पार्टीको निर्देशन प्रचण्ड पक्षले नै मानेन, पोखरामा होटल तथा रेष्टुरा मजदुर संघको राष्ट्रिय अधिवेशन हुँदै

पोखरा, ३० भदौ/ एकिकृत नेकपा माओवादीले दिएको निर्देशन पार्टी अध्यक्ष प्रचण्ड पक्षधर मजदुरहरुले अस्विकार गरेका छन् । पार्टी प्रवक्ता अग्नि सापकोटाले हिजो विज्ञप्ति जारी गर्दै सबै जन वर्गीय संगठनका राािष्ट्रय सम्मेलन स्थगित गरेको बताए पनि प्रचण्ड पक्षधर मजदुरहरुले पोखरामा अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघको चौथो राष्ट्रिय सम्मेलन गर्दैछन् ।

प्रधानमन्त्री डा.बाबुराम भट्टराई पक्षधर मजदुरले सम्मेलन बहिस्कार गर्ने घोषणा गरेपछि पार्टीले सबै जन वर्गीय संगठनका सम्मेलन स्थगित गर्न निर्देशन दिएको हो । प्रचण्ड निकटस्थ मजदुर नेता शालिकराम जम्मरकट्टेलको निर्देशनमा राष्ट्रिय सम्मेलन उद्घाटन गर्न थालिएको हो । एमाओवादी कास्कीका नेता तथा पूर्व सभासद राजकाजि गुरुङ्गले सम्पूर्ण तयारी पुरा भैसकेर उद्घाटन गर्न मात्र बाँकी रहेकाले सम्मेलन स्थगित नहुने बताए ।

सम्मेलनमा देशभरका करिब एक हजार मजदुरहरुले सहभागी हुँदैछन् । अधिकांश प्रतिनिधि पोखरा आइसकेकाले स्थगित गर्ने सम्भावना नै नरहेको स्थानीय आयोजक समितिका संयोजक राजेन्द्र न्यौपानले बताए । न्यौपानले भट्टराई पक्षधर मजदुर प्रतिनिधि पनि सम्मेलनमा सहभागी हुन आएको बताए पनि भट्टराई निकटस्थ पार्टी नेताहरुले बहिस्कार गर्ने जानकारी दिएका छन् ।

पार्टीको निर्देशन विपरित सम्मेलन आयोजना गर्न थालिएकाले उद्घाटन समारोहमा पार्टी नेताहरुको उपस्थिति नरहने श्रोतले बताएको छ । सम्मेलन उद्घाटनका लागि खटिएका नेता जनार्दन शर्मा नआउने भएपछि मजदुर नेता शालिकराम जम्मर कट्टेल सम्मेलन उद्घाटन गर्दैछन् ।

कमेन्टहरु
Loading...