मानव सेवा आश्रममा दन्त शिविर, सांसद थापाद्वारा ५० हजार सहयोग

पोखरा, १६ जेठ/सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामा मानव सेवा आश्रममा निःशुल्क दन्त परामर्श, परीक्षण शिविर तथा सहयोग हस्तान्तरण कार्यक्रम भएको छ ।

पोखराका सडक पेटीबाट उद्धार गरी आश्रममा लगिएका ३५ जनाको पश्चिमाञ्चल डेष्टल होमको प्राविधिक सहयोगमा दन्त परीक्षण गरिएको हो । कार्यक्रम उद्घाटन गर्दै सांसद कृष्ण थापाले सरकारले गर्नुपर्ने कार्य समुदायस्तरबाट भएको भन्दै प्रशंसा गरे ।

उनले सडक पेटिमा भएकालाई आश्रय दिनु मानवीय कार्यका साथै सामाजिक र पर्यटकीय हिसाबले समेत महत्वपूर्ण भएको बताए । साथै आश्रम र सामाजिक जागरणले महिला सशक्तिकरण तथा समाज विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै यसको निरन्तरताको लागि समेत अनुरोध गरे । उनले आश्रमका लागि ५० हजार ५ सय ५५ रुपयाँ सहयोग समेत हस्तान्तरण गरे।

पश्चिमाञ्चल डेण्टल होमका अध्यक्ष दन्त चिकित्सक डा कमल चापागार्इं र प्रबन्ध निर्देशक हेमनारायण चापागार्इंले दन्त परीक्षणको महत्व तथा डेण्टल होमका माध्यमबाट समाजमा गरिएका कार्यबारे जानकारी दिए । अभियान अध्यक्ष सुष्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता सुभाष ढुंगाना, मनमाया खत्री, कार्यक्रम संयोजक उषा गोशेली लगायतले बोलेका थिए ।

यस्तै, हाल अमेरिका रहेकी समाजसेवी इन्दिरा अर्यालले आश्रमका लागि पठाएको २५ हजार रुपैयाँ सहयोग आश्रमका मुख्य अभिभावक राजेश फुँयाल, हरि बराल, राहुल पाण्डे र शोभा गौतमलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रम संचालन आश्रमका संयोजक तथा अभियन्ता होमनाथ तिमिल्सिनाले गरेका थिए ।

डा कमलप्रसाद चापागाईंको अगुवाईमा डा दीपेन्द्र हमाल, जनसम्पर्क अधिकृत रामुकुमारी श्रेष्ठ, प्राविधिक तुलसी थापा र सुरभी चापागाईको टोलीले दन्तपरीक्षण गर्नुका साथै दाँत भर्ने, निकाल्ने तथा सफाइ कार्य गरेको थियो ।

कमेन्टहरु
Loading...