देश चुनावमय भएको छनक, मजदुर दिवसमा चुनावी कुरा बढि

पोखरा, १८ बैशाख/यतिबेला देश निर्वाचनमय हुँदै गएको छ । निर्वाचन आयोगले दल दर्ता कार्य शुरु गरिसकेको छ भने आयोगको टोलीले देशभरका गाउँहरुमा पुगेर मतदाता नामावली संकलनलाई तीव्रता दिईरहेको छ । यहि मेसोमा परेको अन्तराष्ट्रिय श्रमिक दिवस पनि चुनावी माहौलबाट अछुतो रहन सकेन । बुधबार परेको १ सय २४ औँ अन्तराष्ट्रिय मजदुर दिवसलाई राजनीतिक दलहरुले चुनावी प्रर्दशनको रुपमा मनाए ।

नारामा ‘संसारका मजदुर एक हौँ’ भनेपनि पोखरामा छुट्टाछुट्टै सभा गरि यो दिनमा पनि राजनीतिक दलहरुले चुनावी प्रसार गर्नमै बढि समय खर्चिए । चुनावी शक्ति प्रदर्शन गरेजस्तै पोखरामा एमाओबादी, काँग्रेस, एमाले, नेकपा–माओबादी लगाएतका दलहरुले आ–आफ्नो पक्षका मजदुरहरुलाई सडकमा उतारेका थिए । श्रमिक दिवसको कार्यक्रमलाई सम्बोधन गर्नका लागी पनि सबै दलको तर्फबाट केन्द्रियस्तरका नेताहरु पोखरा आएका थिए ।

मंगलबारमात्रै निर्वाचन आयोगमा को पहिला दर्ता गर्ने ? भन्ने विषयमा विवादमा उत्रिएका दलहरु मजदुरहरुलाई पनि सडकमा कसले बढि उतार्ने ? भन्ने विषयमा प्रतिस्पर्धी देखिए । मजदुर दिवसमा सडकमा ओईरिनेमा मजदुरहरु मात्रै थिएनन् दलका नेता र कार्यकर्ताहरुको पनि उल्लेख्य मात्रामा सहभागिता सडकमा देखिन्थ्यो । श्रमिक दिवसको अवसर पारेर नेपाली काँग्रेसले पोखरामा सबैभन्दा पहिले आफ्ना मजदुरहरुलाई उता¥यो ।

नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्र कास्कीले पोखराको बसपार्कबाट शुरु गरेको ¥याली पृथ्वीचोक, सभागृहचोक, न्यूरोडहुदै चिप्लेढुगा वी.पी चोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले सम्बोधन गरे । नेता निधिले मजदुरहरुले अधिकार प्राप्त गराउनका लागि नेपाली काँग्रेस मजदुरका पक्षमा लडिरहेको बताए । लोकतान्त्रिक संविधान नबनेसम्म मजदुरका हक अधिकारहरु सुनिश्चित नहुने हुदाँ सबैलाई निर्वाचन तर्फ केन्द्रित हुन आग्रह गरे ।

एमाओबादीले पनि ठुलै तामझाम सहित मजदुर दिवसलाई मनाएको थियो । एमाओवादी निकट मजदुर संगठनले पोखराको पृथ्वीचोकबाट ¥याली निकालेर चिप्लेढुङ्गामा पुगेर सभा गरेका थिए । कार्यक्रमलाई एमाओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महराले सम्बोधन गर्दै मजदुरहरुको हक अधिकारका लागी सबैजनालाई चुनावको तयारीमा जुट्न आग्रह गरे । ‘मजदुर हकहितका लागी चुनाव आवश्यक छ ।’ उनले भने–‘मंसिरभित्रै चुनाव हुन्छ र त्यसका लागी सबै मजदुरहरु तयार हुनुपर्छ ।’ नेता महराले मंसिरमा चुनाव नभएको खण्डमा पार्टी आन्दोलनमा जाने र त्यसो भएको खण्डमा मजदुरहरु पनि आन्दोलनका लागी तयारी अवस्थामा रहनुपर्ने बताए ।

नेकपा एमालेको भातृ संगठन जिफण्ड र पेशागत महासंघले संयुक्त रुपमा ¥याली सहित सभा गरेको थियो । सभालाई नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सम्बोधन गरेका थिए । सम्बोधन गर्दै उपाध्यक्ष गौतमले चुनावका लागी तयार रहन एमाले सम्बद्ध मजदुर संगठनहरुलाई निर्देशन दिए । देशलाई निकाश दिनका लागी मजदुरहरुको योगदान ठुलो रहने भन्दै उनले एमालेबाट मात्रै देशको निकास हुन सक्ने दावी गरे ।

त्यस्तै गरि अन्य राजनीतिक दल र गैरराजनीतिक संघसंस्थाहरुले पनि श्रमिक दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरु गरेका थिए । उनीहरुले मजदुरहरु राजनीतिक कारणले समस्यामा रहेको उल्लेख गर्दै देशलाई चाँडो भन्दा चाँडो निकास दिनुपर्ने माग समेत अगाडी सारेका थिए । मजदुरहरुले हालको महंगीको मारमा सबैभन्दा बढि चपेटामा पारेको भन्दै महँगी घटाउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै उनीहरुले श्रमजीवि मजदुरहरुको न्युनतम पारिश्रमिक १२ हजार ४ सय कायम गर्न सरकारसंग माग राखेका थिए ।

कमेन्टहरु
Loading...