‘मधुमास स्पट’ बन्दै पोखरा

मनोज घर्तीमगर
विवाह गर्नुभएको छ र जोडी बनेर ‘हनिमुन’ मनाउन कतै जाने सोचमा हुनुहुन्छ भने तपाईंका लागि पोखरा सही गन्तव्य बन्न सक्छ । पोखराका तालतलैया, आकर्षक हिमाल, रहस्यमय गुफा अनि सफा र शान्त वातावरणले तपाईँको ‘हनिमुन ट्रिप’ रमाइलो, सुखद् र स्मरणीय बनाउन सक्छ । फेवातालमा घण्टौंसम्म बोटिङ गर्दाको आनन्द, सराङकोटबाट देखिने माछापुच्छे र अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्य, रहस्य लुकेका महेन्द्र, चमेरे र गुप्तेश्वर गुफाभित्रका आकृति, अनौठो डेभिज फल्स यहाँका लोभलाग्दा भ्रमणस्थल हुन् ।

बन्जी जम्प, प्याराग्लाइडिङ, पावर ग्लाइडर गर्न चाहनेका लागि पोखरा पहिलो रोजाइ हो । पोखरा आसपासका गाउँपिच्छे खोलिएका होमस्टेमा गएर पनि हनिमुनको मजा लिन सकिन्छ । ‘सुनेको पोखरा र देखेको पोखरामा आकाश जमिन फरक पायौँ, सुनेकोभन्दा देखेको धेरै राम्रो भयो,’ असोजमा वैवाहिक जीवन सुरु गरेर पोखरा हनिमुन मनाउन दाङबाट आएका शेरबहादुर केसीले भने, ‘अब मंसिरमा थुप्रै साथीहरुको बिहे हुँदैछ । उनीहरुलाई पहिलो सिफारिस नै पोखराको गर्नेछु । हामीले बोटिङ गर्नेदेखि सूर्योदय हेर्न सराङकोटसम्म पुग्यौं । बञ्जीको मजा पनि लिन पाइयो । जे खोज्यो, त्यही पाउने ठाउँ रहेछ पोखरा ।’

पोखराको सराङकोटबाट अन्पुर्ण, माछापुच्छे, हेम्जा लगाएत । तस्विर ः सागर राज तिमिल्सिना
पोखराको सराङकोटबाट अन्पुर्ण, माछापुच्छे, हेम्जा लगाएत । तस्विर ः सागर राज तिमिल्सिना

फेवातालमाथि रानी वनको शिखरमा रहेको शान्ति स्तूप अनि सात तालको सहरका रुपमा परिचित लेखनाथको बेगनास र रुपा लगायतका ताल यहाँका थप आकर्षण हुन् । यी र यस्तै आकर्षक प्राकृतिक सुन्दरताको धनी पोखरा ‘हनिमुन स्पट’ को रुपमा विकसित भइरहेको छ । नवविवाहित जोडीको लागि पोखरा आकर्षकस्थल बन्दै गएको छ । विवाह पछिका सुरुका दिन बिताउन पोखरा घुम्न आउने जोडी यहाँको शान्त वातावरण र आकर्षक दृश्य देखेर मन्त्रमुग्ध हुने गर्छन् । ‘डुंगामा सयर गर्दागर्दै बोर लागेमा ढुंगा छेउ लगाएर पारि रानीवनमा गए पनि भयो,’ हनिमुन मनाउन फेवातालमा आएका तनहुँका सन्तोष घिमिरेले भने, ‘पोखरा हनिमुनका लागि यति मिलेको ठाउँ छ, भनिसाध्य छैन । त्यसमा फेवाताल त सबैको रोजाइ हुने नै भयो ।’

प्राकृतिक सुन्दरता, स्वच्छ हावापानी, शान्त र खुला वातावरणका कारण पोखरामा जुनसुकै समय स्वदेशी तथा विदेशी हनिमुन जोडी घुमिरहेका भेटिन्छन् । यहाँ जाडो र गर्मी छल्न अनि बिबाहपछि हनिमुन मनाउन आउने भारतीय जोडीको संख्या ठूलो छ । काठमाडौँ, चितवन, विराटनगर, बुटवल लगायतका ठाउँबाट पनि धेरै नेपाली जोडी हनिमुन मनाउन आउने गरेको व्यवसायी बताउँछन् । पोखराकै भएर पनि अम्बर सुवेदीले पोखरा र आसपासलाई रोजे हनिमुनका लागि । ‘पोखरा, धम्पुस र बन्दिपुरमा हनिमुन मनाइयो,’ कलाकार समेत रहेका अम्बरले भने ।

घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु
घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु

