लोकमानको बगलीमा हात हाल्न सक्ने को हुन् यी उपसचिव ?

किरण भण्डारी

राष्ट्रपति रामवरण यादवले संवैधानिक निकाय प्रमुखजस्तो गरिमामय ओहोदामा नियुक्ति दिएको व्यक्तिगत पत्र फेसबुकमार्फत् सार्वजनिक भएको छ । वैशाख २५ गते अख्तियारको प्रमुख आयुक्तमा नियुक्त लोकमानसिंह कार्कीको पत्र फेसबुकमा आएको हो ।  विवादबीच नियुक्ति पाएका कार्की स्वयंले राष्ट्रपतिले दिएको नियुक्तिपत्र सार्वजनिक गरेका हैनन् । न त उनका परिवार सदस्यले नै गरेका हुन् ।  राष्ट्रपतिले अख्तियार प्रमुखलाई दिएको नियुक्ति राजस्व अनुसन्धान विभागका एक उपसचिवको फेसबुकमा सार्वजनिक भएको हो । ती उपसचिव हुन् भ्रष्टाचारको आरोपमा अख्तियारमा दर्जनभन्दा बढी उजुरी परेका भरतराज सुवेदी । जसको अनुसन्धान गर्नु कार्कीको दायित्व हो ।

राष्ट्रपतिले संवैधानिक प्रमुखलाई दिएको नियुक्ति जम्मा चार प्रति बनाइएको हुन्छ । एउटा सम्बन्धित अधिकारीले पाउँछ । तीनवटा बोधार्थ संवैधानिक परिषद्, सम्बन्धित निकाय र संसद् सचिवलायको महासचिवलाई दिइन्छ । ‘सुवेदीले कोसँग त्यो पत्र हात पारेर फेसबुकमा पहुँच देखाए ?’ शुक्रबार दिनभरि अर्थ मन्त्रालय, अख्तियार, शीतल निवासमा टिप्पणी भयो, ‘यति ठूलो नियुक्तिको एउटा मर्यादा त हुन्छ नि !’ नियुक्तिपत्रको मुनि सुवेदीले शुभकामना लेखेका छन्, ‘राजनीतिक अस्थिरता र आर्थिक अपराधले ग्रसित भई बाटो बिराएर रुमलिइरहेको देशलाई सही मार्गमा ल्याउन सफलता मिलोस् ।’

आम अधिकृतहरु अलमल परे पनि नेपालको शासन, प्रशासनको नसनस बुझेकाहरुले त्यो पत्र कसरी आयो भनि धेरै बेर निधार खुम्च्याएनन् । ‘भरतजी लोकमानको बगलीमा हात हाल्न सक्छन्, बेडरुमसम्मै पहुँच छ,’ अर्थका एक सहसचिवले भने, ‘प्रमुख आयुक्तसँग नियुक्ति खोसेरै फोटो खिच्न सक्ने सामथ्र्य उनको छ ।’ ती सहसचिवको तर्कमा दम छ । सुवेदीले पोस्ट गरेको अर्को फोटोले यही भन्छ । उनको फेसबुकमै अर्को तस्बिर छ, जहाँ सुवेदी काकीसँग नारिएका छन् । कार्कीले सयपत्रीको माला पनि लगाएका छन् । तस्बिरको मुनिउस्तै सन्देश लेखिएको छ– देशलाई सही मार्गमा ल्याउन सफलताको शुभकामना ।

सामान्य जागिरको नियुक्तिसम्म साथीभाइ वा इष्टमित्रलाई देखाउँदै हिँडिँदैन । नियुक्तिपत्र जोकसैले जतनसाथ थन्काउँछ । जानकारहरुका अनुसार कार्की र सुवेदी न दौतरी हुन् न कुटुम्ब न । यिनीहरु दुवै अर्थ मन्त्रालयमा सँगै काम गरेको भए पनि कहिल्यै समकक्षी थिएनन् । ‘एउटा उपसचिवले आफूभन्दा कम्तीमा ६ तह माथिको अधिकारीको नियुक्ति हात पारेर सार्वजनिक गर्ने आँट कसरी बटुल्यो ?,’ अख्तियारमा चियोचर्चा भयो, ‘त्यहाँमाथि अख्तियारको सबैभन्दा बढी निगरानीमा रहेको राजस्व अनुसन्धानका उपसचिव ।’

