ठुलो पहिरो गएपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध, कृष्णभिरमा कार पुरियो

मुग्लिन, १३ असार /मुग्लिन–नारायणगढ सडकखण्डमा बुधबार बिहान पनि पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । चार किलोमा बिहान ५ः५० बजे ठूलो पहिरो खसे पछि बाटो अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

पहाडको एक टुक्रा सहितको ठुलो पहिरो खसेकाले बाटो तत्काल खुलाउन नसकिने प्रहरीले जनाएको छ । अहिले बाटो खुलाउन डोजर तथा एक्साभेटर प्रयोग भएका छन् । हरेक दिन जाने पहिरोका कारण मुग्लिन नारायणगढ सडकको यात्रा कष्टकर बन्दै गएको छ ।

त्यसै गरी पृथ्वी राजमार्गको कृष्णभिरमा पनि पहिरो खसेको छ । पहिरोले एउटा कार पुरेको छ भने पहिरोमा एउटा जीप फसेको प्रहरीले जनाएको छ । धादिङ बेनिघाट कृष्णभिरमा राति देखी लेदो माटोसहितको पहिरो खसेको हो ।

पहिरोमा बा १२ च ३८२१ नम्बरको कार आधा पुरिएको छ भने बा १३ च ५९८३ जीप फसेको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।

कमेन्टहरु
Loading...