क्रान्तिकारीले विद्यार्थी दिवस मनायो

पोखरा, १ जेठ/आज जेठ १ अर्थात विद्यार्थी दिवस । देशभर विविध कार्यक्रम गर्दै विद्यार्थी संघसंगठनहरुको यो दिवस मनाउने गर्छन । यो वर्ष जेठ २३ गते स्ववियु चुनाव हुने भएकोले पनि चुनावलाई लक्षित गर्दै विभिन्न विद्यार्थी संगठनले यो दिवस मनाएका छन् ।

पोखरामा पनि एकीकृत माओवादी निकट अखिल (क्रान्तिकारी), विद्यार्थी स्वयंसेवक परिचालन कमिटीले मार्चपासको आयोजना गरी यो दिवस मनाएको छ । बुधबार विहान पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको मार्चपास नदिपुर, पालिखेचोक हुँदै महेन्द्रपुलमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा पृथ्वीनारायण क्याम्पसमा क्रान्तिकारीका तर्फबाट सभापति पदका उम्मेदवार गोविन्द के.सीले क्याम्पसलाई विश्वविद्यालय बनाउने एजेण्डाका साथ चुनावमा जाने बताए । अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका विद्यार्थी नेता केसीले क्रान्तिकारी कै पहलमा पाँच वर्ष पछि चुनाव हुन लागेकोले उत्साहित भएर क्रान्तिकारीलाई विजयी बनाउन विद्यार्थीहरुलाई आग्रह गरे ।

कोणसभामा इन्जिनियरिङ अध्ययन संस्थान, लामाचौरमा सभापतिका उम्मेदवार गगन शाह, वन विज्ञान अध्ययन संस्थान, हरियोखर्कमा क्रान्तिकारीका तर्फबाट सभापतिका उम्मेदवार प्रकाश लिम्बुले स्ववियुमा मिश्रित प्रणालि, उमेर हद, समावेशीता क्रान्तिकारीको एजेण्डा भएकोले क्रान्तिकारीलाई जिताउन आग्रह गरे । वि.सं २०२१ साल जेठ १ गते निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष गर्दै स्ववियु खोल्न पाउने विद्यार्थीको माग पुरा भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

कमेन्टहरु
Loading...