उनीहरुले यसलाई आइजिपी र फरार अभियुक्त वा न्यायाधीश र झगडियाले कुम जोडेजस्तै ठानेका छन् । कार्की वा सुवेदीलाई प्रश्न गर्ने आँट भने उनीहरु गर्दैनन् ।  त्यसको जवाफ पनि अर्थका अधिकारीहरुसँगै छ । ‘दुवै २०४७ सालदेखि अहिलेसम्म उहीउही शक्ति प्रयोग गरेर उस्तै निकायमा उसैगरी काम गरेका छन्,’ नाम बताउन नचाहने अर्थका अर्का सहसचिवले भने, ‘खाँटी कांग्रेस भएर अर्थ मन्त्रालय छिरेका दुवै अहिले २४ क्यारेटका माओवादी छन् ।’ बढुवा हुँदा दुवैजनाले साम, दान, दण्ड, भेद प्रयोग गरे । अरु प्रतिस्पर्धीलाई ‘म्यासेकर’ गरे । कार्कीलाई सहसचिव बनाउन ७४ जनाको कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाइयो । सुवेदी उपसचिव बन्दा २०५६ सालमा अरु प्रतिस्पर्धीलाई केही दिन अपहरण नै गरेको घटना अर्थका कर्मचरीले बिर्सेका छैनन् । तर यी सुवेदीविरुद्वको उजुरी अर्थ त के प्रहरी/प्रशासनले पनि सुनेन ।

त्यही साल सुवेदी तातोपानी भन्सार गएपछि त्यसलाई उनले मुलुकको एक नम्बर कमाउ अड्डामा उकाले । कार्की त्यसअघि नै दुईपटक भन्सारको महानिर्देशक भइसकेका थिए । यिनीहरुबीचमा अर्को संयोग पनि मिलेको छ । दुवैले अख्तियारबाट मुद्दा खेपे । निलम्वनमा परे । मुद्दा जिते । पहिला भन्दा महत्वपूर्ण ओहोदा र जिम्मेवारीमा फर्के । २०५९ साउनमा अख्तियारले २२ जाना छापा मार्दा सुवेदी पनि परे । तर उनले अरु जस्तो झ्यालखान बस्नुपरेन । सुराकी पाएर भागे । एकैपटक अदालतमा हाजिर भए । धरौटीमा छुटे ।

विशेष अदालतले अकुत सम्पत्तिमा धेरैलाई मुद्दा जिताइदियो । सुवेदीले पनि जिते । अख्तियार लगभग सबैमा सर्वोच्चमा पुनरावेदन गयो । सुवेदीको भने पुनरावेदन नजाने निर्णय ग¥यो । कार्कीले ७१ लाखको सुन काण्डको मुद्दा पुनरावेदन अदालतबाट जिते । अख्तियार सर्वोच्च गएन । पुनरावेदनको फैसलामा चित्त बुझायो । त्यसमै मुछिएका अरुहरुले भने सर्वोच्चमा पनि मुद्दा खेप्नुपरेको थियो ।

२०६३/६४ मा कार्कीले अवकास पाए । सुवेदी मुद्दा जितेर राजस्व अनुसन्धान विभागमा सरुवा भइसकेका थिए । कांग्रेसभन्दा माओवादी चम्कँदै थियो । कार्की र सुवेदीद्वयले कुरा बुझिहाले । सुवेदी खाँटी माओवादी भए । रामशरण महतले अनुसन्धानमा पठाएका उनी बाबुराम भट्टराईको अर्थमन्त्रीत्वकालमा झन् बलिया भए । राजनीतिक संरक्षणकै कारण विभागमा रहँदा सुवेदीले व्यापारीलाई धम्क्याउने र कुटपिटसम्मको छुट पाउँदै आएका छन् । पछिल्लोपटक वल्र्ड लिंक सञ्चालकले सुवेदीले आफूलाई धम्क्याएर  ५ करोड रुपैयाँ मागेको खुलासा गरे । तर सुवेदीलाई काँडाले कोरेन ।