हनिमुनका लागि पोखरा आउँदा कम्तिमा दुई दिनको समय भने छुट्याउनुपर्छ । पोखराका रमणीय स्थलहरु घुम्दाघुम्दै दुई दिनको समय बितेको पत्तै हुँदैन । कतिपयले यहाँ आएपछि आफ्नो बसाइ लम्ब्याउने गरेका छन् । बेगनास र रुपा ताल घुम्न लेखनाथ जाने हो भने र शान्ति स्तुप पनि घुम्ने हो भने थप एक दिन बस्नैपर्ने हुन्छ । ‘हामीलाई पोखराको बसाइ साह्रै रमाइलो लाग्यो,’ ललितपुर नखिपोटबाट हालै वैवाहिक जीवनमा प्रवेश गरेर हनिमुन मनाउन पोखरा आएका राजुप्रताप जोशीले भने, ‘यहाँको प्राकृतिक सुन्दरता त जति घुमे पनि नअघाइने रहेछ ।’

असारको अन्तिमसाता वैवाहिक बन्धनमा बाँधिएको जोशी जोडीलाई कार्यव्यस्तताले हनिमुन मनाउन करिब चार महिना महिना कुर्नुप¥यो । नवदुलहीलाई लिएर पोखरा आएको यो जोडी सुरुमा दुई दिनका लागि भनेर आए पनि पछि थप दुई दिन बसेर फर्किएको छ । ‘दुई दिन त बितेको पत्तै भएन,’ फेवातालमा भेटिएका राजुप्रतापले भने, ‘पोखरा घुम्न त कम्तिमा ३÷४ दिनको समय लिएर आउनुपर्ने रहेछ ।’ उनले आफ्नी जीवनसंगिनीसँग फेवातालमा बोटिङ गरेको, सराङकोटबाट सूर्योदय र मनोरम हिमाल हेरेको, यहाँका अनौठा गुफाभित्र घुमेको कहिलै नबिर्सने बताए । ‘हाम्रो हनिमुन ट्रिप साँच्चैको स्मरणीय भयो,’ उनले भने, ‘मैले त मेरा साथीलाई पनि हनिमुन मनाउन पोखरा नै जाने सल्लाह दिने भएको छु ।’

himal khula ko पोखरामा झ्म्मै हिमाल खुले पछि
पोखरामा झ्म्मै हिमाल खुले पछि

हनिमुनका लागि पोखरा आउने राजुप्रताप जस्तै नवजोडीका लागि यहाँका होटलले बेलाबेला विशेष छुटको अफर ल्याउँछन् । हनिमुन जोडीलाई यो राम्रो अवसर हो । एक त यहाँको रमणीय वातावरण त्यसमा होटलहरुले दिने छुट, यसले नवजोडीलाई पोखरा घुम्न झन् उक्साएको छ । ‘नवविवाहित जोडीलाई मंसिर महिनामा हनिमुन प्याकेजका रुपमा विशेष छुट दिने गरेका छौँ,’ लेकसाइडको बाराहीचोकस्थित स्नोल्यान्ड होटलका प्रबन्धक निर्देशक गणेशबहादुर थापाले भने । स्नोल्यान्डले आन्तरिक पर्यटकका लागि धौलागिरि, माछापुच्छ«े, जोमसोम र मुक्तिनाथमा प्याकेज बनाएको उनले बताए ।

जसअनुसार शुल्क पनि भिन्दाभिन्दै छ । होटलहरुले कोठामा विशेष सहुलियत दिए पनि खानामा भने कुनै छुट दिँदैनन् ।प्याकेजअनुसार बस्ने पाहुनाले सुविधा पनि फरक–फरक उपभोग गर्न पाउँछन् । होटलले पर्यटकको चाहनाबमोजिम विभिन्न रमणीय स्थलको घुम्ने सुविधासमेत उपलब्ध गराउँछन् । हल्लनचोकस्थित होटल ‘पिस प्लाजा’का सञ्चालक भरत पराजुलीले आफ्नो होटलमा हरेक महिना हनिमुन जोडी नटुट्ने बताए । पहिला–पहिला विदेशी जोडी मात्र हनिमुन मनाउन पोखरा आउने गरेकामा अहिले नेपालीहरुमा पनि हनिमुन मनाउने प्रचलन बढेको पराजुलीले बताए । ‘अहिले नेपाली युवा पुस्तामा पहिले नेपाल चिन्नुपर्छ भन्ने भावना विकास भएको छ,’ पराजुलीले भने, ‘नेपाली हनिमुन जोडीको बढ्दो पोखरा आगमन त्यसैको उपज हो ।’

कहाँ कहाँबाट आउँछन् ?
हनिमुनका लागि पोखरामा आन्तरिक मात्र नभई भारतका जोडीसमेत आउने गरेको व्यवसायीको भनाइ छ । आक्कलझुक्कल तेस्रो मुलुकका जोडीहरु पनि आउने गरेका छन् । ‘पहिला–पहिला भारतीय जोडी बढी हुन्थे,’ स्नोल्यान्ड होटलका प्रबन्ध निर्देशक गणेशबहादुर थापाले भने, ‘आजकल नेपालीहरु बढी हुन थालेका छन् । जोडीहरु हाम्रो होटलमा प्रायः छुट्दैनन् ।’

himal khula ko पोखरामा झ्म्मै हिमाल खुले पछि
himal khula ko पोखरामा झ्म्मै हिमाल खुले पछि

