मानवअधिकार रक्षकको अधिकार सम्बन्धी अनुशिक्षण

कास्की । चैत २२ गते/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा मानवअधिकार रक्षकको अधिकार सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका बहस, पैरवी कार्यक्रम प्रमुख सम्झा श्रेष्ठले मानवअधिकार रक्षकहरुको अधिकार बारेमा सहजीकरण गर्दै मानवअधिकार रक्षकहरु मानवअधिकारको सर्वव्यापकता स्वीकार गर्ने, शान्तिपूर्ण कदम चाल्ने, पीडित केन्द्रीत, आधारभूत कानुन र राजनीति बारे जानकारी हुनु पर्ने बताईन् ।

त्यसैगरी इन्सेक केन्द्रीय कार्यालय बहस, पैरवी अधिकृत निर्मल उप्रेतीले मानवअधिकारको आधारभूत अवधारणा, विकासक्रम र मानवअधिकार रक्षकको अधिकार सम्बन्धी संरक्षण व्यवस्था र संयन्त्रहरुको बारेमा सहजीकरण गर्दै व्यक्तिगत, सामुहिक वा संस्थागत रुपमा मानवअधिकारको सम्मान, संरक्षण र सम्बद्र्धनमा मानवअधिकार रक्षकले काम गर्नु पर्ने बताए ।

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलले मानवअधिकार रक्षकहरुको अवस्था र चुनौतिका बारेमा सहजीकरण गर्दै कानुनी शासनको अभाव, दण्डहीनता र संक्रमणकालीन अवस्था, साना हतियारको बढ्दो प्रयोग र राज्य र गैरराज्य पक्ष जिम्मेवार नहुँदा मानवअधिकार रक्षकको अवस्था चुनौतिपूर्ण भएको बताए । इन्सेकको तथ्याङ्क अनुसार सन् २०१२ मा मुलुकभर २ सय ६४ मानवअधिकार रक्षक पीडित भएको उल्लेख गर्दै मानवअधिकार रक्षकको हक र अधिकारलाई सम्मान र संरक्षण गर्न छुट्टै संयन्त्र निर्माण गर्नु पर्ने उनले जोड दिए ।

कमेन्टहरु
Loading...