघको नेतृत्व अधिकारीलाई

पोखरा, ७ असोज । नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिको असोज ६ र ७ गते पोखरामा सम्पन्न ५ औं केन्द्रीय अधिवेशनले उदयराज अधिकारी(पोखरा)को नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । सस्थानमा रहेको विभिन्न २२ शाखाका प्रतिनिधि र पर्यवेक्षक सहित केन्द्रीय समितिको आयोजनामा सम्पन्न केन्द्रीय अधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्ष्मीराज रेग्मी (विराटनगर), उपाध्यक्षमा संजय मिश्र(बिरगञ्ज), महिला उपाध्यक्षमा दिलकुमारी खापुङ(धरान), महासचिवमा मोहन भट्टराई( बुटवल), सचिवमा विष्णुप्रसाद रेग्मी(पोखरा), कोषाध्यक्षमा भरत अधिकारी(हेटौडा) र सदस्यहरुमा सरजन के.सी( नेपालगञ्ज), अमरेन्द्रकुमार सिंह(कृष्णनगर), राजु वस्नेत( भद्रपुर), गणेश शाह(मलंगवा), पुष्पराज जोशी(महेन्द्रनगर) सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक बुद्धरत्न महर्जनले जनाएका छन् ।

सस्थानमा संघले काठमाण्डौ उपत्यका लिमिटेड पश्चात पहिलो पटक पोखरामा अधिवेशन गराएको पोखरा शाखाका अध्यक्ष नरेन्द्रमान श्रेष्ठले जानकारी दिएका थिए । यस अघि कार्यक्रमको उद्घाटज गर्दै नेपाली काँग्रेसका पूर्व उपसभापति एवम् पूर्व मन्त्री गोपालमान श्रेष्ठले नेपाल खानेपानी संस्थानमा २२ वटा कार्यालयहरू मध्ये नाफामा चलेका भरतपुर कार्यालयलाई निजीकरण गरिएको, हेटौडालाई नीजिकरण गर्ने तयारी भईरहेको र पोखरालाई पनि नीजिकरणमा लगेर कमिशन लिने प्रयासमा एकीकृत नेकपा माओावादी नेतृत्वको सरकार लागेको आरोप लगाएका थिए । ‘माओवादीको हातमा मन्त्रालय गएपछि २० अरब रूपैयाँ खर्च बढेको, काममा ढिलाई भएको र काठमाडौंको खानेपानी व्यवस्था खत्तम भएको छ’ – नेता श्रेष्ठले दावी गरे ।

उनले आफै मन्त्री हुँदा काठमाडौंको खानेपानी व्यवस्थालाई प्रभावकारी बनाउन सुरू गरेको योजना माओवादीका कारण अलपत्र बनेको बताए । मेलम्चीबाट पानी ल्याएर वर्षभित्र काठमाडौंका हरेक घरमा दैनिक एक घण्टा पानी आपूर्ति गर्ने लक्ष्य अनुुरूप बेलायती संस्थासँग सम्झौता गर्ने बेलामा आफूले सम्हालेको मन्त्रालय माओवादीको हातमा गएको र सम्पूर्ण योजना भताभुंग बनेको काँग्रेस नेता श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...