कारागारबाट भागेका कैदी अझै भेटिएनन्

प्रहरी र फरार कैदीको नाटक कहिले सम्म ?
हिमाल लम्साल
पोखरा, ८ असोज /कास्की कारागारबाट फरार कैदीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । कारागार प्रशासनको चरम लापारवाहीको फाइदा उठाउँदै कारागारमा रहेका सुरक्षाकर्मीलाई झुकाउँदै भागेका थिए । गत साउन ११ गते जवरजस्ती करणी अभियोगमा पुर्पक्षका लागी कारागारमा थुनामा रहेका कास्की सैमराङग गा.वि.स. वडा नं. ६ घर भई पोखरा १२ माटेपानी बस्ने २५ वर्षिय हेमकुमार तामाङलाई कास्की प्रहरीले फरार भएको झण्डै दुई महिना बितेपनि अझै सुईको पाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले फरार कैदी तामाङको खोजी कार्य नरोकिए पनि अझै सम्म भेट्टाउन नसकिएको स्वीकार्दै भने ‘कैदी बसेको गोप्य सूचना पाए लगत्तै एक–दुई पटक सर्च हान्यौ तर प्रहरी पुग्नु अभावै कैदी भागिसक्छ ।’

उनले भने ‘कैदीलाई पक्राउ गर्न प्रहरी सयन्त्र खटिरहेकै छ । छिट्टै पक्राउ गरेर कार्वाहीको दायरामा ल्याउनेछौं ।’ पोखरा माटेपानी बस्ने उनलाई २०६६ सालमा अभियोग लागेका तामाङलाई गत चैत २० गते देखी जवरजस्ती करणी मुद्धामा कास्की कारागारमा पुर्पक्षको लागी थुनामा राखिएको थियो । फोहोर फाल्ने बाहनामा बाहिर आएका तामाङ कारागार बाहिरको पर्खाल नाघेपछि मात्रै सुरक्षाकर्मीले चाल पाएका थिए । उनी भागे लगत्तै खोजी कार्यलाई व्यापक बनाएको बताइए पनि तामाङ अहिले सम्म प्रहरीको कठघरामा पर्न सकेका छैनन् ।kaski karagar

कैदी भागेको प्रकरणको अनुसन्धान गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी यादवराज कोइरालाले छानविन समिति गठन गर्न निर्देशन दिएका थिए । उक्त घटनाको सत्य तथ्य छानविनका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काको अध्यक्षतामा ३ सदस्यीय छानविन समितिले अनुसन्धान गरेर सात दिनभित्रै प्रतिवेदन बुझाएपनि फरार कैदी तामाङको भने प्रहरीले अझै सम्म भेट्टाउन सकेको छैन । ‘प्रहरीकै सुरक्षा कमजोरीकै कारणले कारागारबाट कैदी उम्किएको हो ।’ प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले भने ‘जीर्ण पुर्वाधारले समेत कैदी भाग्न सहज भएको देखियो ।’ सत्यतथ्य पत्ता लगाउन गठन गरिएको छानविन टोलीले कारागारमा कार्यरत सुरक्षाकर्मीको साथसाथै जीर्णपुर्वाधारको फाइदा उठाउँदै कैदी भागेको निष्कर्ष निकालेको छ ।

साथै उक्त प्रतिवेदनमा कारागारमा राखिने कैदीलाई फोहोरमैला फ्याक्न पठाइनु कारागार प्रशासनको कमजोरी औल्याएको छ ।‘कारागारको भवन तथा संरचनालाई समयाकुल आधुनिकरण नगर्दा त्यस्ता घटनाहरु आईलाग्ने गर्छन ।’ प्रहरी नायव उपरीक्षक खड्काले भने ‘राणाकालिन समयमा बनाएका कारागारहरुमा अहिले क्षमता भन्दा धेरै कैदी राख्नुपर्ने बाध्यता रहदै आएको छ ।’ सो घटना पछि सुरक्षा लापरवाही गरेको भन्दै प्रहरी नायव निरीक्षक नरहरी अधिकारीसहित तीन जना निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा सुरक्षामा खटिएका प्रहरी जवान द्धय सन्तोष राई र खड्कबहादुर साई लाई विभागीय कार्वाही बाहेक अरु केही हुन सकेको छैन ।

कारागार कार्यालय कास्कीका प्रमुख सुनिलकुमार अधिकारले कैदी फरार भएलगत्तै कारागार प्रशासनमा सुरक्षा चुस्तता बढाइएको बताए । ‘भौतिक पुर्वाधारको समस्या कायमै छ तर ठूलो संख्यामा सुरक्षाकर्मी थपेर व्यवस्थित गरेका छौं ।’ कारागार प्रमुख अधिकारीले भने‘ कारागारलाई व्यवस्थित गर्नका लागी नयाँ भवन निर्माणक्रममा छ ।’अधिकारीले भने‘ कारागारमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।’ उनले भने –‘कैदीहरुलाई कडा सुरक्षा घेरामा राखेका छौं । त्यसैले अबको दिनमा त्यस्ता कमजोरी हुने सम्भावना न्यून छ ।’छानविन समितिले दिएको सुझावहरुलाई अक्षरांक्ष पालना गर्ने कास्की कारागार प्रमुख अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...