‘२५ वर्ष कम्युनिष्ट नहुनेको दिल हुँदैन, २५ वर्षपछि दिमाग हुँदैन’

धनकुटाका आनन्दसन्तोषी राई ०२४ सालदेखि ०४८ सालसम्म कम्युनिष्ट थिए । ०४८ साल मंसिर १७ गतेदेखि नेपाली कांग्रेसमा लागेका उनी अहिलेसम्म कांग्रेसमै छन् । रामचन्द्र पौडेलको प्रशिक्षण प्रतिष्ठान एवं आदिवासी जनजाति संगठनमा आवद्ध उनी आगामी चुनावमा सूर्यबहादुर थापासँग जोरी खोज्ने पक्षमा छन् ।
जीवनको आधा उमेर कम्युनिष्टमा बिताएर आधा उमेर कांग्रेसमा खर्च गर्नुको कारण सोध्दा उनको जवाफ यस्तो छ-’ जीवनमा २५ वर्ष कम्युनिष्ट नबन्ने मान्छेको दिल हुँदैन, अनि २५ वर्षपछि पनि कम्युनिष्ट नै बनिरहने मान्छेको दिमाग हुँदैन ।’Ananda-santoshi
कम्युनिष्टको अनुभव
धनकुटाको चुङमाङमा विसं. २००१ सालमा जन्मेका राई ०२४ सालबाट कम्युनिष्ट भएका हुन् । धनकुटाको खोकुमा माष्टरी गर्ने मोहनचन्द्र अधिकारीले उनलाई कम्युनिष्ट बनाएका हुन् । ‘अधिकारीले मलाई धनकुटा कन्भेनर भनेर लेखेर दिएका थिए ।’ राईको स्मरण छ, ‘मैले मनमोहन अधिकारी, भरतमोहन अधिकारी, कमला कोइराला, नरबहादुर कर्माचार्य, शम्भुराम श्रेष्ठ, मदन भण्डारी, बासु शाक्य र मोहनविक्रम सिंहलाई समेत भेट्ने र कतिपय नेताहरुसँग संगत गर्ने अवसर पाएँ । आफू रातो झण्डा समूहको जनरल सेक्रेटरी हुँदा बासु शाक्यलाई फौजी कमान्डर बनाएको राईको भनाइ छ ।
मनमोहन अधिकारी नेकपा माक्र्सवादीको महासचिव हुँदा केन्द्रीय सदस्य रहेका राई पोलिटब्युरोमा प्रस्तावित थिए । तर पूर्वमालेसँग अधिकारीले पार्टी एकता गरेपछि राई भने मनमोहनलाई छाडेर कांग्रेसतिर लागे ।
पूर्वकोशी प्रान्तीय कमिटीमा हुँदा भरतमोहन प्रमुख जिम्मेवारीमा रहे पनि निरश बनेर विराटनगरमा कोशी ल र्फम खोलेपछि राईले भरत मोहनलाई पाई पाई हिसाब चुक्ता गर्न भनेका थिए । ‘पूर्वकोशी प्रान्तीय कमिटी कोल्याप्स भयो त्यसैले क्रियाशील हुनुपर्यो भन्दै म भरतमोहनलाई भेट्न बिराटनगर गएँ, उहाँ कोशी ल र्फम खोलेर बस्नुभएको थियो ।’ राई भन्छन्- ‘मैले भरतमोहनजीलाई तपाई सक्रिय हुनुपर्यो हैनभने हामीलाई किन पार्टीमा लगाउनुभयो, त्यसको पाई-पाई हिसाब असुल गरिनेछ भनें । आठराईका देवी उप्रेतीले चुङबाङ आएर मलाई पनि यसै भनेका थिए ।’
त्यसबेला भरतमोहनले आठराईका सूर्य कन्दङ्वा र आफूसँग माफी माग्ने बताएको सन्तोषीको भनाइ छ । ‘हामी मध्यम वर्गीय बुर्जुवा हौं, हामी केही पाइन्छ कि भनेर पार्टीमा लागेका थियौं, नपाइपछि ब्याक भयौं, तर तपाईहरु दुईजना आधारभूत वर्गाबाट आउनुभएकाले म तपाईहरुसँग माफी माग्छु ।’- राईले भरतमोहनको भनाइ यसरी स्मरण गरे । राईको सम्झनामा भरतमोहन त्यसबेला एकदमै निराश थिए । त्यही भएर उनले कोशी ल र्फम दर्ता गरेर मालपोतमा लेखन्दासको काम थालेका थिए । राईको विश्लेषणमा भरतमोहन मगन्ते राजनीति गर्ने मान्छे हो, जसले जे दिन्छ उनी त्यही थाप्छन् ।
