खिलराजको मुद्दा आज ३ नं बेञ्चमा सुनुवाइ हुँदै

२४ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने बहुप्रतिक्षित मुद्दा आज सर्वोच्च अदालतको ३ नम्बर इजलासमा परेको छ । यो बेञ्चमा आज एउटा मात्रै मुद्दा छ । विशेष इजलासमा परको यो मुद्दामा तीनजना न्यायाधीशले सुनुवाइ गर्दै हुनुहन्छ ।

अधिवक्ता भरतमणि जंगमबाट दायर यो मुद्दाको सुनुवाइ आज न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीलाको विशेष इजलासले हेर्दैछ । यसअघि सुशीला कार्कीको एकल बेञ्चले जटिल संवैधानिक प्रश्न भन्दै यसलाई विशेष इजलासबाट सुनुवाइ गर्नुपर्ने ठहर गरेको थियो ।

गत फागुन १५ गते जंगमले रेग्मीलाई प्रधानमन्त्री बनाउनु संविधान र शक्तिपृथक्कीकरणको सिद्धान्त विपरीत हुने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र एमाओवादी अध्यक्ष प्रचण्डलाई विपक्षी बनाइएको छ ।

प्रधानन्यायधीश खिलराज रेग्मीको नेृतत्वमा चुनावी सरकार बनाउन प्रमुख राजनीतिक दलहरु सैद्धान्तिकरुपमा सहमत भए पनि यसबारे अदालतले कस्तो निर्णय दिन्छ भन्नेमा सबैले चासोपूर्वक हेरिरहेका छन् । नेपाली कांग्रेस लगायतका दलले अदालतको फैसलालाई पर्खनुपर्ने अडान राखेका कारण आजसम्म रेग्मी प्रकरण टुंगो लाग्न सकेको छैन ।

एकातिर अदालतले रेग्मीबारे आज विशेष अदालतमा सुनुवाई गर्दैछ भने अर्कातिर शीर्ष नेताहरुले पनि आजै दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । बहसमा सहभागी वकिलहरुले भने जटिल संवैधानिक विषय भएकाले आजै बहस नसकिने र लम्बिन सक्ने अनुमान समेत गरेका छन् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...