अघिल्लोपटक अनुसन्धान विभागमा रहँदा सुवेदी थानकोटमा ट्रक चालकहरुको कन्चटमा बन्दुक नै राखेर धम्क्याएपछि तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे र सचिव रामेश्वर खनालले उनलाई राजस्व तालिम केन्द्रमा तानेका थिए ।  सुवेदीसँग वाक्क तत्कालीन महानिर्देशक आत्माराम पाण्डे (हाल सचिव) ले मन्त्रालयमा गर्ने गरेको गुनासो अहिलेसम्म नै चर्चित छ, ‘पहिला सुवेदीले हामीलाई कर्मचारीतन्त्रमा कांग्रेसको क्यारेक्टर सर्टिफिकेट दिनुपथ्र्यो, अहिले उनले प्रमाणित नगरी माओवादी हुन नपाइने भएको छ ।’ कार्की र सुवेदीबीच एउटा आधारभूत भिन्नता छ– सुवेदी २०४२ सालमा लोकसेवा पास गरेरै शाखा अधिकृत बनेका हुन् । कार्की त्यसको एक वर्षअघि एक तहमाथि हुकुम प्रमांगीबाटै छिरिसकेका थिए ।
सुबेदीको फेसबुकमा लोकमान गाथा

भ्रष्टाचारी संम्यन्त्रले तहसनहस भएको देशमा भ्रष्टाचार निर्मूल गर्न लोकमानसि|ह कार्की जस्तो निस्वार्थी, योग्य, निडर, सक्षम ब्यक्ति अख्तियार प्रमुखमा नियुक्ति हुनु देश र जनताका लागि सुखद भविष्यको सुरुवात हो भने कुत्सित विचार भएकाहरुले जनतामा भ्रम सिर्जना गराई ब्यक्तिगत स्वार्थ पूर्ति गर्न चाहने भ्रष्टाचारी, भूमाफिया, कालाबजारी, एनजिओ तथा आईएनजिओको नाउँमा डलर खेती गर्ने, कमिसनखोर, दलाल, स्वार्थीऽ ब्याङ्गकर्स, तस्कर एवं राजस्वमारा र पित पत्रकारितामा संलग्न अपराधीका नाइकेहरुको यथार्थ जनता सामुन्ने उदाङ्गगिसने डरले यस पूनीत कार्यबाट त्रसित हुनु स्वभाविक नै हो। यस्ता देशद्रोहीरुलाई च्यालेन्ज गर्न सक्ने एक मात्र प्रभावशाली ब्यक्तित्व लोकमानसिंह कार्की नै हो भन्ने मनन गरी देशमा सुशासन कायम गर्न पवित्र उद्धेश्यले सम्वैधानिक परिषदबाट सिफारिस गरी वर्तमान सरकारले राष्ट्र हितमा गरेको पहिलो असल कार्य स्वागत योग्य छ ।

औलामा गन्न सकिने केही स्वार्थी समूहबाट खोक्रो आदर्शवादको कुरा गरेर जनतामा भ्रम सिर्जना गर्ने र आफनो मतलब साँध्ने प्रबृतिलाई हावी गर्ने गराउने कुसंस्कारको विकास गराई आफ्नो स्वार्थ परिपूर्ति गराउने समुहहरुको आवाज यसरी मिडिया मार्फत लगातार आइरहनु राष्ट्र र जनताका लागि दुखद विषय हो । निज कार्कीलाई सिफारिस गर्ने चार दलका नेताहरु, संवैधानिक परिषषदका सदस्यहरु र स्वयं सरकार प्रमुख धन्यवादका पात्र हुन् । लोकमानसिंह कार्कीलाई निडर भई देशलाई आर्थिक अपराधबाट मुक्त गराउन सफलता मिलोस् भन्ने शुभकामना छ । cp setopati.com

 

कमेन्टहरु
Loading...