खाद्य सुरक्षाका सवालमा उपभोक्ता नै सचेत बन्नुपर्नेमा जोड

पोखरा, ३० असोज/ खाद्य सुरक्षाका सवालमा अनुगमन भन्दा पनि उपभोक्ता नै सचेत बन्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

विश्व खाद्य दिवसको सन्दर्भमा पोखरामा राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक गण्डकी प्रदेशको संयुक्त आयोजनामा खाद्य अधिकारको सवाल विषयक अन्तरक्रियामा बोल्दै गण्डकी प्रदेश भुमि व्यबस्था तथा कृषि मन्त्रालयका सचिव अच्यूत प्रसाद ढकालले नेपालमा खाद्यन्नको अभाव भन्दा पनि भएको खाद्यन्नको सदुपयोग हुन नसकेको भनाइ राखे ।

‘खाद्य उत्पादनको एक तिहाइ खेरा फालिरहेका छौं, अभाव होइन सदुपयोग नभएको हो’,उनले भने । ढकालले गण्डकी प्रदेश सरकार ५ वर्ष भित्र उत्पादनलाई दोब्बर गराउने योजना सहित अगाडी बढिरहेको बताए ।

कृषि क्षेत्रमा जति हुनु पर्ने हो त्यति हुन नसकेपनि केही पनि नभएको अवस्था भने नरहेको उनको भनाई थियो । गण्डकी प्रदेशमा ६४ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको बताउँदै उनले उत्पादन संगै वितरण प्रणालीलाई व्यबस्थित गर्ने योजना समेत रहेको सुनाए ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका प्रमुख गोविन्द शर्मा पौडेलले खाद्य अधिकारका सवालमा अझै पनि नागरिक सचेत बन्न नसकेको बताए । ‘कृषकले बारीबाट टिपेर ल्याएको साग नहरको पानीमा पखाल्ने प्रवृति छ यसबारे उनिहरु आफैपनि सोच्नुपर्ने होइन र’,उनले भने ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यलय पोखराका प्रमुख प्रशान्त पोखरेलले विषादीका कुराकानी बढि गर्न भन्दा पनि उपभोक्ता आफैले मौसमी खानेकुरामा जोड दिनुपर्ने बताए ।
पोखरा महानगरपालिका कृषि महाशाखाका मनोहर कडरियाले बालीमा लागत भन्दा आम्दानी कम हुने गरेका कारण गाउँगाउँका किसानहरुलाई यन्त्रीकरण प्रदान गर्ने गरेको जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशमा खाद्य अधिकारको सवाल विषयमा कार्यपत्र प्रस्ततु गर्दै राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश निर्देशक दिपक जंगध्वज कार्कीले पोषणयुक्त स्थानिय बाली बस्तुहरुको संरक्षण , उत्पादन प्रर्वद्धन र उपभोगमा प्रोत्सहानमा जोड दिए ।  उनले प्रदेश र स्थानिय तह बिच समन्वय संरचना निर्माण गरी संकटजन्य अवस्थाको लागि खाद्यन्न मौज्दात राख्ने व्यबस्था गर्न सुझाव दिए ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले खाद्य अधिकारको सवालमा आम नागरिकलाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए । उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले अनुगमनले मात्रै सबैकाम गर्न नसक्ने हुदाँ स्वयंम उपभोक्ताको सचेता हुनुपर्ने भनाइ राखे ।

शान्तिका लागी नागरिक समाजको सञ्जाल पोखराका अध्यक्ष विष्णु प्रसाद बरालले राज्यले कृषिलाई उद्योगको रुपमा बिकास गर्नुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघ सदस्य मुना बास्तोलाले राज्यले वितरण गर्ने अनुदानमा नक्कली कृषकहरुको विगविगी बढेको भन्दै बास्तविक कृषकको पहिचान गरेर मात्रै अनुदान रकम वितरण गर्न प्रदेश सरकार संग आग्रह गरिन् ।

कार्यक्रममा सहभागी नेकपाका युवा नेता सुवास मल्लले भौगोलिक अवस्था अनुरुपको खाद्य उत्पादन र उपयोगमा जोड दिनु पर्ने भनाइ राखे । ‘हामी धान भात नै मुख्य खाद्यन्न हो भनेर दौडिरहेका छौं कर्णालीमा चामल नै पुर्याउनु पर्ने अवस्था होइन त्यहाँको फापर र गहुँ पनि खाद्यन्न हुन् भौगोलिक अवस्था अनुरुपको खाद्यन्न उत्पादनका जोड दिनुपर्छ’,उनले भने ।

गण्डकी प्रदेशमा पाँच वर्ष मुनिका बालबालिकाहरु मध्य २८.९ प्रतिशतमा पुड्कोपन , ५.८ प्रतिशतमा ख्याउटेपन प्रमुख समस्याको रुपमा देखिएको छ । यस्तै १५ देखी ४९ वर्षका ४६ प्रतिशत महिलाहरुमा रक्तअल्पताको रहेको छ । विकट र दुर्गमा स्थानमा खाद्य तथा पोषण उपलव्ध गराउन चुनौती देखीएका नवलपुर, मनाङ, मुस्ताङ, म्याग्दी गोरखा र बाग्लुङ जिल्लमा कुपोषण्को दर बढी रहेको छ ।

कमेन्टहरु
Loading...