जलस्रोत कब्जाको रणनीतिमा भारतीय, सरकारको आपत्ति

काठमाडौं, ९ चैत /नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६ प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ। सन् २०१४ मा भएको नेपाल-भारत विद्युत् व्यापार सम्झौताको मर्मअनुसार हुनुपर्ने उल्लेख गर्दै निर्देशिकाप्रति सरकारले औपचारिक रूपमा पहिलोपटक आपत्ति जनाएको हो। आजको अन्नपूर्णमा खबर छ ।

भारतको विद्युत् मन्त्रालयले गत डिसेम्बर ५ मा उक्त निर्देशिका जारी गरेर विद्युत् उत्पादन, प्रसारण, वितरणलगायत उसका सम्बद्ध सबै मन्त्रालय र निकायलाई परिपत्र गर्दै त्यसप्रति नेपाल सरकारको औपचारिक धारणा दुई महिनाअघि माग गरेको थियो। ऊर्जा मन्त्रालयले परराष्ट्रमार्फत भारतीय दूतावासलाई गत शुक्रबार पत्राचार गरेको छ।

ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार नेपालमा भारतलगायत जुनसुकै देशका कम्पनीले पनि उत्पादन गरेको बिजुली भारतीय बजारमा निर्यात गर्न पाउने गरी भारतसित विद्युत् व्यापार सम्झौता भएको पत्रमा स्मरण गराएको छ। भारतको निर्देशिकामा शतप्रतिशत भारतीय सरकार, उसको संगठित संस्था र निजी क्षेत्रले लगानी गरेका आयोजनाबाट मात्र उत्पादन भएको बिजुली आफ्नो मुलुकमा आयात गर्न सक्ने प्रावधान राखेको छ। नेपालमा बिजुली उत्पादन गर्न स्थापना हुने ती भारतीय कम्पनीका सेयर न्यूनतम ५१ प्रतिशत हुनुपर्ने र यसो नभएमा उसको बजारमा नेपाली बिजुली अयोग्य हुने प्रावधान छ।

ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले भारतीय निर्देशिकाप्रति नेपाल सरकारको आधिकारिक धारणा तयार गरी परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासमा पठाइएको पुष्टि गरे। मन्त्रालयले सरकारी धारणा तय गर्न आफ्नै संयोजकत्वमा विद्युत् विकास विभागका उपमहानिर्देशक सन्दीपकुमार देव, विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्य, प्राधिकरणकै विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारी र मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतम रहेको कार्यदल गठन गरेको जानकारी सहसचिव घिमिरेले दिए।

 

कमेन्टहरु
Loading...