लोमान्थाङमा रिङरोड बन्दै

लोमान्थाङ(मुस्ताङ), २५ भदौ / चुनाव ताका इन्द्रधारा विष्टले एउटा प्रतिबद्धता गरेका थिए, एक गाँउ एक रोड । गण्डकी प्रदेशका सदस्य विष्टले चुनावमा गरेको प्रतिबद्धतालाई पुरा गर्ने अठोटमा छन् ।

उनले आफनो निर्वाचन क्षेत्रमा रहेको तीन गाँउमा बाटो, ५ वटा ठाँउमा मोवाईल टावर र २ गाँउमा विद्युत पुर्याउने लक्ष्य राखेका थिए । लक्ष्य र प्रतिबद्धता अनुसार नै गाँउमा बाटो बनाउँदै लोमान्थाङ बाटोले घेरिदैं छ । चारैतिरबाट बाटो निर्माणको काम अघि बढेको छ । आगामी केही वर्षभित्रमा लोमान्थाङ वरिपरी रिङरोड बन्ने छ ।

चुनावी प्रतिबद्धता अनुसार उनले पहिलो बाटो आफनै लोमान्थाङमा निर्माण शुरु गरेका छन् । १० किलोमिटर सडक खण्ड निर्माण कार्य अगाडि बढेको छ । सडक ट्रयाक निर्माण भईसकेको छ । कालोपत्रे गर्न टेण्डर आह्वान गरिएको गण्डकी प्रदेश सदस्य विष्टले सुनाए । ‘गत वर्ष २ करोडको काम भयो । यो वर्ष ४ करोड रुपैयाँ छुट्टाइएको छ ।’ उनले भने–‘छुट्टाइएको बजेटबाट कालोपत्रे गरिने छ । त्यसको टेण्डर आह्वा गरिसकिएको छ ।’ उनले २२ करोड रुपैयाँ लागत हुने अनुमान गरिएको बताए ।

लोघेकर दामोदर कुण्ड रिङरोड उनको दोस्रो योजनाको रुपमा रहेको छ । ९ किलोमिटर सडकको ट्रयाक खोल्ने काम पुरा भईसकेको छ । ट्रयाक खोल्न १ करोड २५ लाख रुपैयाँमा पुरा गरियो । ‘यो वर्ष स्तरोन्नति गरिने छ । त्यसको लागि ६५ लाख रुपैयाँ छुट्टाइएको छ ।’ उनले भने–‘त्यसले दामोदरकुण्डका ३ वटा वडालाई छुने छ ।’

तेस्रो सडक परियोजना अनुसार उनले लोमान्थाङ–लामास्युङ–सामजुङ हो । ७ किलोमिटर लामो उक्त सडक खण्डको काम शुरु गरिएको छ । सडक निर्माणको लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । २० लाख रुपैयाँ गाउँपालिकाबाट छुटाई साझेदारीको रुपमा काम अगाडि बढाईएको छ । सडक खण्ड निर्माणले त्यस क्षेत्रका २३ घरपरिवार प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

चौथो सडक खण्ड भने लोघेकर–दामोदर कुण्ड–धेताङ हो । १५ किलोमिटरको सडक निर्माण गर्ने जिम्मेवारी आधा स्थानीय गरिसकेका छन् । गण्डकी प्रदेश सरकारले भने ५० लाख रुपैयाँ उपलब्ध गराएको सदस्य विष्टले जानकारी दिए । अहिले ती दुवै गाँउमा बाटो पुगेको छ । स्तरोन्नति गर्न प्रदेश सरकारले फरी ६५ लाख छुट्टाईदिएको छ । प्रदेश सरकार र संघीय सरकारले लोमान्थाङमा सडक विस्तारको लागि बजेट परेपछि धमाधम काम गरिएको छ ।

जोमसोम–लोमान्थाङ सडक खण्डमा बाटो चक्ल्याउने काम भईरहेको छ । समरको भीरदेखि लोमान्थाङ तर्फ उक्लिने बाटो फराकिलो बनाउने काम गरिदैं छ । भीमकाय पहाडलाई छिचोल्दै सडक सञ्जाल विस्तार गर्ने योजना आगामी दुईवर्षभित्रमा पुरा गर्ने योजनासहित काम अघि बढाईएको छ ।

चीनको नाका कोरलादेखि लोमान्थाङसम्म सडक सञ्जाल छ । सडक सञ्जालको स्तरोन्नति गरिएको छ । केही ठाँउमा बाटो भत्किएको छ । गत श्रावणको १९ गते परेको पानीले कोरला–लोमान्थाङ सडक खण्डको झण्डै १किलोमिटर बाढी आउँदा भत्काईदिएको छ । मर्मत गर्नुपर्ने खाँचो छ । ग्राभेल सकिएपछि स्तरोन्नति गर्ने योजना रहेको सदस्य विष्टले सुनाए ।

बेनी–जोमसोम हुदैं लोमान्थाङसम्म अहिले बाटो पुगिसकेको छ । लोमान्थाङ हुदैं कोरला नाकासम्म बाटो निर्माणले यातायातको सहज पहुँच पुगेको छ । कोरालामा नाका खुलाउने योजनासहित चीनले भौतिक पुर्वाधार तयार पारेको छ । तर नेपाल तर्फ भने कुनै सुरसार नै छैन् । कोराला नाका खुले सबैभन्दा छिटो बस्तु आयात तथा निर्यात गर्न सहज हुने विश्वास छ ।

कमेन्टहरु
Loading...