जनजातिको अधिवेशन कि पाँच दलको ?

३० बैशाख, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघलाई स्वतन्त्र जातीय संस्था मान्ने गरिएको छ । तर, चितवनको सौराहामा जारी आठौं महाधिवेशनमा एमाओवादी, कांग्रेस, एमाले, वैद्यपक्षीय माओवादी र अशोक राईको संघीय समाजवादी पार्टीका नेताहरुको हस्तक्षेपकारी भूमिका देखिएपछि महासंघ राजनीतिक दलहरुको झुम्राको पुतलीजस्तो बनेको छ । 

नेतृत्व चयनमा सहमतिका लागि भन्दै एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन, नेपाली काङग्रेसका नेता इन्द्रबहादुर गुरुङ, नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ, वैद्यपक्षीय माओवादीका सुरेश आलेमगर र सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पा तीन दिनदेखि सौराहामै बसेर आफ्नो पक्षको मान्छेलाई नेतृत्वमा ल्याउन हानाथाप गरिरहेका छन् । यसबारे नेताहरुले आइतबार दिनभरि छलफल गरे पनि सहमति हुन नसकेपछि नयाँ नेतृत्वका लागि सोमबार मतदानमा जानैपर्ने अवस्था देखिएको छ । महाधिवेशनले सोमबार नयाँ नेतृत्व चयन गर्दैछ ।

अध्यक्ष पदका लागि पाँचजनाको उम्मेद्वारी पर्ने निश्चित भएको छ । अध्यक्ष पदका प्रत्यासीहरूमा नरेश ताम्राकार, चन्द्रविक्रम राई, पेमाछिरी शेर्पा, नागेन्द्र कुमाल र नित्यानन्द ताजपुरिया देखिनुभएको छ । यसैगरी महासचिवका लागि गोविन्द छन्त्याल, डन्डु शेर्पा, नवीन रोक्का, पेम्बा भोटे, ज्ञानबहादुर बोटे र बुद्ध घर्तीको नाम चर्चामा छ । त्यस्तै पाँच उपाध्यक्षका लागि अहिलेसम्म शान्ति जिरेल, यशोकान्ति भट्टचन र चिनिमाया माझी गरी तीन जनाको नाम सार्वजनिक भएको छ ।

यसैगरी सचिव पदका लागि अहिलेसम्म यमन चेपाङ एकजनाको मात्रै दाबी देखिएको छ । आइतबारदेखि सुरु भएको बन्दसत्रले महासचिव आङकाजी शेर्पाको कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष डन्डु शेर्पाको आर्थिक प्रतिवेदन पारित गरिसकेको छ । नयाँ नेतृत्व चयनपछि आदिवासी जनजाति महासङ्घको महाधिवेशन सौरहा घोषणापत्र जारी गर्दै सोमबार  सकिने छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...