क्यान्सर आँधीजस्तै आयो मेरो जिन्दगीमाः मनीषा कोइराला

महिनौंदेखि क्यान्सर रोगसँग जुधिरहेकी अभिनेत्री मनीषा कोइरालाले हालै न्यूयोर्कको स्लोन केटरिङ अस्पतालबाट आफ्ना शुभेच्छुकहरूलाई जानकारी दिइन्, ‘म अब खतरामुक्त छु।’ ‘म आफूजस्तै रोग लागेकाहरूलाई मद्दत गर्न चाहन्छु,’ उनले भनिन्, ‘पहिले म र मेरो परिवारलाई यो रोगको उपचारबारे कुनै ज्ञान थिएन। परिचित व्यक्ति भएकीले धेरैजनाले स्वस्फुर्त रूपमा मलाई सल्लाह दिए। त्यसमध्ये क्यान्सर रोग लागेर निको भइसकेकाहरू पनि थिए। क्यान्सरको पीडा तिनीहरूले मात्र बुझ्न सक्छन्, जो यो रोगबाट पीडित छन्।’

resize_imageकोइरालाले अमेरिकाको अमेरिकन बजार अनलाइनलाई दिएको अन्तर्वार्ताको संक्षेपः

स्तन र पाठेघरसम्बन्धी क्यान्सर लागेका महिलाको निम्ति म्यास्टेक्टोमी (स्तन काट्ने) र हिस्टेरेक्टोमी (पाठेघर झिक्ने) उपचारबारे तपाईंको विचार के छ ? हलिउड अभिनेत्री एन्जेलिना जोलीले हालसालै क्यान्सरबाट बच्न आफ्नो स्तन काटिन् । महिलाहरूमा यसको फाइदा र बेफाइदा के छन् ?
महिलाले पाठेघर झिक्दैमा वा स्तन काट्दैमा आफ्नो स्त्रीत्व गुम्यो भन्ने ठान्नुहुन्न। शरीरको कुनै अंग विशेषले स्त्रीत्व निर्धारण गर्ने होइन। यो त हाम्रो मुटुमा बास गरेको हुन्छ। मनमस्तिष्कमा बास गरेको हुन्छ। ब्राड पिटले आफ्नी पत्नी एन्जेलिना जोलीलाई जिन्दगीकै संवेदनशील घडीमा साथ दिए। यो निकै ठूलो कुरा हो। म यसबाट साह्रै प्रभावित छु। यस्तो सहयोगी जीवनसाथी पाउनु निकै महत्वको कुरा हो। यसले पुरुष र केटाबीचको फरक छुट्टयाउँछ। कसैले डर र त्रासमा जिन्दगी बाँच्नु आवश्यक छैन। स्वस्थ जीवनयापन गर्ने अधिकार सबैलाई छ। स्वस्थ जीवनको चाहना राख्नु नराम्रो कुरा होइन। शान्तिपूर्ण स्वस्थ जीवनयापनको कुरा गर्दा फाइदा वा बेफाइदाको प्रश्न आउँदैन।

क्यान्सरको कारण वंशाणुगत मात्र हो कि मान्छेको जीवनशैलीले पनि भूमिका खेल्छ? कस्तो जीवनशैली बाँच्नुपर्ला क्यान्सरबाट जोगिन?
क्यान्सर आँधीजस्तै आयो मेरो जिन्दगीमा। कतिखेर आयो, थाहै पाइनँ। सबैलाई हुने यस्तै हो। जबसम्म हामी रोगले थलिँदैनौं, तबसम्म स्वास्थ्यको मतलब हुँदैन। क्यान्सर भन्ने रोग त्यति सजिलै अनुमान गर्न सकिन्छ भन्ने मलाई लाग्दैन। मैले केही वर्षदेखि एस्ट्रोजन औषधि लिँदै आएकी थिएँ। त्यही औषधिको प्रभावले क्यान्सर भयो कि भन्ने शंका गरिएको छ। यसको कुनै प्रमाण भने छैन। कुनै दिन वास्तविक कारण थाहा होला। स्वस्थ जीवनयापनको निम्ति स्वस्थ खाना, नियमित व्यायाम र तनावरहित भएर बाँच्नु भने जरुरी छ।