भरतमोहनले राजनीति छाडेपछि राईले आफ्नै घरमा साथीहरुलाई बोलाएर कम्युनष्टिको भेला गरे । १६ जिल्लाका योङ्ग कम्युनष्टिहरु आए । चित्र निरौला, कुमार राई, हिमाल राई, हरेन्द्रराज जोशी, भक्त बोलना, पदम चुडाल लगायत मिलेर ०३१ सालमा उनीहरुले रातोझण्डा समूह बनाए । राई त्यसको महासचिव भए । पुष्पलाल समूह छाडेर आएका मदन भण्डारीको मुक्ति मोर्चासँग एकता गर्ने सैद्धान्तिक सहमति भयो ।
रातोझण्डा समूहले ‘इमान्दार कम्युनिष्ट’हरुसँग सम्पर्क गर्ने नीति बनायो । त्यसपछि सीपी मैनालीको कोके (कोअर्डिनेशन केन्द्र) सँग भेट्ने जिम्मा मदन भण्डारीलाई दिइयो । ०३४ सालमा मोहनविक्रमलाई सर्लाहीमा आनन्द सन्तोषीले भेटे, तर सिंहले पार्टीमा आउन भनेपछि कुरा मिलेन । त्यसैक्रममा मदन भण्डारीले ०३४ असोज ६ गते राईलाई चिठी लेखेर क्रान्तिका लागि आफ्नो समूह कोकेमा आवद्ध भएको जानकारी दिए । राई भन्छन्- ‘मदन भण्डारीले राम्रा अक्षरमा लेखेको त्यो चिठी मसित अझै छँदैछ ।’
राई आफैं कोकेमा नलागे पनि ०३५ सालदेखि कोके नेकपा माले बन्न पुग्यो । रातो झण्डाका कार्यकर्ता धमाधम मालेमा प्रवेश गर्न थाले । त्यहीबेला कुमार राई र हिमाल राई कोके प्रवशे गरे । बासु शाक्य पनि उतै लागे । कोके प्रवेश नगर्नेमा सन्तोषी, बम देवान (धरान) र राजेन्द्र चेम्जोङ (मौनाबुधुक, धनकुटा) मात्रे थिए । धनकुटाका मोपाल गुरागाईहरु पनि क्रान्ति चाँडै चाहिएको छ भन्दै उतै लागेको राई बताउँछन् । ‘मलाई गोपाल गुरागाँईहरुले नाकको प्वालमा औंलो घुसार्न खोज्दै भन्थे, तिमी गद्यार हौ ।’ राईको स्मरण छ ।
यसैवीच मञ्जुलहरुको राल्फासँग प्रभावित केटो यमनाथ बराललाई मालेले छिन्ताङ पठाएको र उसले आनन्दसन्तोषी फटाहा हो, भनेर कार्यकर्ता भड्काएको राईको भनाइ छ । ‘बराल काजमा आएको थियो, काज पुरा गर्यो हिँड्यो । त्यो भाडाको मान्छे थियो, जस्तो पनि काम गथ्र्यो ।’ राई सम्झन्छन्- ‘यमनाथ बरालसँग मेरो पछिल्लो भेट ०३६ साल कात्तिकमा कडा भूमिगत अवस्थामा पनि धनकुटा सदरमुकाममै भयो । उसले मलाई तपाई किन छिन्ताङतिर जानुहुन्छ ? बहुदलको सभा गर्नुभयो भने मोसो दलेर टीन झन्ड्याएर डाँडो कटाउँछु भन्यो । मैले मेरै घरमा मलाई मोसो हाल्ने भनेर थर्काएपछि ऊसँग मेरो भेट भएन ।’
