मेरो नेपाल कप सुरु, उद्घाटन खेलमा साधना मार्ग र मनोहर युवा क्लव विजयी

बैशाख, ५ पोखरा/ साधना मार्ग वडा नं १४ र मनोहर युवा क्लव पोखरा–१८ मेरो नेपाल युवा क्लवले आयोजना गरेको तेस्रो सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएका छन् । पोखराको मझेरीपाटन स्थित रामेश्वरी उच्च माविको प्राङगणमा भएको उद्घाटन खेलमा साधना मार्गले नव गगन युवा क्लव, पावर हाउसलाई ट्राइबेकरमा ३–२ ले पराजित गरेको हो । त्यस्तै दोस्रो खेलमा मनोहर युवा क्लवले भवानी युवा क्लव चाउथेलाई २–१ ले हराएको हो ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले खेलको माध्यमबाट समाजको विकास, सकरात्मक सोच र अनुशासन सिकाउने भएकाले क्लवले आयोजना गरेको प्रतियोगिताको प्रशंशा गर्नुभयो । साथै उहाँले दक्षिणी भेगका वडाहरुको विकासका लागि आफूले विशेष जोड दिने बताउनुभयो । कार्यक्रममा पूर्व मेयर भिमसेन थापाले पोखरालाई खेलकुद तथा पर्यटन शहरको रुपमा चिनाउनुपर्ने बताउनुभयो । क्लवका अध्यक्ष हरि जिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार राजुकुमार थापा, सचिव दिवस कुँवर, सह–सचिव कमलराज ढुङगाना लगायतले खेलको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएको थिए ।

प्रतियोगितामा ३७ समूहको सभागिता रहेको कार्यक्रम संयोजक दिवस कुँवरले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समूहले ७५ हजार ५ सय ५५, उपविजेताले ४० हजार ४ सय ४४ रुपैयाँ साथमा ट्रफि, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी अनुशासित टिम, उत्कृष्ट पोशाक, हाइस्कोरर, वेष्ट फेयर प्लेयर र उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्थासमेत गरिएको अध्यक्ष हरि जि.सी.ले बताउनुभयो । प्रतियोगिता अन्तर्गत विहिवार पहिलो खेल सात बजे विहान शशश्त्र महाविद्यालय, लामपाटन विरुद्ध पोखरा विश्व विद्यालय भिड्ने प्रचार प्रसार संयोजक पृथ्वी कुँवरले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...