नवौ लेखनाथ महोत्सव जारी, रत्यौलीमा नाचे दर्शक छमछमती

लेखनाथ, २९ माघ/लेखनाथको भण्डारढिक स्थित प्रस्तावित रंगशालामा आयोजित नवौ लेखनाथ महोत्सवको तेश्रो दिन आइतवार १५ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा ५० लाख वरावरको कारोवार भएको आयोजकले दावी गरेका छन् । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने नाराका साथ शुरु भएको पश्चिमाञ्चलकै अन्तिम महोत्सवमा विभिन्न वस्तु तथा उत्पादनका तीन सय भन्दा वढी स्टल राखिएको छ ।

महोत्सवमा वेगनासतालको झलक दिने गरी वनाइएको कृत्रिम तालले दर्शकहरुको मन जित्न सफल भएको छ । हिमाली श्रृंखला र तालको आकृति सहित माछा समेत राखिएकाले दर्शकहरुको कृत्रिम तालमा चाख गएको महोत्सवस्थल पूर्वाधार तथा व्यवस्थापन उपसमितिका संयोजक मेजर रामम्रसाद गुरुङले जानकारी दिए । वेलुकापख ताजा तरकारी किन्नेहरुको समेत स्टलमा निकै भिड लाग्ने गरेको छ । महोत्सवमा कृषिजन्य देखी औद्योगिक प्रतिष्ठानका विभिन्न उत्पादनहरु तीन सय भन्दा वढी स्टलमा राखिएको छ ।

मनोरन्जनका रुपमा राखिएको रत्यौली गीत प्रतियोगितामा दर्शकहरु छमछमती नाच्ने गरेका छन् । विवाहमा वेहुला निकालेपछि खेलिने सांस्कृतिक कार्यक्रम रत्यौलीमा समेत गीतसँगै प्रहसन र नृत्य हुनेगरेको छ । आइतवार प्रतियोगिताका लागि भएको छनौट चरणमा भरत पोखरी, जनताको चौतारा र लेखनाथ १ भण्डारढिकको महिला समूहका विच प्रतिस्पर्धा गराईएको थियो । यस्तै विद्यालयस्तरीय लोकनृत्य तारापुञ्जमा जनप्रकाश उच्च मा.वि, नेपाल आदर्श उच्च मा.वि र कास्की मोडनाइज्डका विच भएको प्रतिस्पर्धामा कास्की मोडनाइज्ड दोश्रो चरणमा प्रवेश गरेको छ ।

आयोजकले भोली सोमवार सार्वजनिक विदाको दिनमा दर्शकहरुको चाप वढ्ने वताउँदै मनोरन्जनका लागि लोक गायन तर्फ राजु परियार, सिता न्यौपाने, शर्मिला गुरुङ, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, तारापति सुवेदी, जीवन दाहाल, शिवहरी ढुंगाना, गोमा ढकाल, माया गुरुङले गायन प्रस्तुत गर्ने जनाएका छन् ।

यसैगरी हास्यव्यङ्ग तर्फ नेपाल टेलिभिजनवाट प्रसारण हुने मेरी वास्सै र जीरे खुर्सानीका कलाकार “राजाराम मेरो नाम र वल्छी धु्रवे” ले प्रस्तुती दिने प्रचारप्रसार उपसमितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए । पप तथा आधुनिक गायन तर्फ नरहरी प्रेमी, ऋतु लामा, सि.डि विजय अधिकारी, आशिष दास र रिद व्याण्डको प्रस्तुती रहने स्टेज व्यवस्थापन उपसमितिका संयोजक नेत्रपाणी वास्तोलाले जानकारी दिए । महोत्सवमा अघिल्ला दिनका जस्तै ऋतीरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरिय लोकनृत्य तारापुञ्ज, रत्यौली गीत, दोहोरी तथा पप गायन रहने वास्तोलाले उल्लेख गरे ।

कमेन्टहरु
Loading...