आईसीसी वर्ल्ड क्रिकेट, नेपाल ८ विकेटले विजयी

भाद्र १९ / नेपालले मलेसियामा भइरहेको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ४ मा लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले मंगलबार दोस्रो खेलमा तान्जानियालाई ८ विकेटले सहजै हरायो । नेपालले सोमबार पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो । कप्तान पारस खड्काले छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका हुन् । तान्जानियाले दिएको ८३ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १९ ओभर ४ बलमा पूरा गयो ।

नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक नटआउट २८ रन जोडे । सुवाष खकुरेलले २० रन बनाए । पारसले १० बलमा दुई चौका र एक छक्काको मदतले १५ रन जोडे । अनिल मन्डलले ९ रन बनाए ।

यस अघि नेपालले उत्कृष्ट बलिग गरेपछि तान्जानिया सस्तैमा समेटिएको थियो । पारसले ४, बसन्त रेग्मीले ३ र विनोद दासले २ विकेट लिएपछि तान्जानिया ३१ ओभर ४ बलमा ८२ रनमै समेटिएको थियो । थप एक विकेट शक्ति गौचनले लिएका थिए ।

यो जितले नेपालको फाइनल पुग्दै डिभिजिन ३ मा उक्लने लक्ष्मलाई सहज बनाएको छ । अब नेपालले बिहीबार मलेसियाको सामना गर्ने छ ।

कमेन्टहरु
Loading...