युद्ध सकियो, पीडा सकिएन

माओवादी ‘जनयुद्ध’को उद्गम थलो रोल्पाका महिलाका लागि त्यो लडाइँ अहिले पनि जारी छ । अर्थात् युद्ध सकियो, तर पीडा कायमै छन् ।
खेमबहादुर बुढा

‘छोरा फर्कने आशमा रुँदै बसेको ११ वर्ष बित्यो, छोरा आएन,’ श्रीमान्को हत्यापछि छोरा बेपत्ता पारिएकी कोटगाउँ–४ रोल्पाकी ५७ वर्षीया मेघमाली बुढामगर भन्छिन्, ‘हामी पीडितबारे न सरकार, न त माओवादी कोही पनि भएनन् ।’ युद्धका कारण एकल हुन पुगेकी बुढामगरको आँखा अभैm ओभाएका छैनन् । मेघमालीको मात्र होइन, युद्धका बेला पति गुमाएका थुप्रै रोल्पालीको आँसु अभैm बगिरहेको छ । तत्कालीन विद्रोही नेकपा माओवादीले ०५८ सालमा पति प्रसाद बुढामगरको हत्या गरिदिएपछि विक्षिप्त बनेकी मेघमालीको जेठो छोरा हीराबहादुर बुढामगरलाई तत्कालीन शाही नेपाली सेनाले बेपत्ता पारिदियो ।

‘श्रीमान्को हत्याले रुँदै दिन बिताइरहेकी थिएँ । छोरालाई पनि सेनाले बेपत्ता बनाइदियो,’ मेघमाली भन्छिन्, ‘श्रीमान्को त शव पाएँ । छोराको त न लास छ न सास नै ।’ राज्य र विद्रोही दुवै पक्षबाट पीडित भएकी उनले शान्तिप्रक्रियापछि पनि कसैले न्याय नदिएको गुनासो पोखिन् । घरैबाट आफ्नो पतिलाई पक्राउ गरी लगेका माओवादीले पतिको हत्या गरी नजिकैको खोलामा फ्याँकिदिएका थिए । ‘राति बन्दुक पड्केको आवाज आयो । बिहानपख गाउँलेले खोलामा लास छ भनेपछि हेर्न गएँ,’ मेघमालीले गहभरि आँसु छचल्काउँदै भनिन्, ‘जाँदाखेरि मृत अवस्थामा खोलामा मेरै श्रीमान्को लास पल्टिएको भेट्टाएँ ।’ श्रीमान्को हत्यालगत्तै ०५९ सालमा जेठो छोरालाई घोराही ब्यारेकका सेनाले गिरफ्तार गरी बेपत्ता बनाएको थियो ।

जनयुद्धको बेलाका तस्वीर
जनयुद्धको बेलाका तस्वीर

घोराहीमा अध्ययनरत भाइलाई भेट्न गएका हीरा बेपत्ता भएका थिए । ‘ब्यारेकको जेलमा छ भन्ने सुनेर भेट्न गएँ । यहाँ छैन भनेर फर्काए सेनाले,’ मेघमाली भन्छिन्, ‘शान्तिप्रक्रिया सुरु भएपछि छोरा आउने आशा पलाएको थियो, अहिलेसम्म पनि आएन ।’ ‘२३ वर्षकै उमेरमा जीवनसाथीको हत्या भयो,’ थवाङ–६ रोल्पाकी पूर्णकुमारी रोकामगरको आँखाको डिलसम्म आँसु छचल्कियो, ‘त्यतिबेला छोरी दुई महिनाकी थिई । यसलाई कसरी हुर्काइरहेकी छु भन्ने मलाई मात्र थाहा छ । श्रीमान् नहुँदाको अभावमय जीवन बाँच्नुको पीडा मसँग मनग्य छन् ।’ श्रीमान् लालमणि रोकामगरलाई ०५९ वैशाखमा सेनाले हत्या गरिदिएपछि एकलजीवन बाँचिरहेको रोका बताउँछिन् । श्रीमान्को हत्याको शोकमा डुबेकै बेला ०५९ भदौमै पूर्णकुमारीका ससुरा दुटे रोकामगरलाई पनि सेनाले हत्या गरिदिएपछि उनको परिवार थप शोकमा प¥यो । उनकी छोरी अहिले ११ वर्षकी भइन् । श्रीमान् र ससुरा गुमाएपछिको घर–व्यवहार चलाउन हम्मेहम्मे भएको उनी बताउँछिन् ।

