कन्या क्याम्पसद्वारा २ स्वर्णसहित दर्जन छात्रवृत्ति घोषणा

पोखरा, २६ जेठ/कन्या क्याम्पस नदीपुर पोखराद्वारा आगामी शैक्षिकसत्रका लागि आइतबार दुई स्वर्णपदकसहित १ दर्जन छात्रवृत्ति घोषणा गरिएको छ । क्याम्पस परिसरमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख सुरेन्द्रबहादर भारीजूले जस्तोसुकै विपन्न परिवारका छोरीले पनि शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विभिन्न दाताको सहयोगबाट छात्रवृत्तिको व्यवस्था गरेको बताए ।

कन्या क्याम्पस समुदायको सम्पत्ती भएकाले समुदायको शिक्षामा स्थापनाकालदेखि नै योगदान दिँदै आएको भारीजूले बताए । ‘कन्या क्याम्पस नाफामूखी संस्था होइन’ उनले भने ‘यहाँबाट उठेको रकम यहीको शैक्षिक पूर्वाधार र नयाँ विषय सञ्चालनार्थ खर्चं गरिँदै आएको छ ।’ पब्लिक क्याम्पसलाई राज्यले आवश्यक सहयोग गर्न नसकेको बताउँदै उनले पछिल्लो समयमा शिक्षा नाफामूखी र व्यापारिक भएको गुनासो गरे ।

क्याम्पसले कक्षा १२ वाणिज्य संकायमा सर्वाधिक अंक ल्याई उत्तीर्ण हुने १ जनालाई ‘स्व. सूर्यकुमार बज्राचार्य स्मृति स्वर्णपदक’ र स्नातक तह व्यवस्थापन संकायबाट सर्वाधिक अंक ल्याई उत्तीर्ण गर्ने छात्रालाई ‘स्व. माता शुभद्रादेवी भारीजू स्मृति स्वर्णपदक’ घोषणा गरेको छ । त्यस्तै, कक्षा १२ मा मानविकी संकायबाट संस्कृति विषय लिई सर्वाधिक अंककासाथ उत्तीर्ण विद्यार्थीलाई ‘स्व. शुभद्रमहास्थवीर संस्कृति पुरस्कार’वापत १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । कक्षा १२मा संकायगत तहमा ३ जना सर्वाधिक अंक ल्याई उत्तीर्ण विद्यार्थीलाई ‘श्री कर्णशंकर गणेशदेवी पालिखे जेहेन्दार शैक्षिक छात्रवृत्ति’वापत जनही ७ हजार रुपैयाँको छात्रवृत्ति रहेको छ ।

यसैगरी, आर्थिक अवस्था कमजोर भई अध्ययन गर्न कठिनाई भएका १ छात्रालाई ‘स्व. तिलकबहादुर भारी स्मृति पुरस्कार’मार्फत ७ हजार, ‘स्व. बाबुलाल मुनिमाया मल्ल स्मृति पुरस्कार’द्वारा ७ हजार रुपैयाँ पुरस्कार दिइने भएको छ । यस्तै, स्नातकोत्तर तहमा अध्ययन गर्ने छात्रामध्ये स्नातकतहमा सर्वाधिक अंक ल्याउने २ जनालाई सो तहमा लाग्ने सम्पूर्ण खर्च ‘स्व. निरमाया गोशली स्मृति जेहेन्दार छात्रवृत्ति’मार्फत प्रदान गरिने क्याम्पसले जनाएको छ ।

साथै, क्यापसबाट प्रत्येक संकायको तहगतमा सर्वाधिक अंक ल्याउने १ जनालाई अघिल्लो तहमा शतप्रतिशत छात्रवृत्ति, स्नातकोत्तरतहमा सर्वाधिक अंक ल्याई उत्तीर्ण गर्ने पहिलो विद्यार्थीलाई ८ र दोस्रोलाई ६ हजार प्रदान गरिनेछ । त्यस्तै, एसएलसीमा विशिष्ट श्रेणी प्राप्त गरी कक्षा ११ मा भर्ना हुने पहिलो १५ जनालाई पूर्ण र पहिलो श्रेणीमा पास भई भर्ना हुने पहिलो १५ जनालाई शिक्षण शूल्कमा सय प्रतिशत छात्रवृत्ति दिने क्याम्पसले जनाएको छ ।

 

कमेन्टहरु
Loading...