ब्राहमण समाजको महायज्ञमा आठ करोड बढि संकलन

पोखरा, २९ माघ/ब्राहमण समाज नेपाल कास्कीले पोखरामा माघ १९ देखि आयोजना गरेको श्रीमद्भागवत् सप्ताह तथा धन धान्याञ्चल विराट ज्ञान महायज्ञ आज सकिएको छ । महायज्ञमा आठ करोडभन्दा बढि संकलन भएको महायज्ञ मुल समारोह समितिका कोषाध्यक्ष पृथ्वी पौडेलले जानकारी दिए । उनका अनुसार नगद तथा जग्गा र कक्ष निर्माणका लागि गरिएको घोषणा बराबरको रकम जोड्दा आठ करोड भन्दा बढि संकलन भएको हो।

यद्यपी महायज्ञका लागि कास्की सहित अन्य जिल्लाहरुमा संकलन गरिएको रकम आउन बाँकि नै रहेकाले महायज्ञको कुल रकम पछि सार्वजनीक गरिने बताइएको छ । पोखरा नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरिएको महायज्ञमा युवा पण्डित कमलनयन गौतमले भागवत वाचन गरेका थिए । जातीय सद्भाव कायम गर्ने, ब्राहमण समाज नेपालको केन्द्रीय भवन निर्माण गर्ने, सनातन धर्म दर्शन÷संस्कार र संस्कृतिको अध्यापन गराउने, वैद्विक गुरुकुल आश्रम संचालन गर्ने, बहुउदेश्यीय सामुदायिक भवन र सन्त निवास निर्माण लगायतका उदेश्यले महायज्ञ आयोजना गरिएकोे थियो ।

कार्यक्रममा ब्राहमण समाज नेपालका सल्लाहाकार एवं समाजसेवी हिरामणी भण्डारीले सवै जातजातीले आ– आफ्ना जातीय सङ्गठन निर्माण गरी ब्राहमण विरुद्व उत्रन थालेपछि बाध्य भएर ब्राहमण समाज गठन गर्नु परेको बताए । उनले समाजभित्रका सवै गतिविधिलाई पारदर्शी गरी सदैव एकता कायम गर्नुपर्नेमा जोड दिए । सल्लाहाकार भण्डारीले ब्राहमण समाजका लागि आवश्यक पर्ने सहयोग उपलव्ध आफु सदैव तयार रहेको बताए । पुर्वमन्त्री एवं उद्योगपति हरि पाण्डेले ब्राहमणहरु पुरानो संकिर्णता छाडेर नयाँ सोचका लागि अघि बढ्नुपर्ने आवश्यकता औल्याए । मानवजाति र समाज विकासमा ब्राहमण पुर्खाहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेकोभन्दै ब्राहमणहरुले कहिल्यै खिन्नता महसुस गर्नु नपर्ने बताए । उनले ब्राहमणहरुले समाजभित्र रहेका व्यत्तिवीच विद्येमान छुवाछुत अन्त्यका लागि अभियान चलाउनुपर्नेमा जोड दिए ।

तत्काल परिवारको तर्फबाट एक लाख सहयोग उपलव्ध गराएका पुर्वमन्त्री पाण्डेले ब्राहमण समाज नेपालसँग सहकार्यका लागि दुई वटा प्रस्ताव पनि अघि सारेका छन् । उनले ब्राहमण समाज तयार रहे विपन्न तथा जेहेन्दार छात्राको स्वास्थ्य शिक्षाका लागि १७ लाख र छुवाछुत मुक्त समाज निर्माणका लागि सघाउन सात लाख ५० हजार रुपैया उपलव्ध गराउने प्रस्ताब राखेका हुन ्। ब्राहमण समाज नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीले गुमेको अधिकारलाई पुनस्थापित गर्न र राज्यभित्रको विभेद हटाउन समाज अघि बढ्ने बताए ।

उनले ब्राहमण समाजले महानयात्रा थालेकोभन्दै जस्तोसुकै विघ्न र बाधा आएपनि पछाडी नहट्ने बताए । अध्यक्ष अधिकारीले धर्म÷संस्कृतीभित्रको वैज्ञानिकतालाई उजागर गर्ने अभियान पनि थालिने जानकारी दिए । कार्यक्रममा ब्राहमण समाज नेपालकी गण्डकी अञ्चल संयोजक शारदा पौडेल, ब्राहमण युवा समाज नेपालका अध्यक्ष निर्मल पहारी, महायज्ञ प्रचार प्रसार उपसमितिका संयोजक बलराम ढुगांना र दानवीरको तर्फबाट दुर्गादेवी भट्टराईले बोलेका थिए।

महायज्ञ मुल समारोह समितिका संयोजक भेषराज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहसंयोजक ध्रुवराज पराजुलीले स्वागत र महासचिव एवं प्रवत्ता विश्वमोहन पौडेलले कार्यक्रम संचालन गरेका थिए । यसैवीच, सोहि कार्यक्रममा विराटनगर – ४ की अस्मिता घिमिरेको कृत्रिम खुट्टा प्रत्यारोपण गर्नका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । पुर्वमन्त्री हरि पाण्डेले ८ हजार तथा कार्यक्रममा सहभागि भक्तजनहरुद्वारा संकलित १२ हजार रुपैया घिमिरेलाई प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...