ससुरा र पतीको हत्या भएपछि उनकीे सासू र पूर्णकुमारी एकल हुनुप¥यो । एकल सासूसँगै दुःख–सुख जिउँदै आएकी उनी सासूले समेत छोडेर गएपछि थप शोकमा छिन् । ७० वर्षीया सासू सिर्जना रोकामगरको ०६९ जेठमा मृत्यु भयो । सासूको मृत्युपछि पूर्णकुमारी छोरीको एक्लो अभिभावक भएकी छिन् । उनकी छोरी कक्षा ६ मा अध्ययन गर्दै छिन् अहिले । छोरीकै स्याहारसुसार र भविष्यका लागि उनले गाउँमै सङ्घर्ष गरिरहेकी छिन् । विगतको सशस्त्र युद्धका बेला पति गुमाएका मेघमाली र पूर्णकुमारीका पीडा हिजोका युद्धका प्रतिनिधि कथा हुन् । द्वन्द्वका क्रममा रोल्पामा राज्य र विद्रोही पक्षबाट एकल भएका थुप्रै पूर्णकुमारीले कष्टपूर्ण जिन्दगी जिउनु परिरहेको छ । धवाङकी तुला वलीको पनि युद्धकै बेला सिन्दुर पुछियो । तत्कालीन विद्रोही नेकपा माओवादीले उनको श्रीमान्लाई अपहरण गरी बेपत्ता बनाइदिए । वली अहिले लिवाङमा नास्ता पसल चलाएर बालबच्चा पढाउँदै छिन् ।

थवाङकी मुलसरी घर्तीमगरले छोरी गर्भमै भएको वेला कलिलो उमेरमै आफ्नो पति गुमाएकी थिइन् । सहिदपत्नी उनी अहिले माइतीमा बस्दै आएकी छिन् । ‘पतिको हत्यापछि छोरीको मुख हेर्दै चित्त बुझाइरहेको बेला चार वर्षको उमेरमै छोरीको पनि मृत्यु भयो,’ घर्तीमगर भन्छिन्, ‘घरमा कोही छैन । सहाराविहीन भएर माइतीमा बसेर दुःखका साथ बाँचिरहेकी छु ।’ युद्धमा श्रीमान् गुमाएका रोल्पाका एकल महिला अहिले कष्टमय जीवन बाँचिरहेका छन् । ‘युद्धपीडित उनीहरूले न्याय पाउने त कुरै छाडौँ उल्टो सामाजिक रूपमा वञ्चितीकरणमा परेको अवस्था छ,’ मानवअधिकारवादी संस्था हरप्लेसका तालिम अधिकृत धनराज विक भन्छन् । पति गुमाएपछि घरको सबै जिम्मेवारी उनीहरूले निर्वाह गर्दा कठिनाइ भएको छ । नेपाल सरकारले दिएको तीन लाख रुपैयाँ घरखर्च गर्नमै सकिने गरेको छ ।

