मिस नेवाः पोखरा’को प्रारम्भिक चरण शूरु

पोखरा, २९ माघ/नेवाः खल कास्कीको आयोजनामा आगामी चैतको ३ गते आयोजना हुने ‘मिस नेवाः पोखरा ११३३’ को तेस्रो संस्करण सोमबारदेखि पोखरामा शुरु भएको छ । नेवाः खलः कास्कीका अध्यक्ष प्रकाशमान पालिखेले नेवा छें पोखरामा प्रतियोगिताको उद्घाटन गर्दै संस्थाले नेवारी संस्कृतिसंग सम्बन्धित विभिन्न कार्य गर्दै आएको जानकारी दिए ।

नेवाः खलःले मिस नेवाः पोखराको आयोजना गर्नुका साथै बेल विवाह, तायामचाः, भिन्तुनाजस्ता कार्यक्रमको आयोजना गर्नुका साथै नेवा छेंको निर्माणमा जुटेको उनले बताए । उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै कार्यक्रमका मूल आयोजक समिति सदस्य एवं संस्कृतिकर्मी तिर्थ श्रेष्ठले नेवारहरु जातिमात्रै नभएर आफैमा सभ्यता भएको बताए । नेवार समुदायभित्र सामान्य काम गर्नेदेखि दरबारमा राजपुरोहित पेशा गर्नेसम्मका व्यक्ति रहेको बताउँदै श्रेष्ठले नेवार जाति विश्वका धेरै सभ्यतामध्येको एक भएको दाबी गरे ।

कार्यक्रमका मूल संयोजक इश्वरप्रसाद कर्माचार्यले नेवारी संस्कृति सम्वद्र्धन र संरक्षण गर्न प्रतिायोगिताको आयोजना गरेको जानकारी दिँदै संस्कृति, भाषा र पहिचानको माध्यम मिस नेवाः भएको बताए । भाषा, संस्कृति लोप भए जाति र समुदाय नै लोप हुनसक्नेतर्फ औंल्याउँदै संयोजक कर्माचार्यले सहभागीलाई धन्यवाद दिँदै सफलताको शुभकामनासमेत दिएका छन् । त्यस्तै, मिस नेवाः पोखरा ११३२ का संयोजक रहिसकेका निरञ्जन श्रेष्ठले सहभागीबीच आफ्ना अनुभव सुनाउँदै अन्य सुन्दरी प्रतियोगिताभन्दा मिस नेवाः अलग रहेको उल्लेख गरे ।

मिस नेवाःको औचित्यमाथि प्रकाश पार्दै उनले यो प्रतियोगिता सौन्दर्यसंगै साँस्कृतिक प्रतियोगिता भएको बताए । नेवार समुदायका युवतिहरुलाई नेवारी पहिचान र संस्कृतिकाबारेमा परिचित गराउने मूख्य उद्देश्य रहेको प्रतियोगिताको तेस्रो संस्करणमा १५ जना सहभागी रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न इश्वरप्रसाद कर्माचार्यको मूल संयोजकत्वमा २० समिति गठन गरिएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैयाँसहित मिस नेवाःको ताज प्राप्त गर्नेछन् भने फस्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः २५ र १५ हजार रुपैयाँको साथै अन्य उपहार प्राप्त गर्ने मूल आयोजक समितिका सहसंयोजक विमल श्रेष्ठले जानकारी दिए । सहभागीलाई विभिन्न विधामा तालिम दिई चैत ३ गते पोखरा सभागृहमा उपाधिका लागि प्रतिष्पर्धा गराइने नेवाः खलः कास्कीका उपाध्यक्ष अशोक पालिखेले बताए ।

उद्घाटन कार्यक्रममा आयोजककातर्फबाट सहसंयोजक प्रदिपकुमार रंजितले सहभागीलाई स्वागत गरेका थिए भने बिक्रम श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए । त्यस्तै, मिस नेवाः पोखरा ११३२ रश्मी नकर्मीले सहभागीलाई आफ्नो अनुभव सुनाउँदै सफलताको शुभकामना दिएकी छिन् ।

 

कमेन्टहरु
Loading...