पार्टी एकताबारे नेकपा–माओवादीमा छलफल

काठमाडौं, जेठ २७ – एकीकृत नेकपा माओवादीसँगको सम्भावित पार्टी एकता र त्यसका लागि राख्ने शर्तबारे नेकपा–माओवादीको पोलिटब्युरो बैठकमा छलफल गरेको छ । बैठकले पार्टी एकताको बिषयमा न्यूनतम शर्तसहितको प्रस्ताव तयार पार्ने गृहकार्य गर्ने स्रोतले जनाएको छ ।

उच्च स्रोतहरुका अनुसार–दुई पार्टीबीच एकताको सम्भावना बढ्दै गएको छ । पार्टी एकीकरणको प्रयासमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा–माओवादी अध्यक्ष मोहन बैद्य लगायतका नेताहरुबीच पटक–पटक वार्ता समेत भइसकेको छ ।

गत असारमा एकीकृत माओवादीबाट विभाजित भई मोहन बैद्यको नेतृत्वमा नेकपा–माओवादी गठन भएको थियो । तर फुटको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेकपा–माओवादीका केही नेता–कार्यकर्ताहरुले पार्टी एकताको लागि नेतृत्वलाई दवाव दिदै आएका छन् । यसैबीच नेकपा–माओवादीले नेपाल–भारत गृह सचिवस्तरिय वार्तामा भएको सहमतीका केही बुँदा राष्ट्रिय हितविपरीत भएको भन्दै आपत्ति जनाएको छ ।

अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभाग आधुनिकीकरण र काभ्रेको पनौतीमा आधुनिक प्रहरी प्रतिष्ठान निर्माण गरी भारतलाई संचालन गर्न दिने बुँदा राष्ट्रिय स्वाधिनताको दृष्टिकोणले घातक भएको भन्दै अध्यक्ष मोहन वैद्यले आज विज्ञप्ति निकालेर तत्काल खारेज गर्न माग गरेका छन् ।

कमेन्टहरु
Loading...