कमल थापाका जर्नेल दाजुले ज्ञानेन्द्रको हेलिकोप्टर बसाल्न दिएनन्

निर्वाचन आयोगले तेर्स्याएको आचारसंहिताको लठारो पार गरेर राहत बाँड्न बुधबार दार्चुला पुगेका पूर्वराजा ज्ञानेन्द्र सामुन्ने अर्को तगारो पनि तेर्सियो– हेलिकोप्टर सदरमुकाम खलंगास्थित ब्यारेकको हेलिप्याडमा अवतरण गर्न दिइएन।

kingसेनाको शत्रुभञ्जन गुल्मले हेलिकोप्टर बसाल्न रोक लगायो । पूर्वराजाका सहयोगी पूर्वसंवाद सचिव फणिराज पाठकले जिल्लाको सिडिओ, सेना मात्र हैन, सिंहदरबार र सैनिक हेडक्वार्टरमा पनि यो खबर पुर्‍याए । ‘कागजी प्रक्रिया’ को निहुँ झिकेर सबै पन्छिए।
माओवादी नेता बाबुराम भट्टराईसहितले ‘ज्ञानेन्द्र राहतको बाहनामा राप्रपा नेपाललाई भोट माग्न’ जान लागेको भनी भ्रमणको आलोचना गरिरहेका बेला सेनाले यस्तो रोक लगाएको हो।
राजाका पूर्वसैनिक सचिव पाठकले सरकार र सेनाले सामान्य उदारता पनि देखाउन नसकेको भन्दै आलोचना गरेका छन् । ‘एउटा रिटायर्ड जर्नेलले सिपाहीलाई घरेलु कामदार बनाएर राख्न पाइरहेका छन्,’ उनले भने, ‘पूर्वराजा मात्र हैन, सेनाका पूर्वपरमाधिपतिलाई ब्यारेकको चौरमा हेलिकोप्टर बसाल्न पनि दिइएन।’
विभिन्न राजनीतिक दलका नेता, कर्मचारी र सर्वसाधारणले ब्यारेकको त्यही हेलिप्याड प्रयोग गर्ने सुविधा पाइरहेकामा पूर्वराजालाई मात्र सौतेनी व्यवहार गरिएको पाठकले जिकिर गरेका छन्।
‘पृथ्वीनारायण शाहले स्थापना गरेको सेनाका निवर्तमान परमाधिपतिलाई न्यूनतम मानवीय व्यवहार पनि नगर्दा हामीलाई ठूलो फरक परेन,’ उनले भने, ‘सरकारी निकायहरूको नियत प्रस्ट भयो।’
हिमानी ट्रस्टले हेलिकोप्टर बसाल्न अनुमति माग्दै केही दिनअघि नै सिडिओ कार्यालय र सेनामा निवेदन हालेको पाठकले बताएका छन् । सुरुमा ‘हुन्छ’ भन्ने जवाफ आयो।
‘पछि लिखित निवेदन हाल्नू भने,’ पाठकले भने, ‘हामीले त्यसै गर्‍यौं ।’ त्यसको ‘निकासा’ भने भ्रमणको बेलासम्म नपाएको गुनासो उनले गरेका छन्।
गुल्मले ‘माथिको आदेश’ भन्दै हेलिकोप्टर बसाल्न दिन नसक्ने जानकारी गराएको थियो । ज्ञानेन्द्र, बुहारी हिमानीसहित सहयोगीहरू चढेको हेलिकोप्टर खलंगाको खुला चौरमा अवतरण गरिएको थियो।
राजाले राहत वितरण गर्दा कमल थापाको पार्टीलाई फाइदा हुने भन्दै प्रमुख दलहरूले सिंहदरबारसम्म आफ्नो विरोध दर्ज गराएपछि हेलिकोप्टर बसाल्न नदिएको अनौपचारिक जानकारी राजावादीहरूले पाएका थिए।
संयोगले तीनै थापाका दाइ नेत्रबहादुर अहिले निमित्त प्रधान सेनापति छन् । गौरवशमशेर राणा चीन भ्रमणमा भएकाले थापाकै आदेशअनुसार दार्चुलाको गुल्मले पूर्वराजा चढेको हेलिकोप्टर बसाल्न नदिएको हो । नेत्रबहादुर सेनाका महत्वपूर्ण जिम्मेवारी मानिने बलाधिकृत रथी छन्।
एन्फा अध्यक्ष गणेश थापासहित तीनैजना दाजुभाइ राजधानीको विशालनगरस्थित एउटै कम्पाउन्डमा बसोबास गर्छन् । नेत्र जेठा, कमल माइला र गणेश कान्छा हुन्।
सेनाले जिल्ला सुरक्षा समितिबाट निर्णय नभएकाले हेलिकोप्टर बसाल्न दिन नसकेको प्रतिक्रिया दिएको छ । पूर्वराजाका लागि हेलिप्याड माग्ने प्रक्रिया नमिलेको आसय सैनिक प्रवक्ता सुरेश शर्माले व्यक्त गरेका छन्।
‘हामीलाई हिमानी ट्रस्टबाट अनुरोध भएर आएको देखिएन,’ शर्माले भने, ‘जिल्ला सुरक्षा समितिबाट निर्णय भएर आएको भए हेलिप्याड दिन सकिन्थ्यो ।’

– See more at: http://setopati.com/raajneeti/2721/#sthash.h84712Nv.dpuf

कमेन्टहरु
Loading...