जेठ १५ भित्र निर्वाचन गराउन चार दल सहमत

काठमाडौ, माघ २९ – प्रमुख चार दल २०७० जेठ १५ भित्र निर्वाचन गराउने गरी चुनावी सरकार निर्माणका लागि सहमति नजिक पुगेका छन् । निर्वाचन हुने सुनिश्चितताको शर्तमा दलहरु स्वतन्त्र व्यक्तिको नेतृत्वमा भएपनि चुनावी सरकार बनाउने विषयमा सहमत देखिएका छन् ।

बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्वतन्त्र व्यक्तिको नेतृत्वमा भएपनि सरकार गठन गरेर जेठ १५ भित्र निर्वाचन गराउने विषयमा दलहरुबीच सकारात्मक छलफल भएको बताए । उनले दलहरु सहमति नजिक पुगेको दावी समेत गरे ।

निर्वाचन गराउन सहमतीय सरकार गठनाका विभिन्न विकल्पमा छलफल गर्न नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुको सोमबार बिहान बैठक बसेको हो । कांग्रेस महामन्त्री कृष्ण सिटौलाले बेलुका राष्ट्रपतिसंगको भेटपछि थप कुरा प्रष्ट हुने बताए । सिटौलाले पनि दलहरु सहमति नजिक पुगेको दावी गरे । राष्ट्रपति रामवरण यादवले शनिबार नेताहरुसंगको सामुहिक भेटमा दुई दिन भित्र सहमति जुटाउन वा निर्णयका लागि विकल्पहरु दिन आग्रह गरेका थिए । साँझ ५ बजे नेताहरु राष्ट्रपति यादव भेट्ने कार्यक्रम छ ।

सहमतिको बाटो छाडेर सडक संघर्षमा पुगेका विपक्षी र सत्तारुढ गठबन्धनबीच लामो समयपछि आज औपचारिक बैठक बसेको हो । महाधिवेशन सकेर काठमाडौं फर्किएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जाने वा अन्य विकल्पमा पनि छलफल गर्न सकिने बताएका थिए ।

यता, सुशील कोइरालालाई नै प्रधानमन्त्री बनाउनुपर्ने अडानमा रहेको कांग्रेस र एमालेपनि अन्य विकल्पमा छलफल गर्न सकिने निर्णयमा पुगेको छ । एमाओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले एकैसाथ ठोस प्रस्ताव ल्याए अन्य विकल्पमा छलफल गर्न सकिने गरी विपक्षी गठबन्धन तयार भएको हो । एमाओवादीले सहमतिका लागि ल्याउने विभिन्न प्रस्तावहरुमध्ये कुनमा छलफल गर्ने निर्णय जिम्मा कांग्रेस सभपाति कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले पाएका छन् । cp. ekantipur

कमेन्टहरु
Loading...