पश्चिमी देशहरूमा सामान्य किसिमको ट्युमरलाई पनि बढी नै जटिल ठान्ने र त्यही किसिमले उपचार गर्ने चलन छ। यसले स्वास्थ्यमा थप हानी पुर्‍याउँछ भनिन्छ। सिटी स्क्यानलाई समेत स्वास्थ्यका लागि हानिकारक मानिएको छ। तपाईं के भन्नुहुन्छ?
म यतिमात्र भन्न सक्छु, सबैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ। नियमित रूपमा जचाउनुपर्छ। यदि परिवारमा पहिले कसैलाई क्यान्सर भएको छ भने त नियमित रूपमा जचाउनु अझ जरुरी हुन्छ। पाठेघरको क्यान्सरबारे पर्याप्त सूचना हामीसँग छैन। मलाई पनि खासै थाहा छैन। मैले परामर्श गरेका डाक्टरहरूले पनि यसबारे विस्तृत रूपमा भन्न सकेका थिएनन्।

सुरुमा त मैले ‘फुड प्वाइजनिङ’ भयो होला भन्ठानेकी थिएँ। सिटी स्क्यान गरेपछि मात्र क्यान्सर भन्ने थाहा भयो। कम्तीमा चार महिनाअघि नै थाहा पाउनुपर्थ्यो। यसको निम्ति हामीले आफ्नो समस्याबारे आपसमा कुराकानी गर्नुपर्छ। क्यान्सरसम्बन्धी चेतना फैलाउनुपर्छ। र, जतिसक्दो छिटो रोगको पहिचान गराउनेतर्फ पहल हुनुपर्छ।

कहिलेकाहीँ रोगले भन्दा त्यसको उपचारले बढी दुःख दिन्छ। क्यान्सर पनि त्यस्तै रोगमध्ये एक हो। तर, केही वर्षयता क्यान्सरको उपचार विधिमा धेरै सुधार भएका छन्। यसमा तपाईंको अनुभव कस्तो रह्यो?
मैले त्यो घडीलाई सहजतापूर्वक अपनाउन सकेँ। यसको निम्ति मलाई माया गर्ने साथीहरू, इष्टमित्र र शुभेच्छुकहरूको आभारी छु। उपचार विधि कठिन भए पनि मैले त्यसलाई सहजतापूर्वक सामना गरेँ भनेर डाक्टर र नर्सहरूले प्रतिक्रिया दिए। मलाई थाहा छ, त्यो कठिन घडी सामना गर्ने साहस मैले आफ्ना शुभेच्छुक र मित्रहरूको कामनाबाट पाएकी हुँ। मेरो उपचारमा संलग्न डाक्टर र नर्सहरूको पनि यसमा उत्तिकै ठूलो हात छ। म आफ्ना सर्जन र अंकोलोजिस्टप्रति निकै आभारी छु।

यदि तपाईंसामु अर्को विकल्प छैन भने तपाईं आफ्नो सम्पूर्ण शक्ति अब कसरी अघि बढ्ने भन्नेमा केन्द्रित गर्नुहुन्छ। आफूलाई ईश्वरीय शक्तिका अगाडि समर्पण गर्नुहुन्छ। मेरो केमोथेरापी सफल भयो। हामीले आफ्नो डरलाई कसरी समाधान गर्ने भनेर सिक्यौं भने जिन्दगी सहज हुन्छ।

यो उपचारले तपाईंलाई व्यक्तिगत रूपमा के परिवर्तन ल्यायो? के यसले तपाईंको करिअरमा प्रभाव पार्छ?
म स्वस्थ र शान्तिपूर्ण जीवन बिताउन चाहन्छु। यसले मेरो करिअरलाई पनि फाइदा गर्छ भन्ने मलाई लागेको छ। म गुणस्तरीय जिन्दगी बिताउनुपर्छ भन्नेमा बढी केन्द्रित हुन थालेकी छु।

यो उपचारमा ठूलो खर्च हुन्छ, त्यसैले सबैको परिवार त्यति सहयोगी नहुन सक्छन्। तपाईं तिनीहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
क्यान्सर रोग लाग्दा भावनात्मक रूपमा साथ दिनु निकै जरुरी छ। जिन्दगीको यो संवेदनशील घडीमा मैले आफ्नो परिवारको पूर्ण सहयोग र साथ पाएँ। उनीहरूको साथबिना म यो कष्टसँग जुध्न सक्दिनथेँ। सबैले यस्तै सहयोग र साथ पाऊन् भन्ने म कामना गर्छु। क्यान्सर रोगले भन्दा त्यससँग जोडिएको डरले बढी असर गर्छ। यस्तोमा बिरामीको आत्मबल बढाउन परामर्शको ठूलो हात हुन्छ। माया र सहयोगको हात बढाउनुले पनि रोक निको पार्नमा मद्दत गर्छ। cp. setopati.com

कमेन्टहरु
Loading...