मेलामा सहभागिता बढ्दा, एक लाख बढिले अवलोकन

पोखरा, २६ मंसिर/ पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा दर्शकहरुको चाप बढ्दै गएको छ । मेलाको छैटौ दिनसम्म आइपुग्दा करिब १ लाख ५ हजारले मेला हेरेको अवलोकन गरेका छन् भने करीव ८ करोड २५ लाखको कारोवार भएको छ । आज मात्रै करीब १९ हजार जनाले मेलाको अवलोकन गरेका छन् भने २ करोड १५ लाख भन्दा बढीको कारोवार भएको मेलाका प्रचारप्रसार समिति संयोजक तथा आयोजक पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइरालाले जानकारी दिए ।

लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित पोखराको नयाँबजारमा जारी मेलामा अटो, दैनिक उपभोग्यवस्तु, सूचना प्रविधी तथा सेवा, रेष्टुरेण्ट हस्तकला, पुष्प लगायतका २ सय ६७ वटा स्टल रहेका छन् । मेलामा १६ लाखदेखि १ करोडसम्मका सवारी साधन विक्रिमा छन् । थरीथरीका मोटरसाइकल र स्कुटी । गाडी र मोटरसाइकल सान र दैनिक जीवनको अभिन्न अंग बनेको बेला साइकल प्रवद्र्धन गर्न मेलामा साइकल प्रदर्शन पनि छ ।

मेलाको अवसर पारेर पोखराको बाग्लुङबस पार्कमा रहेको साहारा अस्पतालले आङ खस्ने महिलाहरुलाई निशुल्क उपचारको ब्यवस्था मिलाएको छ । पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा स्वास्थ्य उपसमितिका संयोजक विन्दु कोइराला सुवेदीका अनुसार यस्ता बिरामीहरुले मेलामा रहेको स्टलमा नाम दर्ता गराउनु पर्नेछ । त्यसैगरी अन्य रोगको उपचारमा पनि १० प्रतिशत छुटको ब्यवस्था गरेको उनले जानकारी दिइन् ।

साँस्कृतिक उपसमितिका संयोजक दामु अधिकारीका अनुसार भोली मेलालाई थप मनोरञ्जनात्मक बनाउन पप गायक प्रास्ना शाक्य तथा लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, हाँस्य कलाकार झ्याइँकुटी झ्याईका कलाकारहरु दमन रुपाखेती र महादेव त्रिपाठी लगायतका कलाकाहरुले मनोरञ्जन दिने छन् ।

कमेन्टहरु
Loading...