आजदेखि टेलिकमको इन्टरनेट महशुल घट्यो

नविन अर्याल/३ जेठ, काठमाडौं । इन्टरनेट प्रयोगकर्ताहरुलाई खुसीको खबर छ । नेपाल टेलिकमले आजदेखि डाटा (इन्टरनेट) प्याकेजहरुको महशुलमा कटौती गरेको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारी टेलिकमले महशुलमा कटौती गरेको हो । सर्वसाधारणको पहुँचसम्म इन्टरनेट सेवा पुर्‍याउन महशुलमा कटौती गरेको टेलिकमले जनाएको छ ।

पछिल्लो समय इन्टरनेट प्रदायक संस्थाहरुको बीचमा तिब्र प्रतिस्पर्धा हुँदै जान थालेपछि उपभोक्ताहरु लाभान्वित बनिरहेका छन् । निजी क्षेत्रका इन्टरनेट प्रदायक संस्थाहरुसँग कडा प्रतिस्पर्धामा उत्रिनुपरेको नेपाल टेलिकमले आफ्नो उपस्थिति बलियो बनाउन महशुलमा भारी कटौती गर्दै आएको छ ।

महशुल घट्दा उपभोक्ता खुसी

सरकारी स्वामित्वमा रहेको संस्थाले पनि सेवाका नाममा उपभोक्ताबाट चर्को शुल्क अशुलिरहेको भनेर चर्को आलोचना हुँदै आएको थियो । टेलिकमको इन्टरनेट प्याकेजहरुमा महशुलमा कटौती गर्ने निर्णयको उपभोक्ताले स्वागत गरेका छन् । टेलिकमले महशुल घटाउनुका साथै गुणस्तमा समेत सुधार गर्नुपर्ने आम सर्वसाधरण उपभोक्ताको माग रहेको छ ।

टेलिकमले डायलअप, आईएसडिएन डायल अप, नाइट सफिर्ङ, एडिएसएल र वाइम्याक्स, इन्टरनेट लिज कनेक्टिभिटी, थ्रिजी, इभिडियो, लगाएतका प्याकेजहरुमा शुल्क घटाएको छ । टेलिकमले एडिएसएल र वाइम्याक्स सेवामा उपलब्ध भोल्युम बेस्ड प्याकेजमध्ये कुनै पनि प्याकेज एकमुष्ट ३ महिना वा सो भन्दा बढी समयका लागि खरिद गर्ने ग्राहकहरुलाई ३ महिनाको भोल्युमका लागि थप ४० प्रतिशत डाटा भोल्युम बोनसका रुपमा उपलब्ध गराउने जनाएको छ ।

वाइम्याक्सको अनलिमिटेड प्याकेजतर्फ २५६ केबीपिएस डाटामा पहिलो ३ महिनाको लागि ३० प्रतिशत छुट उपलब्ध गराउने टेलिकमले बताएको छ । अहिले २५६ केबीपिएस डाटाको मासिक १५ सय रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, दुई एमबीपिएस स्पिडको डाटा प्याकेज टेलिकमले ९ हजार ३ सय रुपैयाँमा उपलब्ध गराउने भएको छ । तत्काललाई यो सेवा शैक्षिक संस्था, अस्पताल, सरकारी तथा अर्धसरकारी संस्था, वित्तीय संस्था र कुटनीतिक नियोगलाई मात्र उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

एक एमबीको ५० पैसा

इभिडियो र पिडिएसएन सेवाको विद्यमान महशुल दर सय केबीको १० पैसालाई परिमार्जन गरेर प्रति एमबीको ५० पैसा कायम गरेको छ । त्यस्तै, थि्रजी र जिपिआएस सेवामा नयाँ महशुल दर कायम गर्न थप आन्तरिक गृहकार्य गर्नुपर्ने भएकाले लागु हुने मिति पछि सार्वजनिक गर्ने टेलिकमका सहायक प्रवक्ता राजेश जोशीले बताउनुभयो ।

टेलिकमले थ्रिजी र इभिडियो सेवाको भोल्युम बेस्ड प्याकेजमा ३ महिनाका लागि एकैपटक खरिद गरेमा १० प्रतिशत, ६ महिनाका लागि १५ प्रतिशत र एक वर्षर्का लागि २५ प्रतिशत छुट दिने भएको छ । टेलिकमले २५ एमबी डाटा एक दिनमा खर्च गरे ११ रुपैयाँ र १० जिबी डाटा एक महिनामा खर्च गरे २४ सय रुपैयाँ मात्र शुल्क लिने जनाएको छ

– See more at: http://www.onlinekhabar.com/2013/05/71768/#sthash.cTQCtLv8.dpuf

कमेन्टहरु
Loading...