लामाचौरमा हुने हरितालिका तीज महोत्सवको तयारी तीव्र

पोखरा, ९ भदौ/नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा हुने हरितालिका तीज महोत्सव–२०७० तथा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । संस्थाको १७ औ वार्षिकोत्सवको अवसरमा अघिल्ला वर्षझैं यस वर्ष पनि लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी उच्च मावि परिसरमा भदौ २१ देखि २३ गतेसम्म महोत्सव हुन लागेको हो ।
महोत्सवको लागि कैलाश विकास बैंक लिमिटेडले मुख्य प्रायोजनको जिम्मा लिएको छ । बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाले फरक ढंगले तीज महोत्सव गर्दै आएको र महोत्सवबाट बचत रकम विभिन्न सामाजिक कार्यमा देखाउँदैआएको तत्परताबाट प्रभावित भै आफूहरुले मुख्य प्रायोजन गरेको जनाए । बैकले यसअघि तीजगीत प्रतियोगिताको लागि प्रायोजन गरेको थियो ।
महोत्सवलाई भव्य तथा सभ्यरुपमा सम्पन्न गराउन लामाचौर आसपासका विभिन्न आमा समूह, क्लब तथा संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजकले पनि राष्ट्रिय महिला भलिबल प्रतियोगिताको लागि तयारी तीव्र पारेको छ । प्रतियोगितामा पोखराबाहिरका ४ वटा टिमको सहभागिता रहनेछ । ती टिमहरुको आवास र खानाको व्यवस्था मिलाइसकेकोे खेलकुद संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।
महिलाको महान पर्व तीजलाई भड्किलोरहित बनाउँदै संस्कृतिको जगेर्नातर्पm उत्प्रेरित गर्दै संस्थाले हुनेखानेको भन्दा हुँदाखानेको लागि पनि समान महत्व दिने गरी तीज महोत्सव गर्दैआएको छ । महोत्सवको अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगितासहित विद्यालयस्तरीय छात्रा भलिबल, तीजगीत प्रतियोगिता, अन्तरमावि लोकनृत्य प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, महिला म्यूजिकल चेयर, खुला घैटो फुटाउने, टायरमा बल छिराउने, पत्रकार दौडलगायतका प्रतियोगिता हुने प्रचारसंयोजक संजयकुमार अधिकारीले जनाए ।
तीन दिनसम्म चल्ने महोत्सवमा साढे १७ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
महोत्सवका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भैसकेको अर्थ संकलन संयोजक बमबहादुर गुरुङले जनाए । नवआदर्श सामुदायिक विकास समाजले सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदैआएको छ भने युवाको लागि फुटबल र महिलाका लागि सीपमूलक तालिम पनि प्रदान गर्दैआएको छ । लामाचौरको अग्रणी सामाजिक संस्थाको रुपमा परिचित समाजल एम्बुलेन्स र शवबाहन पनि संचालन गर्दैआएको छ ।

कमेन्टहरु
Loading...