व्यापार मेला १ लाख ५० हजारले अवलोकन गरे

पोखरा, २८ मंसिर/पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेला आठौँ दिन सम्म १ लाख ५० हजारले मेलाको अवलोकन गरेका छन् । मेलामा १२ करोड ७५ लाखको कारोवार भएको छ । आयोजक संस्था पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइरालाका अनुसार आज मात्रै २५ हजारले मेलाको अवलोकन गरेको र २ करोड ७५ लाख बराबरको कारोवार भएको जानकारी दिए ।

लगानीको सम्वद्र्धनः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित जारी मेलामा शुक्रबार र शनिबार अत्यधिक अवलोकन कर्ताको सहभागिता रहने आयोजक संस्थाको अनुमान रहेको छ । अघिल्ला वर्षको मेलामा जस्तै दर्शकको भीड बढेपछि बाहिरै टिकट बेच्ने अवस्था आउन सक्ने ठानेर त्यसको तयारी पनि गरिएको टिकट ब्यवस्थापन उपसमितिका संयोजक मीनराज काफ्ले बताए ।

शुक्रबार र शनिबारको लागि मेलामा थप सुरक्षा ब्यवस्था पनि अपनाइएको सुरक्षा ब्यवस्थापन उपसमितिका संयोजक दिलिपराज श्रेष्ठले बताए । यता मेला अन्तर्गत नै संचालित लोकदोहोरी प्रतियोगिता उत्कर्षमा पुगेको छ । मेला सकिन लाग्दा खारिएका उत्कृष्ट समूह मात्र बाँकी रहेकोले प्रतियोगिताले रोमाञ्चकता थपेको साँस्कृतिक उपसमिति संयोजक दामु अधिकारीले दावी गरे ।

शुक्रबार पप गायक रजनी राई, लोकदोहोरी गायक कोमल ओली र दुर्गा रायमाझी, हाँस्यकलाकार राजा राजेन्द्रले दर्शकलाई मनोरञ्जन दिनेछन् । मेला अन्तर्गत शुक्रबार एकल नृत्य प्रतियोगिताको फाइनल राखिएको छ । मेलाको दैनिक टिकटमा राखिएको सामसुङ मोवाइल पुरस्कार मंसिर २७ गते ५० रुपैयाँ तर्फ २३९७८ नम्बरलाई प्राप्त भएको छ ।

कमेन्टहरु
Loading...