भारती प्रधानमन्त्री मोदी वैशाख २८ जनकपुर आउने, मुक्तिनाथ दर्शन गर्न मुस्ताङ जाने

काठमाडौं, १८ वैशाख /भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भ्रमणका क्रममा वैशाख २८ गते हेलिकप्टरमा सिधै जनकपुर आउने भएका छन् । मोदीको भ्रमण तयारीको निरीक्षण गर्न मंगलबार जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापाले मोदी काठमाडौं नगई सिधै हेलिकप्टरबाट जनकपुर आउने बताए ।

मोदीले जानकी मन्दिरमा पूजाअर्चना गर्ने र नागरिक अभिनन्दन हुने छ । बिहारको पटनासम्म हवाइजहाजमा आउने मोदी त्यहाँबाट हेलिकप्टरमा जनकपुर कार्यक्रम रहेको गृहमन्त्री थापाले जानकारी दिए । हेलिकप्टरबाट बाह्रबिगामा ओर्लिएका मोदीलाई एक जना मन्त्रीले स्वागत गर्नेछन्। त्यसपछि मोदी जानकी मन्दिरमा जाने छन्।

त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच भेट हुनेछ। बालुवाटार स्रोतका अनुसार पूजा सकेपछि ओली र मोदीले रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसपालिको भ्रमणमा मोदी मुक्तिनाथ पनि जाने कार्यक्रम रहेको थापाले बताए। थापाले मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट गरे।

यसअघिको भ्रमण पनि मोदी स्थलमार्गबाटै जनकपुर आउने चर्चा थियो। तर अन्तिम समयमा उनी जहाजबाट काठमाडौं ओर्लिएका थिए। त्यतिबेला पनि मुक्तिनाथ जाने कार्यक्रम भएपनि विभिन्न कारणले रोकिएको थियो। एजेन्सी सहयोगमा

कमेन्टहरु
Loading...