अधिकांश एकल महिला आर्थिक अभावले छटपटाइरहेका छन् । जसले बालबालिकाको शिक्षामा असर परेको छ । ‘देशमा अस्थिर राजनीतिक अवस्था लम्बिँदै गएको छ । सङ्क्रमणकाल, दण्डहीनता, कानुनको पूर्ण कार्यान्वयनको अभाव र बढ्दै गएको सामाजिक असुरक्षाले एकल महिलाको जीवनमा गहिरो असर परिरहेको छ,’ महिला मानवअधिकारका लागि एकल महिला समूह रोल्पाकी अध्यक्ष तुलसा आचार्य भन्छिन्, ‘उनीहरूलाई सीपमूलक तालिम दिएर आयआर्जनमा सघाउन सरकारले पहल गर्नुपर्छ । समाजमा हुने विभेदबाट मुक्त गर्नुपर्छ ।’ राजनीतिक दलहरूको पीडितप्रतिको गैरजिम्मेवारपनले एकल महिलालाई थप पीडित बनाएको छ ।

युद्ध सकिए पनि पीडितको मनमा अमनचयन आएको छैन । राज्यको बेवास्ताले पतिको बलिदान र रगत फगत भएको महसुस गरिरहेका छन् उनीहरू । युद्धमा पति मारिए पनि सरकारले हेर्ला भन्ने आश थियो । छोराछोरीले पढ्न पाउलान् भन्ने आश थियो । दल र सरकारबाट केही हुन्छ भन्ने थियो यहाँका द्वन्द्वपीडित एकल महिलामा । ‘अँहँ, उल्टो भयो सबै अपेक्षा,’ एकल महिला सीता केसी भन्छिन्, ‘श्रीमान् मारिएपछि उनीहरू बारी र खेतमा हलो जोत्न विवश छन् । खेतबारी जोतेको, छोराछोरी पढाए–नपढाएको, चाडपर्वमा रमाएको या रोएको केही चिन्ता भएन नेता र सरकारलाई ।’

जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार युद्धका बेला रोल्पामा एक हजार ८४ जना मारिएका थिए । तीन हजार ६ सय ८० जना विस्थापित भएका थिए । एक सय तीनजना बेपत्ता भए र दुई सय २६ जना बालबालिका टुहुरा हुन पुगे । हरप्लेसको तथ्याङ्कअनुसार युद्धका कारण रोल्पामा तीन सय ६८ जना महिला एकल भएका छन् । अहिले उनीहरूमध्ये धेरै कष्टप्रद जीवन बिताइरहेका छन् । जेलवाङ गाविसमा द्वन्द्वको बेला सबैभन्दा बढी ७३ जना मारिएका थिए । त्यसैगरी गाम गाविसमा २२, उवामा १३, थवाङमा ११, धवाङमा ११, लिवाङमा १३, कोटगाउँमा ८, जंकोटमा १३, कोर्चावाङमा ९, घर्तीगाउँमा ११, भावाङमा १३ मारिएका थिए । श्रीमान् मारिएपछि एकल हुन पुगेकाहरू अहिले पनि वियोगले थलिएका छन् ।

पति मृतक र बेपत्ता पारिएबापत जनही तीन लाख जिल्ला प्रशासन कार्यालयमार्पmत रोल्पाका तीन सय २३ एकल महिलालाई वितरण गरिएको छ । १० लाख वितरण गरिने नेपाल सरकारले घोषणा गरे पनि बाँकी सात लाख अभैm नपाएको जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी धनबहादुर केसी बताउँछन् । जीविकोपार्जनमा सघाउ पु¥याउन जिल्ला विकास समितिले द्वन्द्वपीडित एकल महिलालाई एकमुष्ट जनही २५ हजार उपलब्ध गराएको स्थानीय विकास अधिकारी हीरालाल रेग्मी बताउँछन् । सरकारी निकायबाट दिइएको रकम परिचालन र उपयोग नभई घरायसी खर्चमै एकल महिलाले सकाउने गरेका छन् ।
तस्वीर ः फेसबुकबाट लिएको हो  (सञ्चारिका फिचर सेवा)
(खेम अन्नपूर्ण पोष्ट दैनिकका रोल्पा संवाददाता हुन्)

कमेन्टहरु
Loading...