यसरी बन्दैछ एमाओवादीको नयाँ केन्द्रीय समिति

२३ माघ काठमाडौं । एकीकृत माओवादीको नयाँ केन्द्रीय समितिमा महाधिवेशन आयोजक समितिमा रहेका सदस्यलाई नघटाइने भएको छ । तर, बरिष्ठ नेताहरुलाई पूर्णसदस्य र कनिष्ठलाई बैकल्पिक सदस्यमा राखिने भएको छ । केन्द्रीय सल्लाहकार समितिसमेत दुई तहको रहने प्रस्ताव केन्द्रीय आयोजक समिति तयार पारेको छ ।

‘सल्लाहकार समिति दुई तहको रहन्छ, एउटालाई सल्लाहकार समिति भनिनेछ भने केही कार्यकारी अधिकारसहितको अर्को ‘एड्भाइजरी टिम’ गठन गरिने छ ।’ केन्द्रीय आयोजक समितिको निर्णयबारे जानकारी दिँदै एक नेताले अनलाइनखबरसँग भने- ‘सम्मान गर्नुपर्ने व्यक्तिहरुलाई सल्लाहकार समितिमा राखिने छ भने एड्भाइजरी टिममा कार्यकारी भूमिका खेल्न सक्ने बरिष्ठ नेताहरुलाई समेटिने छ ।’

स्रोतअनुसार केन्द्रीय सल्लाहकार, एड्भाइजरी टिम र केन्द्रीय समितिका सबै सदस्यहरु सहभागी रहेको बैठकलाई ‘प्लेनरी सेसन’ भनिने छ भने पूर्णकेन्द्रीय सदस्यमात्रै सहभागी बैठकलाई सीसी बैठक भनिने छ । आयोजक समितिको बैठकमा केही सदस्यले केन्द्रीय पार्षद् बनाउने प्रस्ताव गरे पनि प्रस्तावित विधानमा पार्षदको व्यवस्था गरिएको छैन ।

नयाँ केन्द्रीय समितिको स्वरुपबारे स्रोतले भन्यो- पूर्वकेन्द्रीय सदस्य भैसकेका आयोजक समिति सदस्यहरुलाई केन्द्रीय समितिमा नपार्दा मनोवैज्ञानिक असर पर्ने भएकाले आयोजक समितिमा रहेका सबैलाई केन्द्रीय समितिमा समेटिने छ । तर, वरिष्ठताका आधारमा स्थायी समिति, पोलिटब्यूरो, पूर्ण केन्द्रीय सदस्य एवं वैकल्पिक सदस्यमा समेटिने छ ।

निर्वाचनको प्रावधान

बन्दशेसनका लागि तयार पारिएकको अध्यक्ष मण्डलको कार्यविधिमा केन्द्रीय समितिको मनोनयनका साथै निर्वाचनको समेत प्रावधान राखिएको छ । हुन्छ र हुन्न भन्ने ध्वनी मतका आधारमा मत व्यक्त गर्ने, उभिएर मत व्यक्त गर्ने अनि तेस्रो विकल्पमा लिखित मतदानमा गर्न सकिने तीनवटा प्रावधान कार्यसूचिमा व्यवस्था गरिएको छ । शुरुमा अध्यक्ष मण्डलले केन्द्रीय समितिको नामावलीसहितको प्यानल प्रस्ताव पेश गर्नेछ र त्यसमा सहमति नभए चुनाव लड्न पाउने प्रावधान कार्यविधिमा उल्लेख छ ।

महाधिवेशनमा सकभर सहमतिबाटै नेतृत्व चयनको गर्ने प्रयास गरिने भए पनि सहमति हुन नसकेमा चुनावमा जानका लागि कार्यविधिमा निर्वाचनको प्रावधान राखिएको स्रोतले बतायो ।

अढाइ सयबाट नघट्ने

हाल एमाओवादीको केन्द्रीय महाधिवेशन आयोजक समिति २ सय ४० सदस्यीय रहेको छ । यो समितिलाई नघटाउने भएपछि नयाँ केन्द्रीय समितिको संख्या २ सय ४० बाट नघट्ने निश्चित भएको छ । समितिका आकांक्षीहरुलाई समेट्न र सबैलाई सम्मानित गर्न एड्भाइजरी टीमको प्रावधान ल्याइएको स्रोत बताउँछ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...