चेक बाउन्समा मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय

काठमाडौँ, १७ फागुन/ काठमाडौँ जिल्ला अदालतले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय सुनाएको छ । लेनदेन सम्बन्धी चेक बाउन्स भएपछि दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

दुई वर्ष अघि सप्तरीको राजविराज–८ का गोपाल कटुवालसँग खुस्बुले घरजग्गा खरिदका लागि ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन् । सापटी फिर्ताका क्रममा खुस्बुले ३६ लाख रुपैयाँको चेक दिएकोमा कुमारी बैंक न्यूरोड शाखाबाट चेक ‘बाउन्स’ भएको थियो ।

तीन पटकसम्म यसरी नै बैंकबाट फर्किनु परेपछि उनले कानुनी उपचार खोजेका थिए । गत वर्ष उनले काठमाडौँ जिल्ला अदालतमा खुस्बुविरुद्ध चेक अनादरको मुद्दा दायर गरेका थिए ।

गत जेठमा अदालतले खुस्बुलाई ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाका अतिरिक्त चेक काटेको मितिदेखिको साँवा, ब्याजसमेत तिर्नुपर्ने फैसला गरेको थियो ।

अदालतको फैसला कार्यान्वयन नभएपछि कटुवाल फेरि न्याय माग्दै अदालत पुगेका थिए । अदालतले म्याद तामेली गर्दासमेत खुस्बु सम्पर्कमा नआएपछि कटुृवालले गत पुसमा जिल्ला अदालतमा निवेदन दिएका थिए । सोही मुद्दाको फैसला गर्दै अदालतले खुस्बुलाई दुई वर्ष कैद सजाय सुनाएको हो ।

कमेन्टहरु
Loading...