माओवादीको जम्बो केन्द्रीय समिति, सदस्य संख्या ३ सय ९९

 उजिर मगर, काठमाडौं, चैत १३ – एकीकृत माओवादीले केन्द्रीय समितिको आकार बढाएर ३ सय ९९ सदस्यीय पुर्यानउने भएको छ। सातौं महाधिवेशनले विधानमा १ सय ५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेकोमा सबैलाई रिझाउने प्रयास गर्दा संख्या बढ्न लागेको हो। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले ३ सय ९९ सदस्यीय केन्द्रीय समिति पुर्याउने निर्णय गरेको हो।महाधिवेशनबाट पदाधिकारीसहित ९८ जना निर्वाचित छन्। बाँकी मनोनयन हुन बाँकी छ। सोमबारको निर्णयमा १ सय ५१ लाई पूर्ण, बाँकीलाई वैकल्पिक सदस्य बनाउने उल्लेख छ।

सबै पक्षलाई मिलाउने क्रममा संख्या ह्वात्तै बढाएको स्रोतले जनायो। नेताहरू बेखुस हुँदाहुँदै बढाउन बाध्यकारी अवस्था रहेको स्रोतको भनाइ छ। निर्णयअनुसार सातौं महाधिवेशन आयोजक समिति सदस्यहरू वैकल्पिक सदस्य रहनेछन्। त्यसबाहेक ‘अन्यलाई पनि मौका दिने’ निर्णय बैठकको छ। महाधिवेशनले आयोजक समितिमा रहेका १ सय ५१ जना मात्रै केन्द्रीय समितिमा रहने विधान पारित गरेपछि अधिकांश निराश थिए। उनीहरूले महाधिवेशनपछि पार्टीको हैसियत राज्यसमितिभन्दा तल हुने गुनासो पोखेका थिए।
महाधिवेशन आयोजक समितिमा परेका सदस्यहरूलाई कुनै जिम्मेवारी दिइएको छैन। महाधिवेशनअघि दिइएको जिम्मेवारीअनुसार नेताहरूले काम गर्दै आएका छन्। औपचारिक रूपमा जिम्मेवार बाँडफाँट पनि हुन बाँकी छ।
अध्यक्ष, दुई उपाध्यक्ष र एक महासचिवलाई महाधिवेशनले निर्विरोध निर्वाचित गरेको थियो। सचिव संख्या, स्थायी, पोलिटब्युरो संख्यासमेत पार्टीले यकिन गरिसकेको छैन। आगामी १७ गते सुरु हुने केन्द्रीय समितिले ३ सय ९९ जनाको नाम सार्वजनिक गर्ने नेता अग्नि सापकोटाले नागरिकलाई बताए। ‘३ सय ९९ जनाको केन्द्रीय समिति बन्छ, नाम १७ गतेको बैठकमा सार्वजनिक गर्छौं,’ सापकोटाले भने, ‘संख्या ठूलै भयो।’
पोलिटब्युरो, स्थायी समिति सदस्य संख्या विधानले व्यवस्था गरेको १ सय ५१ जनाको आधारमा तय हुने सापकोटाले बताए। नेताहरूको जिम्मेवारी हेरफेर, पदपूर्ति १७ गतेको बैठकबाट टुंग्याउने तयारी पार्टीले गरेको छ। विधानअनुसार १ सय ५१ को आधार मान्दा ४८ पोलिटब्युरो, १४ स्थायी समिति सदस्य रहनेछन्।
‘यति ठूलो आकार हुँदा पार्टी कसरी अघि बढ्छ? यसले बाहिर सन्देश राम्रो जाँदैन’ भन्ने भनाइ धेरैको थियो। असहमति हुँदाहुँदै सबैको चित्त बुझाउनुपर्ने भएकाले संख्या बढ्यो भन्ने तर्क नेतृत्वले गर्योस,’ एक केन्द्रीय सदस्यले भने।
दोस्रो संविधानसभा चुनाव नजिकिएकाले त्यसलाई मध्यनजर राखेर संख्या बढाउनुपरेको अध्यक्ष पुष्पकमल दाहालले बैठकमा तर्क गरेका थिए। ‘आगामी संविधानसभामा पार्टीलाई बहुमतमा पुर्यारउनु छ। धेरैजना परिचालन हुनुपर्नेछ। सबैको चित्त बुझाएर पार्टीमा उत्साह थप गर्न यो संख्या जरुरी छ,’ दाहाललाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने।
आवश्यक परे केन्द्रीय सदस्य थप गर्न सकिने विधानमा रहेको व्यवस्था टेकेर संख्या बढाउने निर्णय भएको नेताहरुले जनाएका छन्।
मधेसमा झालाई स्वागत गरिने
एकीकृत माओवादी केन्द्रीय सदस्य श्रवण यादवले एमाले छाडेर आएका रामचन्द्र झालाई मधेसमा पार्टीले स्वागत गर्ने बताएका छन्। एकीकृत माओवादीले लिएको नीतिमा झा सहमत भएकाले उनलाई स्वागत गरिने यादवले बताए।
‘हिजो एमाले हुँदा सैद्धान्तिक मतभेद हो। अहिले एमाले नै छाडेर एकीकृत माओवादीमा आएपछि त्यो स्वागतयोग्य पक्ष हो। रामचन्द्रजी र हामी एउटै सिद्धान्तमा रहने भएकाले उहाँलाई मधेसी माओवादी नेताहरूको तर्फबाट स्वागत छ,’ यादवले भने।
एमाले पोलिटब्युरो सदस्य झाले एक साताअघि पार्टी परित्याग गरेको घोषणा गरेका थिए। पहिचानसहितको संघीयता पक्षधर झा एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईसँग समूहमा थिए। राईले संघीय समाजवादी पार्टी नेतृत्व गरेका छन्। झा राईको पार्टीमा समावेश भएनन्। cp.

कमेन्टहरु
Loading...