मिस नेवाःका सहभागी पर्यटन बोर्डमा

मिस नेवाः पोखरा ११३३ का सहभागीलाई सोमबार नेपाल पर्यटन बोर्ड पोखरामा नेपालको पर्यटन क्षेत्रबारे अन्तरक्रिया गराइएको छ । सहभागीलाई नेपाल पर्यटन बोर्ड पोखराकी अधिकृत श्रद्धा श्रेष्ठले पर्यटन र यससंग सम्बन्धित विभिन्न पक्षबारे जानकारी दिँदै पर्यटन उद्योगको महत्वबारे प्रकाश पारेकी थिइन् । अन्तरक्रियामा नेपालमा आउने पर्यटकहरु मुख्यगरी प्राकृतिक सौन्दर्यको अवलोकन, साहसिक पर्यटनको अनुभव र धार्मिक क्षेत्रको अवलोकन गर्नेजस्ता उद्देश्य रहेको श्रेष्ठले जानकारी दिइन् ।

हालसम्म विश्वका विभिन्न मुलुकमा नेपाल पर्यटन बोर्डले यसक्षेत्रमा आयोजना गरेको प्रवद्र्धनात्मक कार्यक्रकोबारेमा जानकारी दिँदै अधिकृत श्रेष्ठले पर्यटन उद्योग नेपालको प्रमुख आर्थिक उपार्जनको क्षेत्र रहेको उल्लेख गरिन् । कार्यक्रममा नेपालमा रहेको विश्व सम्पदा सूचि, पर्यटनका प्रकार, विदेशमा नेपाल पर्यटन बोर्डद्वारा गरिएका प्रचारप्रसारकाबारेमा जानकारी गराइएको थियो । अन्तरक्रियामा आफ्ना भनाई राख्दै कुनैपनि नेपाली नागरिकले सर्वप्रथम देशमा रहेका प्राकृतिक, पर्यटन, साँस्कृतिक धरोहरलाई चिन्न आवश्यक रहेको उल्लेख गर्दै श्रेष्ठले प्रतियोगीलाई शुभकामना दिएकी थिइन् ।

कार्यक्रममा आयोजक मिस नेवाः पोखराका मूल संयोजक इश्वरप्रसाद कर्माचार्यले सहभागीलाई सौन्दर्यतामात्र नभएर शिक्षामूलक अन्तरक्रियामा सहभागी गराई उनीहरुको ज्ञानको क्षेत्रलाई फराकिलो बनाउने उद्देश्य रहेको बताए । त्यस्तै, कार्यक्रमका सह संयोजक बिमल श्रेष्ठले मिस नेवाः प्रतियोगिताको उद्देश्य सहभागीलाई जातीय र राष्ट्रिय संस्कृतिकाबारेमासमेत जानकारी दिई अघि बढाउने लक्ष्य रहेको जनाए । मिस नेवाः पोखराको हाल तेस्रो संस्करण जारी रहेको छ । अन्तरक्रियापछि आफ्नो प्रतिक्रिया दिँदै सहभागी संजिता श्रेष्ठले नेपालमा पर्यटकलाई आकर्षण गर्ने सगरमाथा र गौतम बुद्धबाहेक धेरै धरोहर र सम्पदा रहेको जानकारी भएकाले अन्तरक्रिया फलदायी भएको बताइन् ।

प्रतियोगिताको सहभागीमा संजिता श्रेष्ठ, शोभा श्रेष्ठ, सरिता श्रेष्ठ, रचियता माकाजु, प्रजु प्रधान, नान्सी साई, दुर्गा श्रेष्ठ, आरती जोशी, सुस्मिता श्रेष्ठ, सुमाना बज्राचार्य, तारा श्रेष्ठ, एलिशा प्रधान, सुजा न्हुच्छे प्रधान, विनिशा कायस्थ र निस्माः श्रेष्ठ गरी १५ जना रहेका छन् । हाल प्रतियोगीहरु क्याटवाक, महिला सशक्तिकरण, साँस्कृतिक अन्तरक्रियालगायतका कार्यक्रममा व्यस्त रहेको तालिम व्यवस्थापन संयोजक विक्रम उदासले जानकारी दिए । नेवाः खलः कास्कीको आयोजनामा भइरहेको तेस्रो मिस नेवाः पोखराको फाइनल आगामी चैत ३ गते पोखरा सभागृहमा हुनेछ ।

कमेन्टहरु
Loading...