दोस्रो चरणको निर्वाचन ९८ वर्षसम्मका उम्मेदवार

काठमाडौ, ११ असार/स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेका वृद्धसमेत उम्मेदवारी दिएर चुनावी मैदान छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । १७ जेठ १९७६ मा जन्मिएका रावल कांग्रेसबाट उम्मेदवार बनेका हुन् । रावलको मतदाता नम्बर ०९९४२१७६ हो । आजको नयाँ पत्रिकामा खबर छ ।

त्यसै गरि बझाङको दुर्गाथलीका रावलजस्तै अन्य दुई उम्मेदवार पनि ९० काटेका छन् । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ मा सदस्यका उम्मेदवार टेकबहादुर तामाङ ९५ वर्षका छन् । उनी एमालेबाट उम्मेदवार भएका हुन् । त्यसैगरी, सुनसरीको कोसी गाउँपालिकाको वडा नम्बर ७ मा सदस्यका लागि एमालेबाट उम्मेदवार बनेका सफिद मियाँ ९३ वर्षका छन् ।

८० कटेका ५१ जना ज्येष्ठ नागरिकमध्ये ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसमा पनि कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा उम्मेदवारी दिने देवकुमार भारती र रुपन्देहीको लुम्बिनी नगरपालिकामा वडाअध्यक्षमा उम्मेदवारी दिने कोदई यादव ८९ वर्षका छन् । ४५ जनाले कांग्रेस, एमाले, माओवादी, राप्रपा, समाजवादी फोरम र नयाँ शक्तिलगायत दलबाट उम्मेदवारी दिएका छन् ।

८० काटेका ५१ जना उम्मेदवारमध्ये सबैभन्दा बढी राप्रपाका छन् । राप्रपाबाट उम्मेदवारी दिनेमा २० जना छन् ।

 

कमेन्टहरु
Loading...