म्याग्दीमा स्थानीय तहको पुनर्संरचना यसरी हुदैछ (कुन कुन कता सहित)

प्रकाश ढकाल
पोखरा, ७ भदौ /संविधानमै नेपाललाई संघीयता सहितको राष्ट्र बनाउने ब्यवस्था भएपछि म्याग्दीमा स्थानीय तह पुनर्संरचनाका बिषयमा बहस चलेको छ । स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिले जिल्लामा रहन सक्ने सम्भावित स्थानीय तहको सीमामंकन र नामाकरण गरेपछि अहिले सरोकारवालाहरुले सुझाव दिएका छन् ।

म्याग्दीमा स्थानीय तहको पुनर्संरचना यसरी हुदैछ
म्याग्दीमा स्थानीय तहको पुनर्संरचना यसरी हुदैछ

१ नगरपालिका र ३५ गाविस रहेको म्याग्दीमा ५ वटा स्थानीय निकाय नयाँ संरचना अनुसार हुनेछ । नयाँ संरचना अनुसार एउटा नगरपालिका र बाँकी ४ वटा गाउँपालिका बनाउन प्रश्ताव गरिएको छ । प्रश्तावमा हालको बेनी नगरपालिकामा पात्लेखेत, भकिम्ली, कुहुँ, बरंजा र बाबियाचौर समायोजना गरिने छ भने बाँकी रहेका ३० वटा गाविसलाई चार गाउँपालिका बनाईने छ ।

नयाँ संरचना अनुसार एउटा नगरपालिकाका लागि पहाडी जिल्लामा ३५ हजार र गाउँपालिकाका लागि कम्तिमा २५ हजार जनसंख्या हुनु पर्ने प्रावधान छ । बेनीनगरपालिकामा हाल २८ हजार ७ सय जनसँख्या रहेकोले केहि गाविसलाई समेत नगरपालिका भित्र गाभ्नुपर्ने भएको छ । अर्मन, निस्कोट, ओखरबोट, रुम, देविस्थान, दरबाङ र बिम गाविसलाई समेटेर दरबाङ केन्द्र रहनेगरी मालिका गाउँपालिका प्रश्ताव गरिएको छ ।

यसका लागि बैकल्पिक नाम मंगला प्रश्ताव छ । ताकम, मुना, लुलाङ, गुर्जा, मुदी, मराङ र मल्कवाङ गाविस मिलाएर ताकममा केन्द्र रहनेगरी धवलागिरी गाउँपालिकाको परिकल्पना गरिएको छ । पाखापानी, झीँ, मंगले, दग्नामको ४ देखि ९ नम्बरसम्मको वडा, भगवति, पिप्ले, वेगखोला र चिमखोला गाविस समेटेर पिप्ले वा मौवाफाँट केन्द्र हुनेगरी रघुगंगा गाउँपालिका हुनेछ । यस्तै, राम्चे, हिस्तान, शिख, घार, नारच्याङ, दाना, दोवा र भुरुङ तातोपानी गाविस मिलाएर पोखरेवगरमा केन्द्र राख्नेगरी अर्को गाउँपालिका बनाईने छ । यसको नाम भने कालिगण्डकी, अन्नपूर्ण वा निलगिरी मध्ये जुनकुनै पनि राख्न सकिने समितिले जनाएको छ ।

नयाँ संरचना आएपछि जिल्ला स्तरमा हुने काम स्थानीय तह र गाविसमा हुने काम वडा कार्यालयमा स्थानान्तरण हुनेछन् । जिल्लास्तरीय परामर्श तथा प्राविधिक सहयोग समितिले राजनीतिक दल, सरकारी निकाय, महिला तथा विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधी सम्मिलित छुट्टाछुट्टै सुझाब लिएको छ ।

यो नै अन्तिम निर्णय होईन, समितिका संयोजक तथा स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेलले भने–तल्ला तहको स्थानीय जनताबाट सुझाव लिएर उनीहरुको माग र अपेक्षा अनुसार गाउँपालिका वा नगरपालिका बनाउन प्रश्ताव गरिने छ । छलफलका लागि सहज बनाउन प्रश्तावित खाका तयार गरिएको उनले बताए । गाउँपालिकाको नाम, केन्द्र टुङ्गो लगाएर केन्द्र पठाउने जिम्मा सहयोग समितिको हुनेछ । गाउँ तथा नगरपालिकाको संरचना प्रस्ताब गर्दा कुनैपनि गाविस र वडा टुक्राउन नपाईने प्रावधान छ ।

कमेन्टहरु
Loading...