दुर्गा गुरुङ द्धारा पाल्पाको मिलन पुस्तकालयलाई ३ सय बढी पुस्तक हस्तान्तरण

रम्भा (पाल्पा), १० असार/मिलन फाउण्डेशन नेपालका संरक्षक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले आफूले स्थापना गरेको पुस्तकालयलाई ३ सय भन्दा बढी पुस्तक हस्तान्तरण गर्नुभएको छ । समाजसेवी गुरुङले पाल्पाको रम्भा गाउँपालिका वडा नं. २, फोक्सिङकोट, सुरुमडाँडास्थित महेन्द्र आधारभूत विद्यालयमा स्थापित मिलन पुस्तकालयलाई शनिबार करिब २५ हजार रुपैयाँ बराबरको ३ सय २२ पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष समेत रहेका समाजसेवी गुरुङ संस्थापक रहेको सो पुस्तकालयमा थपिएका नयाँ पुस्तकसहित झण्डै ९ सय पुस्तकहरू रहेको विद्यालयका सहायक प्रधानाध्यापक रनबहादुर कामुले जानकारी दिनुभयो । शनिबार समाजसेवी गुरुङले हस्तान्तरण गरेका पुस्तकहरू बालसाहित्य, स्वास्थ्य, विज्ञान, वातावरण तथा कृषिसँग सम्बन्धित रहेका छन् ।

पुस्तक हस्तान्तरणपछि बोल्दै समाजसेवी गुरुङले ज्ञानविज्ञानका लागि पुस्तक महत्वपूर्ण हुने बताउनुभयो । ‘ज्ञानविज्ञानका लागि पुस्तक अध्ययन गर्नु अनिवार्य छ’, गुरुङले भन्नुभयो, ‘गाउँलेहरूका निम्ति अध्ययन संस्कृतिको विकासका लागि पुस्तकालय सहयोगी हुने मेरो अपेक्षा छ ।’ पुस्तकालयका लागि आवश्यक सामग्री केही आफूले पहिल्यै सहयोग गरेको र अझै पनि आवश्यक सामग्री सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

पत्रकार रूद्रबहादुर श्रीसले समाजसेवी गुरुङ सबैका लागि उदाहरणीय व्यक्तित्व भएको उल्लेख गर्नुभयो । ‘दुर्गा गुरुङ ‘मिलन’, सबैका लागि प्रेरक व्यक्तित्व हुनुहुन्छ’, पत्रकार श्रीसले भन्नुभयो, ‘परदेशमा गएर पैसा त सबैले कमाएका छन्, तर, समाजसेवामा थोरै मात्र क्रियाशील छन् ।’

मिलन फाउण्डेशन नेपालकी कोषाध्यक्ष देउकी (दिपिका) सिंजाली ‘मिलन’ले भौतिक विकासका दृष्टिले पछि परेको गाउँको शिक्षाको विकासका लागि पुस्तकालय सहयोगी साबित हुने उल्लेख गर्नुभयो ।

कमेन्टहरु
Loading...