काठमाडौं, चितवन, विराटनगर, बुटवल, नेपालगञ्ज, धरान, इलाम, धनगढी, दाङ, भरतपुर, झापा लगायतका ठाउँबाट नवविवाहित जोडी हनिमुन मनाउन पोखरा आउने गरेको व्यवसायीहरु बताउँछन् । उनीहरुको बसाइ दुईदेखि चार रातसम्म हुने गर्छ । जाडो महिनामा दृश्यावलोकन राम्रो हुने भएकाले गर्मीभन्दा जाडो सिजन हनिमुनका लागि उपयुक्त हुने व्यवसायीको भनाइ छ । विशेषगरी मंसिरदेखि फागुनसम्म नवविवाहित जोडी धेरै आउने गरे पनि बाह«ै महिना यस्ता जोडी आउने गरेको होटल व्यवसायी सुनाउँछन् । उनीहरुको भनाइमा हनिमुन मनाउन आउने जोडीमा अधिकांश जागिरे हुन्छन् । ‘व्यवसाय गर्नेदेखि सबैखाले पेसाका जोडी यहाँ आउँछन्,’ होटल ट्रेक एन्ड क्लाइम्बका संचालक सोम थापाले भने, ‘सिजनमा त एक÷दुई जोडी नभएको दिन नै हुँदैन ।’

कति खर्च लाग्छ ?
हनिमुन आउँदा निर्विकल्प रुपमा लेकसाइडकै होटल पुग्छन् । लेकसाइड स्वदेशी तथा विदेशी पर्यटकको केन्द्र हो । यहाँका प्रायः होटलबाट फेवाताल र हिमालको मनोरम दृष्य देखिन्छ । आफ्नो खल्ती हेरेर यहाँ महँगोदेखि सामान्य दरका होटलमा बस्न सकिन्छ । सामान्य सुविधादेखि डिलक्स रुम भएका होटलहरु यहाँ प्रश्स्त छन् । लेकसाइडका होटलले सुविधाअनुसार फरकफरक शुल्क निर्धारण गरेका छन् । बाहिरी मुलुकका भन्दा आन्तरिक पर्यटकलाई शुल्कमा केही सहुलियत दिएका छन् । त्यसमा पनि प्याकेजअनुसार शुल्क निर्धारण गरेर विशेष सुविधा समेत दिँदैआएका छन् ।

एट्याच वाथरुम, टेलिभिजन, तातोपानी भएको कोठामा बस्न एक हजार पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म तिरे पुग्छ । बाथ टब, एसी लगायत अन्य सुविधा भएका कोठाका लागि भने तीन हजारदेखि ५ हजार रुपैयाँसम्म पर्छ । यस हिसाबले दुई रातको बसाइका लागि होटल खर्च पाँच हजारदेखि १० हजार रुपैयाँसम्म छुट्याए पुग्छ । हनिमुन मनाउन आउने जोडी घुम्नमै व्यस्त हुने भएकाले अधिकांशले बाहिरका होटल तथा रेस्टुराँमा खाना–खाजा खाने गर्छन् । यसो गर्दा एक छाक सामान्य खानाको तीन सयदेखि चार सय ५० रुपैयाँसम्म पर्छ । यहाँको प्रख्यात थकाली खाना खाने हो भने एक छाकको तीन सयदेखि ५ सय रुपैयाँसम्म लाग्छ ।

यस्तै डुंगा चढेर ताल बाराही मन्दिर जान प्रति व्यक्ति ८० रुपैयाँ तिरे पुग्छ । डुंगा भाडामा लिएर एकघण्टा ताल घुम्ने हो भने दुई हजार रुपैयाँसम्म लाग्छ । रमणीयस्थल घुम्न लेकसाइडमा भाडाका ट्याक्सी तथा मोटरसाइकल पनि उपलब्ध हुन्छन् । डेभिज फल्स र गुप्तेश्वर गुफासँगै रहेकाले एउटै ट्याक्सी खर्चमा दुवै ठाउँ घुम्न सकिन्छ । ट्याक्सीका लागि आपसी सहमतिमा भाडा तिर्नुपर्छ । दिनभर सबै भ्रमणस्थलको घुम्ने एउटै ट्याक्सी भाडामा लिने हो भने करिब तीन हजार रुपैयाँ पर्छ । (मनोज घर्तीमगरले नागरीक दैनिकले प्रकासन गर्दै आएको परिवार मासिकका लेखेको खबर नागरिकन्युज डटकमबाट साभार)

कमेन्टहरु
Loading...