कास्कीमा अब ‘मोटरसाइकल प्रहरी’

‘हिट एण्ड रन’ अपराधी उम्कन कठिन, पहिलो शिकार ‘प्रशान्त’

पोखरा, २८ माघ ‘अपराध दुनिया’मा सबै भन्दा धेरै प्रयोग गरिन्छ–‘हिट एण्ड रन’ अर्थात ‘हान्ने र भाग्ने’ । हिट एण्ड रन प्रहरीका लागि पनि बर्षौ देखिको चुनौति बन्दै आएको छ । अपराध कर्म गर्ने र प्रहरीको आँखा छल्दै सुरक्षित सेल्टरमा पुग्ने काममा पेशेवर अपराधी माहिर हुन्छन् । चोक चोकमा कुरेर बस्ने प्रहरीलाई सहजै आँखा छल्दै सुरक्षित स्थानमा पुग्नु त्यस्ता अपराधीको शैली हुन्छ । यस्तै अपराधीलाई उम्कन नदिन नेपाल प्रहरीले मोटर साइकल गस्ती शुरु गरेको छ । कास्की जिल्लामा पनि ‘हिट एण्ड रन’ अपराधीलाई नै नियन्त्रणमा लिन मोटरसाइकल प्रहरी परिचालन गर्न थालिएको आजको समाधान राष्ट्रिय दैनिकमा खबर छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीको प्रमुखको जिम्मेबारी सम्हाल्न आए लगत्तै एसपी बसन्त लामाले मोटर साइकल प्रहरी सेवा शुरु गरेका छन् । हरेक दिन १४ वटा मोटर साइकलमा २८ जना प्रहरी पोखराका विभिन्न चोक चोक र गल्ली गल्लीमा गस्ती गर्छन । “हान्ने र भाग्ने’ अपराधी हाम्रो टाउको दुखाई बनेका थिए । साना गल्लीबाट मोटर साइकल छिराएर प्रहरीलाई छक्याउने, गाडी जान नसक्ने बाटोबाट भाग्ने गरेका कारण तत्कालै समाउन सकिदैनथ्यो ।’ एसपी लामाले भने–“अब गाडी भन्दा पहिले मोटर साइकलमा प्रहरी कुद्छन्, अपराधी सजिलै उम्कन पाउने छैन ।’

जिल्ला प्रहरी कार्यालय कास्की
जिल्ला प्रहरी कार्यालय कास्की

पछिल्लो हप्ता देखि पोखरामा नेपाल प्रहरी लेखिएका सेतो रंगका १४ वटा मोटर साइकलमा प्रहरीले गस्तै गरिरहेका छन् । जुनियर प्रहरी अधिकृत वा प्रहरी हवल्दारको कमाण्डमा रहने मोटर साइकलमा प्रहरी जवान सहयोगीका रुपमा परिचालित छन् । संचार सेट र पेस्तोल सहित परिचालित ती प्रहरीलाई अपराधीलाई पक्राउ गर्ने क्रममा आदेश लिएर गोली चलाउनेसम्मको अधिकारी दिइएको छ । “हतियार सहित परिचालित छन, आवश्यकता परेमा आदेश लिएर गोली हान्ने सम्मको अधिकार दिइएको छ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सन्तोष खड्काले भने ।

कास्की प्रहरीले मोटर साइकलमा प्रहरी परिचालन गरिए पछिको पहिलो परिणाम हात पारिसकेको छ । पोखरा मै बसेर पनि पक्राउ पर्नबाट लामो समयसम्म जोगिन सफल कास्की प्रहरीका ‘मोस्ट वान्टेड’ अभियुक्त प्रशान्त गुरुङ मोटर साइकल गस्तीको पहिलो शिकार बनेका छन् ।
मोटर साइकल गस्तीका प्रहरीले उनलाई लखेटेरै समाउन सफल भएका हुन । ‘प्रहरीलाई छक्काउदै मोटर साइकलमा भागेका प्रशान्तलाई मोटर साइकल प्रहरीले पिछा नगरेको भए पक्राउ गर्न असम्भव थियो ।’ डिएसपी खड्काले भने । मोटर साइकलले पिछा गर्न नछोडेपछि प्रशान्त मोटर साइकल हिड्न नसक्ने खेतमा पैदल भागेका थिए । पिछा गर्दै गएकाले प्रहरीले अन्तत उनलाई पक्राउ गरे ।

कमेन्टहरु
Loading...