महजोडीले भने- हामीले राजनीति गरे कसले हसाउँछ ?

२९ असार, काठमाडौं । चर्चित कलाकार मदनकृष्ण र हरिबंशले आफूहरुले राजनीति नगर्ने र हास्य कलाकारितालाई नै निरन्तरता दिने बताउनुभएको छ । ‘हामी प्रधानमन्त्री बन्ने हो भने हाम्रो कामचाहिँ कसले गर्छ ?’ शनिबार नयाँ बानेश्वरको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा हास्य कलाकार मदनकृष्ण श्रेष्ठले भन्नुभयो- ‘हामीले राजनीतिमा जाने विषयमा सोचेका पनि छैनौं । हामीले देश चलाउनु भनेको ट्याक्सी ड्राइभरलाई देश चलाउन दिनु जस्तै हो ।’

madan-krishna-hari-bansaचर्चित हास्य कलाकार हरिवंश आचार्यले आफूहरुलाई देशैभरिबाट राजनीतिमा आइदिन अनुरोध आउने गरेको जानकारी दिँदै भन्नुभयो-’हामी राम्रो भएर यस्तो अनुरोध गरिएको हैन, राम्रा मान्छे नभेटेर हामीलाई आग्रह गरिएको होला ।’

यो उमेरमा आफूहरुले राजनीति र संगठन गर्न सिकेर राजनीति काम गर्न नसक्ने भन्दै आचार्यले जो प्रधानमन्त्री बने पनि राम्रो काम गरे आफूलाई आपत्ति नहुने बताउनुभयो । ‘जो प्रधानमन्त्री भएपनि देशलाई माया गर्ने, देशप्रति इमान्दार व्यक्ति जो भए पनि हुन्छ’ उहाँले मञ्चमा उपस्थित व्यक्तिहरुलाई इङ्गति गर्दै भन्नुभयो- ‘ प्रधानमन्त्री मोती दुगड भए पनि हुन्छ, कणकजी -कणकमणि दीक्षित) भए पनि हुन्छ, हाम्रो डाक्टरसाव -पूर्व मुख्यसचिव विमल गौतम) भए पनि हुन्छ, वनवारीलाल मित्तल भए पनि हुन्छ ।’

अब हुने चुनावमा पनि पुरानै अनुहार उम्मेदवार हुने भन्दै उहाँले नयाँलाई टेष्ट गर्नुपर्ने बताउनुभयो । ‘हामीले नेताहरुलाई नै देश चलाउन दिनुपर्छ । तर, चुनाव भइहाल्यो भने पनि सबै त्यही इरिटेट अनुहार, हामीलाई दिक्क पार्ने अनुहार, हामी वाक्क भइसकेको अनुहार’ उहाँले भन्नुभयो-’त्यो अनुहारलाई हामीले पछाडि पारेर नयाँ-नयाँ अनुहारलाई टेष्ट गर्नुपर्छ । टेष्ट गर्दा गर्दा एउटा न एउटा राम्रो मान्छे फेला परिहाल्छ ।’

आफूले अहिलेसम्म राम्रो नेता नभेटेको भन्दै कलाकर हरिवंश आचार्यले भन्नुभयो- ‘मैले घरमा एउटा किलो ठोकेर राखेको छु, एउटा राम्रो नेता पाए फोटो झुण्ड्याउँछु भनेर । त्यो ठाउँ खाली छ तर, त्यहाँ मेरो आफ्नै र मदन दाइको फोटो राख्न चाहन्न म ।’cp. onlinekhabar.com

कमेन्टहरु
Loading...