राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावसम्बन्धी विधेयक पारित

काठमाडौं,  २२ असोज / व्यवस्थापिका–संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको उक्त विधेयक आइतबार​ पारित भएको हो । आइतबार​​को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४ प्रस्तुत गरेका थिए ।

त्यस्तै, बैठकले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७४’ पनि सर्वसम्मतिले पारित गरेको छ । बैठकले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ लाई पनि सर्वसम्मतिले पारित गरेको छ ।

व्यवस्थापिका–संसद्को आइतबार​को बैठकले महिला आयोग विधेयक, २०७४  लाई सर्वसम्मतिले पारित गरेको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको प्रतिवेदनसहित उक्त विधेयक सदनमा प्रस्तुत गरेकी थिईन् । आजको बैठकमा दुई फरक समितिका वार्षिक प्रतिवेदन पेस भएका छन् ।

विधायन समितिका सभापति गंगा चौधरी सत्गौवाले ‘विधायन समितिको वार्षिक प्रतिवेदन, २०७४’ र सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले ‘सामाजिक न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन, २०७४’ बैठकमा पेस गरेका छन् । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज २४ गते दिउँसो १ बजे बस्ने बताईएको छ ।

कमेन्टहरु
Loading...