मस्त जवानी देखाउँदै चोखो माया लाउँदै

पोखरा, ८ जेठ/आगामी जेठ २४ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म नेपथ्यको दुईवटा गीतको भिडियो सार्वजनिक भएको छ । ‘मस्त जवानी’ र ‘चोखो माया’ बोलको दुईवटा गीतलाई म्यूजिक नेपालले यूट्युबमार्फत सार्वजनिक गरेको हो । फिल्ममा समावेश दुवै गीतमा संगीत मानव सुवेदीले दिएका छन् ।

‘युट्युबमा सार्वजनिक दुवै गीतलाई धेरैले राम्रो बनेको प्रतिक्रिया दिईरहेका छन् ।’ नेपथ्यका निर्देशक रामराजा दाहालले भने–‘धेरैले फिल्म चाँडै हेर्न आतुर रहेको बताईरहेका छन् ।’ सपना देख्ने युवाहरुको कथा भनिएको यो फिल्मको प्रोमो समेत अहिले युट्युबमा खुब हिट भैरहेको उनले सुनाए । प्रोमोमा राखिएका डाईलग र विभिन्न क्रियाकलापहरुलाई दर्शकहरुले मन पराएको उनले जानकारी दिए ।

नेपथ्यमा कलाकार समेत रहेका संगीतकार मानव सुवेदीले आफुले चलिरहेको ट्रेन्डका गीतहरुभन्दा यी गीतहरुमा भिन्दै स्वाद दिन खोजेको बताए । ‘अहिलेको ट्रेन्डभन्दा केहि फरक स्वादका गीतहरु छन् ।’ उनले भने–‘भिडियोहरु पनि निकै राम्रा बनेका छन् ।’ संगीतकारको रुपमा सुवेदीले यहि फिल्मबाट डेब्यु गरेका हुन् ।

फिल्ममा दुईवटा मात्रै गीत समावेश गरिएको नेपथ्यको निर्माणपक्षले जानकारी दिएको छ । मस्त जवानी बोलको गीतलाई सुजता शाह ‘सुजु’ले गाएकी हुन् भने ‘चोखो माया’ बोलको गीतलाई संगीतकार सुवेदी आफैले गाएका हुन् । मस्त जवानी गीतमा शुष्मा कार्कीको जवानीलाई देखाईएको छ भने चोखो माया बोलको गीतमा आदित्य बुढाथोकी र सोना तिमिल्सिनाको प्रेमलापलाई फिचर गरिएको छ ।

नेपथ्यमा आदित्य बुढाथोकी, विल्शन विक्रम राई, रेम बिक, मानव सुवेदी, सोना तिमिल्सिना, रवी गिरी, रश्मी भट्ट, शिशिर खरेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा सुनील थापा, प्रियंका कार्की लगाएतको अतिथि भुमिका रहेको छ । ड्रिम वर्क फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म नेपथ्यलाई शुसन प्रजापतिले खिचेका हुन् । म्युजिक नेपालले सार्वजनिक गरेका दुई वटै गीतको भिडियोको लिंकहरु छन् । कृपया समावेश गरिदिनुहोला ।

कमेन्टहरु
Loading...