नेपलिज् एशोसिएसन युके सहयोगमा निमार्ण भएको विद्यालय हस्तान्तरण

पोखरा, ५ पुस /नेपलिज् एशोसिएसन युके हिमालयन यतिको आर्थिक सहयोग एवं लायन्स क्लब अफ पोखरा लेकसिटीको सहकार्य र स्थानीय सहभागितामा धादिङ्गको रामकोटमा निर्माण भएको मेलमिलाप कंकाली आधारभूत विद्यालय भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

निलकण्ठ नगरपालिका ८ स्थित विद्यालय परिसरमा मंगलबार आयोजित कार्यक्रममा हिमालयन यतिका अध्यक्ष पुष्प श्रेष्ठले विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश श्रेष्ठ र प्रधानाध्यापक गणेशकुमार श्रेष्ठलाई विद्यालयको साँचो हस्तान्तरण गर्नुभयो । भूकम्प प्रतिरोधी चारकोठे पक्की भवन निर्माणको कुल लागत ६२ लाख ९६ हजार ४ सय ५० रुपैंया रहेको छ ।

जसमध्ये २५ प्रतिशत लागत स्थानीयको छ भने बाँकी रकम हिमालयन यतिको संयोजनमा युकेमा बसोवास गर्ने नेपालीहरुबाट संकलन भएको हो । स्थानीय संघसंस्थाको सहयोग, जनश्रमदान र विद्यालयको आन्तारिक कोषबाट अन्य रकम जुटाईएको विद्यालयका प्रधानाध्यापक गणेशकुमार श्रेष्ठले बताउनुभयो ।

नवनिर्मित विद्यालय भवनको निलकण्ठ नगरपालिका मेयर भिमप्रसाद ढुंगानाले समुद्घाटन गर्नुभयो । उहाँले स्थानीयको एकताले काम समयमै सम्पन्न भएको भन्दै सदुपयोग गर्न स्थानीयलाई आग्रह गर्नुभयो । बिकास निर्माणका लागि व्यक्तिगत स्वार्थ त्यागेर लागिपर्ने र दाताबाट प्राप्त सहयोग कहीकतै दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभयो । नेपलिज् एशोसिएसन युके हिमालयन यतिका अध्यक्ष पुष्प श्रेष्ठले विद्यालय लक्ष्य अनुरुप संचालन भएमा छात्रबृत्ति र प्राविधिक सहयोगका लागि पहल गर्ने बताउनुभयो ।

एल.सी.आई.एफ चिफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीले सामाजिक सेवाको क्षेत्रमा लायन्सले उल्लेखनीय कार्य गरेको भन्दै नवनिर्मित भवनको सदुपयोग हुनुपर्ने बताउनुभयो । भुकम्पपिडित क्षेत्रमा पुगेर गरेको सहयोगको प्रशंसा गर्दै लायन्स क्लब अफ पोखरा लेकसिटीसँग आगामी दिनमा पनि निरन्तर सहकार्य गर्दै अघि बढ्न सुझाव दिनुभयो ।

लायन्स क्लब अफ धादिङ्ग निलकण्ठका पुर्व अध्यक्ष दिपक कोईरालाले नवनिर्मित भवनमा जिल्लाकै नमुना प्राविधिक शिक्षालय संचालनको योजना बनाएको जानकारी दिनुभयो । २०७२ सालको भूकम्पबाट बढी क्षतिग्रस्त विभिन्न १४ जिल्ला मध्ये धादिङ्ग चौथो स्थानमा रहेको भन्दै पुर्ननिर्माणका लागि सहयोग गर्ने दाताहरुप्रति आभार व्यक्त गर्नुभयो ।

लायन्स क्लब अफ पोखरा लेकसिटीका पूर्व अध्यक्ष एवं विद्यालय भवन निर्माण समितिका संयोजक उत्तममान बुद्धाचार्यले विभिन्न ठाउँबाट भवन निर्माणको माग भएपनि सोही स्थानमा विद्यालय भवन निर्माण गरिनुका कारणबारे जानकारी गराउनुभयो । साथै निर्माण कार्यमा सहयोग गर्ने व्यक्ति, संघसंस्था, लायन्स क्लव नीलकण्ठ धादिङ्ग, धादिङ्ग नगरपालिका एवं निर्माण समितिमा रही विशेष सहयोग गरेकोमा क्लब पूर्व अध्यक्ष राजेन्द्र बाटाजु, तीर्थ बस्नेत, जगदीश गौतमप्रति समितिको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

लायन्स क्लब अफ पोखरा लेकसिटीका अध्यक्ष मदन केसीको अध्यक्षतामा भएको कार्यक्रममा रामकोट ८ का वडाध्यक्ष गुणराज थपलिया, मल्टिपल डिस्ट्रिक काउन्सिल पूर्व अध्यक्ष दिपक श्रेष्ठ, जोन चियरपर्सन दिपक घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा लायन्स क्लब अफ पोखरा लेकसिटीले मुख्य दातृ संस्था नेपलिज् एशोसिएसन हिमालयन यति यु.के. र अध्यक्ष पुष्प श्रेष्ठलाई कदरपत्रले सम्मान गरेको थियो । क्लबले निलकण्ठ नगरपालिका मेयर भिमप्रसाद ढुंगाना, एल.सि.आई.एफ. एरिया लिडर बालकृष्ण बुर्लाकोटी, लायन्स क्लब अफ धादिङ्ग निलकण्ठका अध्यक्ष ईन्जिनियर कुमार ढकाल, पूर्व अध्यक्ष दिपक कोईराला, लायन राजकुमार श्रेष्ठ, रामचन्द्र गिरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश श्रेष्ठ, प्रधानाध्यापक गणेशकुमार श्रेष्ठलाई कदरपत्र प्रदान गरेको थियो ।

यसैगरि विद्यालय व्यवस्थापन समितिको तर्फबाट हिमालयन यतिका अध्यक्ष पुष्प श्रेष्ठ, निर्माण समितिका संयोजक र सदस्य, क्लबका भूपू अध्यक्ष र भवन निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम लायन नारायण शर्माले संचालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...