पश्चिमाञ्चलमा ३ सय बढि मानअधिकार हनन्का घटना

पोखरा, ८ फागुन/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गरेको नेपाल मानवअधिकार वर्षपुस्तक २०१३ को सार्वजनिक गरेको छ । वर्षपुस्तकको एक समारोहका वीच प्रमुख अतिथि पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीश माधवप्रसाद चालिसेले सार्वजनिक गरे । कार्यक्रममा बोल्दै मुख्य न्यायाधीश चालिसेले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्षपुस्तक मानवअधिकारको लागि सामाजिक दर्पण भएको बताए । उनले पुस्तकले यथार्थ धरातलमा रहेर सत्मार्गको पहल गर्नु पर्नेमा जोड दिदै मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि सरोकारवाला निकाय सवैको दायित्व भएको बताए । उनले भने, जबसम्म राज्य कानुनी राज्यको रुपमा अगाडि बढ्न सक्दैन, तवसम्म जनताको मानवअधिकारको संरक्षण हुन सक्दैन । आगामी दिन मानव हित र कल्याणका लागि इन्सेक अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलले सन् २०१२ को मानवअधिकार स्थितिको बारेमा प्रकाश पार्दै पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लामा भएका ३ सय ४१ घटनामा ५ सय ५५ जना नागरिक मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित बन्न पुगेको बताए ।

यस वर्ष पश्चिमाञ्चल क्षेत्रमा १ सय १३ जना महिलाहरू महिलाअधिकार उल्लङ्घनबाट पीडितकामा ७० ओटा बलात्कारका घटनाभएकोमा ५० जना बालिका पीडित भएका छन् । उनले इन्सेकको अभिलेख अनुसार देशभरिमा यो वर्ष ३ हजार ५ सय २१ जना पीडित भएकामा राज्यबाट १२ जना र गैरराज्यपक्षबाट ३ सय ६५ जना गरी ४ सय ४२ जनाको हत्या भएको बताए ।सन् २०१२ को मानवअधिकार स्थितिको बारेमा प्रकाश पार्दै सवैभन्दा बढी महिला र बालबालिका पीडित भएको बताए । विगतका वर्षहरू जस्तै यस वर्ष पनि पश्चिमाञ्चल क्षेत्र मानवअधिकारका दृष्टिकोणले सन्तोषजनक रहेन ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक सुमनप्रसाद शर्माले मानवअधिकार वर्षपुस्तकले मानवअधिकारको बारेमा आम नागरिकलाई सुसूचित गराएको बताउदै राज्यको निकायबाट विभेद गरिएको भए आगामी दिनमा सुधार गर्दै लैजाने बताउनु भयो । उनले सामाजिक चेतनाको कमीले मानवखधिकार उल्लंघनका घटना बाहिर आउन नसकेको बताउनु भयो । राष्ट्रिय अनुसन्धानका पश्चिमाञ्चलका निर्देशक राजेन्द्र खत्रीले इन्सेकले दुई दशकदेखि मानवअधिकारको क्षेत्रमा निष्पक्ष र निर्भिक ढंगले आवाज उठाएको उल्लेख गर्नु भयो । राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशक यज्ञप्रसाद अधिकारीले मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा इन्सेकले महत्वपूर्ण भूमिका खेलेको भन्दै मुलुकमा बढ्दै गएको दण्डहीनताले कानुनी राज्यको अवस्था खस्किएको बताउनु भयो ।

कमेन्टहरु
Loading...