कांग्रेस बनेपछि पलाएको दिमाग
‘म यतिबेला कम्युनिष्ट पार्टी संसारमा देख्दिन । लेनिनको पार्टी सामाजिक जनवादी थियो । ०४८ मंसिर १७ गतेसम्म मेरो आँखा खुलेको थिएन ।’ राई भन्छन्-’कम्युनिष्टहरु पवित्र हुन्छन् भनेको त अपवित्र, फोहोरी र काला हुँदा रहेछन् त्यसैले कम्युनिष्टको ब्यानर बोकेर झुक्याउनु हुँदैन भन्ने लागेर मैले कांग्रेस रोजें ।’
तर, कांग्रेसलाई त धनीको पार्टी भन्छन् नि भन्ने प्रश्नमा राई भन्छन्- ‘धनी गरीबको गरिबको पार्टी हो । यसमा गणेशमान पनि थिए, किसुनजी पनि थिए । वीपी र कृष्णप्रसाद कोइरालालाई के भन्ने ? कृष्णप्रसाद भट्टराई मगन्ते हुन् । पहिले कांग्रेस गरिबको पार्टी थियो, फकिरहरुको पार्टी थियो । क्रान्ति गरेपछि उनीहरुसँग दरबार भयो ।’
अनि कांग्रेस जनजाति विरोधी पार्टी होइन ? यो प्रश्नमा राईको दिमागले यसो भन्छ- ‘चार जात ३६ वर्ण पृथ्वीनारायणका पालाको हो, अब १ जात १ वर्ण हुनुपर्छ । अब सुम्निमा, पारुहाङ, मनु सबैका पूर्खा एउटै हो । अब धार्मिक, जातिय विभाजन हटाउनुपर्छ । अहिलेको आइटीको जमानामा १५ औं शताब्दीको जस्तो नाक छामेर राजनीति गर्ने ?’
राईको विचारमा कांग्रेस संघीयता विरोधी पार्टी पनि हैन । ७५ जिल्लालाई नै प्रदेश बनाए पनि हुने उनको तर्क छ । ‘१४ अञ्चलको प्रान्त बनाए हुन्छ । पाँचवटा विकास क्षेत्रलाई मात्रै बनाए पनि हुन्छ । कोशी, गण्डकी कर्णालीको तीनवटा प्रान्त बनाए पनि हुन्छ । त्यहाँभित्रका जातजातिलाई अटोनोमीभित्रको अटोनोमी दिए हुन्छ ।’ राईको भनाइ छ ।
सूर्यबहादुरसँग फेरि चुनाव लड्ने इच्छा
०४३ सालमा जनपक्षीय उमेद्वार बनेर धनकुटामा सूर्यबहादुर थापासँग चुनाव लगेकाराईले फेरि यसपालि धनकुटामा सूर्यबहादुरसँग चुनाव लड्न मन लागेको बताएका छन् । ‘सूर्यबहादुरजीलाई दुईपल्ट हराइयो, दुईपल्ट जिताइयो, यसमा मेरो पनि भूमिमा छ ।’ राई भन्छन्- ‘०५१ र ०५६ मा सूर्यबहादुरलाई हामीले जिताएकै हो । हामी त्यस्तै भूमिकामा बस्यौं ।’
एमालेका गोपाल गुरागाई र एमाओवादीका हरि खेवाले कांग्रेसकै कारण चुनाव जितेको उनको दाबी छ । ‘कांग्रेसकै योगदानले जिताएको हो । सूर्यबहादुरलाई हराउने कष्टमा विगतमा कांग्रेसले टीका भण्डारीलाई उठाइएको हो ।’ राई भन्छन्- ‘अब सूर्यहादुरलाई आवश्यक पर्छ भने माधव नेपाललाई जसरी मनोनयन गरे हुन्छ । तर, के नेपाली कांग्रेस सधैं उहाँको दास हो र हामीले सधैं जिताइदिनुपर्ने ? हामीले विगतमा लगाएको गुन यसपालि उहाँल हारेर तिर्नुपर्छ ।’ cp. onlinekhabar.com

कमेन्टहरु
Loading...